शिव तत्व र शिवरात्रि

यसपालिको महा शिवरात्रि यही फागुन १४ गते परेको र केही समय यतादेखि नै पशुपतिनाथ मन्दिर परिसर सिँगारिन थालेको छ । शिव तत्व र शिव चिन्तन यो आलेखको आशय छ ।

संसारकै शिरभाग पशुपतिनाथको पन्चमुखी ज्योतिर्लिँगको दर्शन गर्न काठमाडौँमा स्वदेशी, विदेशीहरुको समेत भीड लाग्ने गर्छ । हिन्दु धर्मावलम्बीहरुका लागि शिवरात्रि पर्व सबैभन्दा उत्कुष्ठ पर्व हो । शिवजी भन्नुहुन्छ : यस दिनमा जसले पार्वती सहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिंगमा पूजा गर्छ, विशेष यजन पूजन गर्छ त्यो मेरो लागि मेरो पुत्र गणेश, कुमार भन्दा पनि प्यारो हुन्छ । यो शुभ दिन पूजा गर्न नसक्नेले मेरो दर्शन गर्नाले मात्रै पनि पुण्य प्राप्ति गर्न सक्छ । दर्शनका साथमा पूजा पनि गर्नेलाई अक्षय्य फल प्राप्ति हुन्छ ।

संसारमा ५ मुख्य तत्व छन् । सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह ! यी ५ तत्व नै व्रहण्ड सम्वन्धी कार्य हुन् । संसारको रचनालाई आरम भनौं या सर्ग या सृष्टि भनिन्छ । सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, संरक्षण गर्ने कार्य शिवको पालन स्वरुप कार्य हो । सृष्टिपछि विनास पनि हुन्छ जसलाई संहार भनिन्छ । जीव प्राण संचालन तिरोभाव हो, यी सवैवाट छुटकारा मिल्नु भनेको अनुग्रह हो । यसलाई मोक्ष भनिन्छ, भक्तहरु यसलाई पंच महाभूत भन्दछन् । सृष्टि पृथ्वीमा हुन्छ, स्थिति जलमा हुन्छ, संहार अग्निमा हुन्छ । तिरोभाव वायुमा हुन्छ । अनुग्रह आकाशमा हुन्छ । पृथ्वी तत्ववाट सृष्टि संभव हुन्छ । स्थिति या जीवन रक्षा जलद्वारा हुन्छ । अग्निले सवैलाई संहार गरिदिन्छ । वायुले प्राण संचालन गराइरहेको हुन्छ । यी ४ तत्वलाई शव्द व्रह्म आकाश रुपले अनुगृहीत गराइ रहेको हुन्छ । यी ५ मुख्य कार्य संचालनका लागि शिवजीका ५ मुख भएका हुन् । ४ दिशामा ४ मुख स्थित छन्, पाँचौ मुख यी सवैका वीचमा छन् । पंचमुखी शिवजीको प्रार्थना गरेर व्रह्मा र विष्णुले सृष्टि र पालनको अभिभारा लिएका हुन् । रुद्र र महेश्वर शिवको २ विभूति स्वरुप हो । पन्चमुखी शिवको स्वरुप काठमाडौँमा मात्र छ । त्यसैले विश्वका सबै हिन्दु धर्मालम्वीहरु यहाँ आउने गर्छन् ।

