नेपाली विद्यार्थीलाई कलेज प्रवेश गराउन दिल्ली दूतावासबाट दुई अधिकारी जाँदै

भारतको ओडिसामा समस्यामा परेका नेपाली विद्यार्थीहरुको सहायताका लागि दिल्लीस्थित नेपाली राजदूतावासबाट दुईजना अधिकारीहरू ओडिसा गएका छन् ।विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन काउन्सिलर (एसएसपी)सञ्जिव शर्मा दास र नवीन अधिकारी ओडिसारू गएका हुन् । उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा पुग्ने र विद्यार्थीहरूसँग छलफल गर्ने बताइएको छ ।

कलेजले सोमबार नै विद्यार्थीहरूसँग माफी मागेर उनीहरूलाई होस्टेल फर्काउन पहल गरिरहेको छ, विद्यार्थीहरूलाई छोडेकै ठाउँमा कलेजको गाडी लिन पुगेको खबर गरेको छ । आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन् । उनी केआइआइटीमा बि–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

उनको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए।उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन्।

उनीमाथि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिदाँ पनि कलेज प्रशासनले चासो नदिएको नेपाली विद्यार्थीको गुनासो छ । त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासन उनीहरूमाथि थप निर्मम बनेको थियो।

विद्यार्थीहरूलाई हातपात गर्दै होस्टेलबाट निकालिएको भिडिओ सोमबार नै सार्वजनिक भइसकेको छ। उक्त विश्वविद्यालयमा करिब ११ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । ती सबै विद्यार्थीलाई विश्वविद्यालयले सोमबार बिहान निकालिएको सूचना दिएको थियो। त्यसपछि उनीहरूलाई कलेज निकाला गरिएको थियो।