बैज्ञानिक, व्यवहारिक तथा प्राविधिक शिक्षा आजको आवश्यकता-उपाध्यक्ष आलेमगर

मगर विद्यार्थी संघ लम्जुङको अधिवेशनबाट सुनिल अध्यक्षमा निर्वाचित

नेपाल मगर विद्यार्थी संघ लम्जुङको तेस्रो अधिवेशन विविध कार्यक्रम गरी सम्पन्न भएको छ। उक्त अधिवेशनबाट सुनिल आलेमगर अध्यक्षमा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सुनिल बुढामगर, सचिव प्रिया माक्किममगर, सह–सचिव संगिता आलेमगर, कोषाध्यक्ष, इच्छा रानामगर पदाधिकारीमा चयन भएका छन् ।

त्यसैगरी कार्यसमितिमा सदस्यहरु पुजा रानामगर, सुजन रानामगर, रस्मिता रानामगर, विष्णु रानामगर, आयुष थापामगर, आशिष थापामगर, सुजन थापामगर, आयुषजंग रानामगर, विनु रानामगर र शंकर रानामगर सर्वसहमतिमा चयन भएका छन् भने रिक्त ६ सदस्य पद भने पछि सबै भेगलाई समेट्ने गरी पदपूर्ति गर्ने निर्णय गरेको छ ।

तेस्रो अधिवेशनका प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विष्णु आलेमगरले गरेका हुन् । उनले कार्यक्रम उद्घाटन गर्दै राज्यदेखि विभेदमा परेका मगर समुदायका बालबालिकाले आफ्ना भाषा, धर्म, संस्कृति तथा परम्परा बचाउनु पर्ने समय आएको बताए । लामो समयदेखि मगर विद्यार्थीले बैज्ञानिक, व्यवहारिक तथा प्राविधिक शिक्षाको मुद्धालाई उठान गर्दै मगर विद्यार्थीको हकहितकोलागि अहोरात्र खटिरहेको बताए । उनले भने– ‘मातृभाषा र लिपि संरक्षण र प्रबद्धन गर्ने जिम्मा अब तपाईहरुको हातमा छ, मातृभाषालाई बचाउन सबै मगर विद्यार्थीहरु सक्रिय भएर लाग्नु पर्छ ।’ मगर विद्यार्थीको केन्द्रीय महाधिवेशन नजिकै आईरहेको र केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु देशैभर अधिवेशन तथा अन्तरक्रिया तथा भेटघाट कार्यमा सक्रिय भएको बताउँदै अब हुने महाविधेशनमा जिल्ला प्रदेश तहका मगर विद्यार्थीहरु सहभागी हुन समेत उपाध्यक्ष आलेमगरले विद्यार्थीहरुलाई आह्वान गरे ।

त्यसैगरी विशिष्ट अतिथिद्वय नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होम बहादुर रानामगर र नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष दिलिप रानामगरले मगर विद्यार्थीहरुले आफ्ना शैक्षिक मुद्धालाई साकार पार्न सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिए । देश तथा समाज परिवर्तन गर्न विद्यार्थीको ठूलो भूमिका र जिम्मेवारी हुने भन्दै विद्यार्थीहरुले आफ्ना शैक्षिक मुद्धाका साथै भाषिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए साथै भाषिक, सांस्कृतिक र शैक्षिक विषयमा राज्यको लगानी हुनु पर्ने बताए ।

नेपाल मगर विद्यार्थी संघ लम्जुङको तेस्रो अधिवेशन सम्पन्न गर्नकोलागि निर्वाचन मण्डलमा संयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रिय भाषिक उपाध्यक्ष विष्णु आलेमगर सदस्यहरुमा नेपाल मगर विद्यार्थी संघ, गण्डकी प्रदेशका अध्यक्ष हहोम बहादुर रानामगर तथा नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य समिक्षा थापामगर रहेका थिए । उद्घाटन सत्र दिलिप रानामगरको अध्यक्षतामा भएको थियो । उक्त अधिवेशन कार्यक्रमको सञ्चालन प्रिया माक्किममगरले गरेका थिए भने स्वागत मन्तब्य समीक्षा थापामगर गरेका हुन् । तेस्रो अधिवेशनमा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको र विद्यार्थीहरुले आ आफ्ना भेषभुषामा अधिवेशनमा सहभागित भएका थिए । अधिवेशनको बन्दसत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएको थियो ।