रहर बहादुर खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय सदस्य हुनुहुन्छ । पार्टीभित्र विचारमा स्पष्ट तथा काममा ईमान्दार अनि सबै नेता कार्यकर्तासँग मित्रवद व्यवहार गर्ने एक सालिन नेताको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । कुनै लाभको पद नलिएर निरन्तर पार्टी संगठनमा सक्रिय खड्काले राप्रपाले अगाडि सारको मार्गचित्र मुलुकले अनुशरण नगरेसम्म उन्नती प्रगति नगर्ने बताउनुहुन्छ । साथै, विस्तारै राजसंस्था पुर्नस्थापनाको माहोल बनेको बताउनु हुने खड्कासंग सान न्युजले गरेको कुराकानीको सम्पादित अंश :
यहाँहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले यति बेला देशव्यापी विरोधका कार्यक्रम गरिरहेको छ , विरोध कार्यक्रम कसरी अगाडी बढिरहेका छन् ?
हो, हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले यति बेला देशव्यापी रुपमा विरोधका कार्यक्रम गरिरहेको छ । हामीले विगत देखिनै उठाउँदै आएका मुद्धाहरु सर्वधर्म समभावसहितको हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र संघीयताको खारेजी लगायत हुन । अहिले यीनै मुद्दा उठाएर देशव्यापी विरोधकाा कार्यक्रम गरिरहेका छौं । विरोध कार्यक्रम अत्यन्त शानदार र भव्य रुपमा सम्पन्न भईरहेका छन । सोही क्रममा हामीले कोशी प्रदेशको ईटहरी,गण्डकीको पोखरा,लुम्वीनीको बुटवल, कर्णालीको सुर्खेतमा ,सुदुरपश्चिमको कैलालीमा विरोध सभा गरि सकेका छौ । विरोध कार्यक्रममा आमजनताको साथ र सहभागिता रहेको छ । हाम्रो भनाई अवस्था बदल्न व्यवस्था बदलौ भन्ने हो यो नारामा जनताको उल्लेख्य साथ र सहयोग पाएका छौ । म साथ दिनुहुने र सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।
यहाँले हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र, संघीयताको खारेजीको मुद्दा उठाउदै राप्रपाले देश व्यापी विरोधका कार्यक्रम गरिरहेका बताउनुभयो, फागुन २५ गते पुर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कदा एयरपोर्टमा भेला भई स्वागत पनि गर्नुभयो के तपाईंहरुले यति गर्दैमा राजसस्था पुनस्थापना हुन्छ त ?
राजसंस्था राप्रपाले मात्र पुर्नस्थापना गर्ने होईन आमनेपाली जनताले राजसंस्था पुर्नस्थापना गर्ने हो । यदि जनताले चाहेमा राजसंस्था पुर्नस्थापना हुन्छ । अहिले राजाको पक्षमा जनताको जुन जनलहर छ यसले पनि जनता राजा ल्याउन हतार छन भन्ने देखिन्छ । फागुन २५ गते पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कदा काठमाडौंमा भव्य स्वागत भयो यो पनि राप्रपाले मात्र गरेको होईन । सम्पुर्ण राजा चाहने शक्ति र जनताले गरेका हुन । विश्वमानचित्रमा नेपाल र नेपालीको शिर उच्च बनाउन नेपालको इतिहास र संस्कृति बचाउन र नेपालमा नेपालकै माटो सुहाउँदो प्रणाली स्थापना गर्न राजसंस्थासहितको व्यवस्था चाहिन्छ भन्नेमा आमजनता छन । त्यसैले नेपाली जनताले राजसंस्था पुर्नस्थापना गर्छन ।
दश विस हजार मान्छे सडकमा उत्रदैमा सजिलै राजसंस्था पुर्नस्थापना होला र ? राजावादीहरूका अगाडि थोरै बाटो छन एउटा चुनाव जितेर दुईतिहाइ बहुमत ल्याई संविधान संशोधन गरेर, दास्रो विद्रोहबाट सत्ता कब्जा गरेर तेस्रो वैदेशिक शक्तिहरूको आडमा यी मध्ये कुन बाटोबाट राजसंस्था पुर्नस्थापना गर्नुहुन्छ ?
