प्रणय दिवस वा प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंहरुको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ ।
संसारभर लोकप्रिय भएको भ्यालेन्टाइन डे को इतिहास भने रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । यो तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनु । ’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरे । भ्यालेन्टाइनले उक्त महिलालाई प्रेमको बारेमा दिएको लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । तर, विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। प्रत्यक वर्ष यो दिन नेपालमा मात्र ५,००,००० गुलाफ को बिक्री हुने गर्छ। पछिल्लो समयमा नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्तव सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ ।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ ।
यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ झूटो प्रेम गर्नेहरूको कमी छैन । अत: फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।


















