पाथीभरा आन्दोलन प्रभावसँगै ग्लोबल आइएमईले बढायो ब्याजदर

आजदेखि लागू हुने वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा ग्लोबल आइएमई बैंकले मात्रै ब्याजदर बढाएको छ ।

व्यक्तिगत मुद्दतीतर्फ माघ महिनामा अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको ग्लोबल आइएमईले फागुन महिनामा भने बढाएर ६ प्रतिशत दिने भएको हो।

पछिल्लो समय पाथीभरामा केबलकार बनाउने विषयसँग आएको विवादमा ग्लोबल आइएमई बैंकलाई समेत जोडेर आन्दोलनकारीले विरोध गरिरहेका छन् ।

आन्दोलनकारीहरूले ग्लोबल आइएमई बैंकसँगको आर्थिक कारोबार समेत नगर्न भन्दै अभियान सञ्चालन गरेका कारण सो बैंकले फागुन महिनाका लागि ब्याजदर बढाएको हुनसक्ने अनुमान छ ।

अरु सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये माघ महिनाको तुलनामा लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको सो बैंकले फागुन महिनामा भने ५.५ प्रतिशत मात्रै दिने भएको छ ।

सञ्चालनमा रहेका अन्य १८ वटा वाणिज्य बैंकहरूले भने व्यक्तिगत मुद्दतीतर्फ माघ महिनाका लागि तय गरेको ब्याजदरलाई नै कायम गर्ने जनाएका छन् ।