अवैध लागूऔषध अफिम सहित दुई जना पक्राउ

जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्ताङ र मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने ४५ वर्षीय भिम बहादुर मोक्ताङ रहेका छन्। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३- ००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्तअफिम फेला पारी चालक सुर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी यता बारामा अवैध लागूऔषध गाँजा बरामद भएको छ ।  जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २७ किलो ९० ग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०४४ प ६७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा २ जना व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएपश्चात झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।