उपरोक्त ५ कार्यको श्रोत ॐ कार हो । सवै भन्दा पहिले ॐ कार शिवजीको मुखारविन्दवाट निस्केको हो । ॐ कार वाचक हो, शिवजी वाच्य हुनुहुन्छ । ॐ कार शिव स्वरुप हो । सदा दिन ॐ कारको स्मरण गर्नाले मानिसहरु शिवरुप हुन्छन् । कल्याणमयी हुन्छन् । कल्याणकारी कार्य गर्न अग्रसर हुन्छन् । उदार भावले सेवा भावमा संलग्न हुन्छन् । क्रोध, रिस, राग, वैमनस्यता स्वत: हटेर जान्छ । शिवजीको उत्तर मुखले अ कार, पश्चिम मुखले उ कार, दक्षिण मुखले म कार, पूर्व मुखले ॐ को विन्दु र वीचको मुखले नादको संकेत दिन्छन् जसलाई स्वर भनिन्छ । शिवको स्वरुप ॐ कार हो, अ,उ,म र विन्दु तथा नाद स्वरबाट यो संसार संचालित छ । ॐ लाई एकाक्षर प्रणव मन्त्र भनिन्छ । सवैको श्रोत हो यो ! संसारमा वेददेखि सारा व्रह्माण्ड र व्रह्माण्ड भित्रका सवै सर्ग विसर्ग यसैमा स्थित छन् । मानव स्वरुप, स्त्री, पुरुष सवै यसैवाट नि:सृत भएका हुन् । यो मन्त्रले शिव र शक्ति दुवैको संकेत गर्छ । जीव र जगत्, ईश्वर र नश्वर सवै यसैमा स्थित छ । यसैवाट पंचाक्षर मंत्रको शुरुवात भएको हो । पंचाक्षरवाट ५ मूल स्वर र ५/५ वर्णको व्यंजन तयार भएको हो । अ, इ, उ, ऋ, लृ पाँच मूल स्वर र क,च,ट,त,प आदि वर्ण यसैवाट निस्केका हुन् ।

ॐ कार देखि म कार सम्मका क्रमले ॐ नम: शिवाय पंचाक्षरी मन्त्र सिर्जना भएको हो । यसैवाट गायत्री मन्त्रको शुरुवात भएको हो । गायत्री मंत्रवाट सम्पूर्ण वेदहरु प्रकट भए, ती वेदहरुवाट करोडौं मन्त्रहरु निस्के । भिन्न, भिन्न मंत्रहरु भिन्न भिन्न कार्यको लागि प्रेरित भए । मंत्रहरु कार्य सिद्धिका लागि प्रयोग हुन्छन् । मनोरथको पूर्ति मन्त्रहरुवाट हुन्छ । हरेक जीवका आफ्ना आफ्ना मनोरथहरु हुन्छन् । मानिसका मूल २ मनोरथ हुन्छन् । पैलो हो भुक्ति अर्को हो मुक्ति ! इहलौकिक सुख आनन्द, वाँचुन्जेलको संपूर्णतालाई भुक्ति भनिन्छ भने मृत्युपछि भव वन्धनवाट छुटने कार्य मुक्ति हो । जसलाई मोक्ष भनिन्छ मोहको क्षय हुनु भनेकोे मोक्ष हो । आसक्तिको अन्त्य भएपछि भव वन्धन छुट्छ, अलि कति पनि राग र आसक्ति, तृष्णा, मोह रहुञ्जेल मुक्ति प्राप्त हुँदैन । प्रणव मन्त्रले भोग तृप्ति दिन्छ अनि मुक्ति पनि दिन्छ । सकाम भावले पहिलो उद्देश्य प्राप्ति हुन्छ भने निस्काम भावले दोश्रो उद्देश्य प्राप्ति हुन्छ । शिव सवैका आत्मा हुन् । शिव व्रह्म हो, जसको शक्ति अनन्त छ । शिवजी सद्गुरु हुन् उनलाई शंभु भनिन्छ । शंभु स्वयंभू हुन् । त्यसैले भक्तहरु शिवको प्रार्थना गर्दछन् । यसै क्रममा ७ वारको उदय भएको हो

