पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

गृहमन्त्री रमेश लेखकले ताबेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षहरूलाई वार्ताका लागि बोलाएका छन्।

सुरक्षा निकायहरूले यस क्षेत्रमा शान्ति र सुरक्षा प्रदान गरिरहेको जनाउदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेकोे हो ।सरकार शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न प्रतिबद्ध रहेको पनि उनले बताए। सम्बन्धित पक्षसँग वार्ता गर्न गृहमन्त्रालयका संयुक्त सचिवको समन्वयमा वार्ता टोली गठन गरिएको छ। वार्तामा केही अवरोधका कारण वार्ता समितिले फाल्गुन २० गते आन्दोलनकारी पक्षहरूलाई पुन: बोलाएको छ ।

“केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो”, उनले भने । सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उनको भनाइ छ ।