राप्रपालाई काठमाडौँ महानगरले लगायो जरिवाना,पार्टीको झण्डा नभएको भन्दै तिर्न मानेन् राप्रपा

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।

राप्रपा पार्टीका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पार्टीलाई १ लाख जरिबाना गर्ने निर्णय गरेपनि त्यो नतिर्ने बताए । उनले आइतबार पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी सिंगो सहभागी भएको तर त्यहाँ राप्रपाको झण्डा नभएको बताए ।

‘जरिवाना पूर्वाग्रही हो । राप्रपालाई लक्षित गरेर पत्र काटिनु भनेको यो राजसंस्था र राप्रपाप्रतिको बालेनको वक्रदृष्टि हो’, उनले भने, ‘यो पूर्वाग्रही सोच हो । राप्रपाले जरिबाना तिर्दैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा आइतबार राप्रपासहितका राजावादीहरू स्वागतका लागि विमानस्थल क्षेत्रमा पुगेका थिए । पूर्वराजालाई स्वागत गर्ने क्रममा एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रमा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई १ लाख जरिबाना गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु। १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

पोखराबाट आइतबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको राप्रपासहितले स्वागत गरेका थिए ।