सृष्टिको आरंभमा सर्वज्ञ, दयालु शिवजीले सवैलोकको उपकारका लागि विभिन्न वारहरुको कल्पना गर्नुभयो । भगवान शिव एक चिकित्सक हुनुहुन्छ । औषधि विज्ञानको प्रणेता शिवले सवैलाई आरोग्य दिनुहुन्छ । आरोग्य दिने सन्दर्भमा आफूले माया शक्तिका विभिन्न वार हरु उहाँले निर्माण गर्नुभयो । वार विशेषको भगवत् उपासनाले संपत्ति प्राप्त हुन्छ । शुरुमा जन्म समय वाल्य अवस्थाको रक्षाको लागि कुमार वारको परिकल्पना भयो । त्यसपछि भगवानले मानिसमा हुने आलस्य र पाप निवृत्तिका लागि र समस्त लोकको अनुग्रह गर्न लोक रक्षक भगवान विष्णुका वारहरु वनाउनु भयो । तत्पश्चात् भगवान् शिवले मानिसहरुको सृष्टि र रक्षाको लागि आयुकर्ता व्रह्माको वार वनाउनु भयो । सवैको आयु र सिद्धि प्राप्ति हुने उद्देश्यले यसरी वारहरुको परिकल्पना भयो । त्यसपछि पाप र पुण्य ३ नै लोकको रचनाका साथमा शुभ अशुभ फल दिन शिवले इन्द्र र यमको वार कल्पना गर्नुभयो । यी वारहरु संसारमा भोग दिने र संपूर्ण प्राणीहरुको मृत्यु भय दुर गर्नलाई तयार भयो । सुख, दु:खको सूचक पाप र पुण्यको उपलब्धि जनाउने ७ वटा वारको निश्चित भयो । जसका अलग अलग नाम, तिनका स्वामी अलग अलग छन् । शिवजीवाट परिकल्पना भएका यी वारहरुका दिनका स्वामी सूर्य हुन् । शक्ति सम्वन्धी वारका मालिक सोम हुन् । कुमारका अधिपति मंगल हुन् । विष्णु वारका अधिपति बुध हुन् । व्रह्माजीको वारका अधिपति वृहस्पति हुन् । इन्द्र वारको स्वामी शुक्र, यमवारका स्वामी शनिश्चर हुन् । आ–आफ्ना वारको उपासना अनुसार फलहरु अलग अलग हुन् सक्छन् ।

सूर्य वारको उपासनाले शरीरमा आरोग्य मिल्छ । चन्द्र सोमवारको उपासनाले भोग, ऐश्वर्य प्राप्ति हुन्छ । व्याधि रोग निवृत्तिकोलागि मंगलवारको उपासना गरिनुपर्ने हुन्छ । शरीरमा पुष्टि चाहनेले वुधवारको उपासना, आयु वृद्धि चाहनेले वृहस्पति वारको उपासना, भोग, ऐश्वर्य, मनोरंजन चाहनेले शुक्रवारको उपासना, मृत्यु सुधारण गर्न चाहनेले शनिवारको उपासना गर्नु पर्ने हुन्छ । सवै वारको उपासनाका फल दाता भने सदा शिवजी नै हुनुहुन्छ । रविवार सूर्यका उपासना पापको शान्ति कारक, सोमवारको चन्द्र उपासनाले लक्ष्मी प्राप्ति, मंगलवारको उपासनाले शरीर निरोगी हुने, वुधवारको विष्णु पूजाले पुत्र, परिवार र मित्र वृद्धि हुने, दीर्घायुको लागि वृहस्पतिवार, भोग प्राप्ति र सुखको लागि शुक्रवार, शनिश्चरको उपासनाले घटना दूर्घटना, अल्प मृत्यु निवारण र निरोगिता प्राप्ति हुनेछ । सूर्य आदि ग्रहको उपासना हरेक मंगल कार्यमा आवश्यक छ । अशुभ कार्यको पछाडिपनि नवग्रहको उपासना जरुरी छ । गृहस्थ व्यक्तिहरुकोलागि ग्रहको उपासना जरुरी छ । पूजाका अनुष्ठानका विविध पक्रिया र विधिहरु छन् । यो यसको लागि भन्ने यकीन गरी रहनु पर्दैन । निर्धन व्यक्तिहरुले तपवाट उपासना गर्न सक्छन्, व्रत आदि हुन सक्छ, धनवान् व्यक्तिले वृक्षरोपण, पाटी, पाठशाला, नहर, ढल, मन्दिर, शौचालय, सडक जस्ता सार्वजनिक निर्माण कार्य गरेर धर्म लिन सक्छन् । दिनदिनै समयानुसार भगवत् प्रार्थनाले, अनुष्ठानले अन्त:करण शुद्धि हुँदै जान्छ । तन, धन र मन शुद्धि हुँदै जान्छ ।