७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान

अलावी धार्किक अल्पसंख्यक समुदायका सयौँ नागरिक मारिएपछि सिरियाली नेता अहमद अल-शराले बल्ल शान्तिको आह्वान गरेका छन् । कयौं दिनको झपडपछि उनले शान्तिको आह्वान गरेका हुन् ।

बेलायतस्थित सिरियन अब्जरभटरी फर ह्यूमन राइट्सले शुक्रबार र शनिबार पश्चिमी तटमा अलावी नागरिकलाई निशाना बनाएर गरिएका ३० ‘नरसंहार’मा लगभग ७४५ जना मारिएका छन् ।

बढ्दो हिंसामा परी मर्नेहरुको संख्या स्वतन्त्र रुपमा अझै पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । जसलाई असद शासन पतनपछि सबैभन्दा खराब मानिएको छ । राष्ट्रपति शराले भने, ‘यथासम्भव राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्न जरुरी छ । तब हामी यस देशमा एकसाथ रहन सक्छौं ।’

सिरियन अब्जरभेटरीका अनुसार पछिल्लो चार दिनमा मारिने लडाकुको संख्या एक हजारभन्दा माथि छ । यसमा नयाँ इस्लामवादी नेतृत्वको सरकारसँग जोडिएका १२५ लडाकु र १४८ जना असद समर्थक लडाकु रहेका छन् ।

राष्ट्रपति शराले हिंसाको जाँच सुरु भएको र यसमा जिम्मेवार व्यक्तिको पहिचान गरेर दोषीलाई कारागार पठाइने बताएका छन् । यद्यपि, उनले तटीय प्रान्त लताकिया र टारटसमा आफ्ना समर्थकले गरेका अत्याचार तथा आरोपबारे कुनै टिप्पणी गरेका छैनन् ।