अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल, अप्रिल २ देखि लागू हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरियालगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेको छ । जुन देशले आफूमाथि जति कर लगायो आफूले पनि सो देशमाथि उत्ति नै कर लगाउने ट्रम्पले भनेका छन् । ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने बताएका छन् । यी करहरू अमेरिकालाई फेरि धनी र महान् बनाउनको लागि भएकोमा उनले जोड दिएका थिए ।

‘अन्य देशहरूले दशकौँदेखि हामी विरुद्ध भन्सार प्रयोग गर्दै आएका छन् । अब ती अन्य देशहरूविरुद्ध उनीहरूले अपनाएको हतियार प्रयोग गर्ने पालो हाम्रो हो । औसतमा ईयू, चीन, ब्राजिल, भारत र अनगिन्ती अन्य देशहरूले हामीसँग निकै धेरै उच्च शुल्क असुलिरहेका छन् । उनीहरूको तुलनामा हामीले कम शुल्क लिन्थ्यौँ ।

यो धेरै अन्यायपूर्ण छ । भारतले हामीसँग १०० प्रतिशत अटो ट्यारिफ लिन्छ, चीनले हामीसँग दोब्बर ट्यारिफ लिन्छ, दक्षिण कोरियाले चौब्बर ट्यारिफ लिन्छ । यो प्रणाली अमेरिकाको लागि निष्पक्ष छैन, यो कहिल्यै थिएन ।’ अमेरिकी राष्ट्रपतिले भनेका छन् ।

ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने घोषणा गरेका छन् । यसमा जुन देशले अमेरिकी सामानमा जति कर लगाएको छ, त्यो देशमाथि पनि त्यति नै कर लगाइने उनले बताए । कसैले आफूहरूलाई उनीहरूको बजारबाट बाहिर राख्न गैर–मौद्रिक शुल्क लगाउँछ भने आफूहरूले पनि ती देशलाई अमेरिकी बजारबाट बाहिर राख्न गैर–मौद्रिक अवरोधहरू लगाउने उनले बताए ।