यहँँले महत्वपुर्ण प्रश्न गर्नुभयो, हामीले विदेशी शक्तिको आडमा राजसंस्था पुर्नस्थापना गर्ने होईन । हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र, संघीयताको खारेजीको मुद्दा उठाउदै देश व्यापी जनता उठेका छन्, त्यसैले जनताले नै आन्दोलन गरेर राजा ल्याउछन । हाम्रो पार्टीको भनाई त नविनतम सहमती गरौ भन्ने हो । पछिल्ला कार्यक्रममा नागरिक समाज र आमजनताको जुन सहभागिता रह्यो यसले हामीलाई अत्यन्त उत्साहित बनाएको छ । अहिले देशमा जे जस्ता क्रियाकलाप भइरहेका छन्, त्यसमा नेपाली जनता सन्तुष्ठ छैनन भन्ने कुरा फागुन २५ गते एयरपोर्ट देखि निर्मल निवाससम्मको उपस्थितिले पनि पुष्टि गरेको छ । हामी सहभागी आम जनता, नेता, कार्यक्रमप्रति कृतज्ञ छौं । हामी संवैधानी राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको व्यवस्था बनाउन चाहन्छौ ।
अहिले जस्तो कुनै एउटा निर्वाचन क्षेत्रबाट केही हजार भोट ल्याएर जित्ने व्यक्ति प्रधानमन्त्री बन्ने होईन । अहिलेको व्यवस्था रहेसम्म देशमा राजनीतिक स्थिरता पनि हँुदैन, सुशासन पनि हुदैन, पैसा खर्च गरेर चुनाब जित्ने त्यो पैसा उठाउन भष्टचार गर्नै ,सांसद किन बेच गर्ने, भष्ट्रचार गर्नकै निम्ती मन्त्री, प्रधानमन्त्री बन्ने, कमाएर फेरी चनाब लड्ने यही चक्र चलि रहन्छ । राजनीति सेवा होईन पेसा बन्यो । जनताको टाउकोमा टेकेर राज्य सत्तामा पुगेका नेताहरूको पनि परिवारवाद मात्रै छ ।
काहिँ आफ्नै सासु राजदुत, काहिँ आफ्नै ससुरा आयोग र आयोजना प्रमुख सालासाली राजदूत मन्त्री, छोराछोरी बुहारी मन्त्री, मेयर संसद भाई सभामुख / राष्ट्रिय सभा अध्यक्ष भतिजा भान्जाभान्जी नातागोता संवैधानिक निकायमा भर्तिकेन्द्र मात्रै बनाए । राज्य सत्तामा पुगेपछि ज्यानको बाजी राखेर आन्दोलन गर्ने, गोली खाने, अंगभंग हुने अपांग, सहिद परिवारहरुलाई कहिल्यै पनि काँहि कतैबाट खोजि भएको र राहत व्यवस्थापन र पुन:स्थापन गरेको देखिदैंन । जनताले न्याय पाउनुपर्ने अन्याय भोगिरहेका छन, सुशासन पाउनुपर्ने कुशासन भोगिरहेका छन। त्यसैले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने नारामा जनताको समर्थन छ । अब त यस्ता नेतालाई जनताले लखेट्ने दिन आँउछ ।
स्वागत कार्यक्रममा त उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथको तस्बिर पनि थियो नि ?
ठुलो भिडमा कसले कसरी लग्यो त्यो हामले बुझ्दैछौ । भारतको यसमा कुनै हात छैन । केही व्यक्तिले बोके रे भन्ने सुने । मैले त देखिन । सायद हिन्दुराष्ट्र चाहानेले बोके होला । रा प्र पाले बोक्यो भनेर पत्रकारले प्रचार गरिदिनुभएको छ । यसले पार्टीलाई केही फरक पर्दैन ।
यहाँले दल र दलका नेताले केही गरेनन अब जनताले लखेट्ने दिन आउँछ सुरक्षीत ठाँउ खोज्नु पर्दछ भने पनि नेपालमा शाहवंशीय राजाहरूको २४० वर्ष सासनकालमा कोतपर्व,भण्डारखाल पर्व, नारायणहीटी दरवार हत्याकाण्ड र पुर्वराजा ज्ञानेन्द्रले, उनका सुपुत्र पारस शाहको बारे नेपाली जनतालाई राम्रोसँग थाहा छ धेरै निहु खोज्दा बरु राजा नै लखेटीएर बस्ने ठाँउ खोज्नुपर्ने दिन आउनसक्छ नि ?
ईतिहासका घटना परिघटनाबारे तपाईं हामी सबैलाई थाहा छ तर विगतमा राम्रो संस्कार थियो । हिजोसम्म सहिलाई सहि ,गलतलाई गलत भन्ने चलन थियो ।अहिले त पार्टीको भए गलतलाई पनि सहि भन्ने पार्टीको नभए सहिलाई पनि गलत भन्ने संस्कार छ । त्यस्तै राजसंंस्थाले केही गरेन भन्ने पनि यस्तै आरोप हो ।
यो आरोपमा कुनै सत्यता छैन । किनकि यो मुलुकको लागि राजसंस्था अपरिहार्य छ । सर्वधर्म सम्भावसहितको हिन्दु अधिराज्य चाहिन्छ । हामीले राजसंस्था चाहिन्छ भनेर हाम्रो फाईदाको लागि भनेका होइनौ, यो मुलुकको आवश्यकता हो भनेर उठाएका हौं । यति बेला त हामी संसदको पनि प्रतिपक्ष । प्रतिपक्षको पनि प्रतिपक्ष । अझ भनौ व्यवस्था कै विकल्प खोज्ने एक मात्र पार्टी हौ । अहिले सत्ता र प्रतिपक्ष दल र नेतृत्वले देशलाई किास दिन सक्दैन । बिदेशबाट पैसा लिएर धर्म परिवर्तन गर्नेले मुलुलाई के राम्रो गर्दछन । कांग्रेस र एमालेबिच सत्ता गठवन्धन गरेर अगाडि बढ्ने बेला संविधान संसोधन गर्ने सहमती भएका गरेका थिए । हाम्रो भनाई नविनतम सहमती गरौं भन्ने हो जहाँ सबै शक्ति अर्थात राजालाई पनि ठाँउ दिनुपर्दछ । कांग्रेस र एमालेबिच सत्ता गठबन्धन गर्दा संविधान संशोधन गर्ने कुरामा सहमती गरे जसबाट पनि यो संविधानले काम गरेन भन्ने देखिन्छ हामीले उठाएको एजेन्डा सहि थियो भन्ने पुष्टि भएको छ । यो मार्ग चित्रमा नहिडेसम्म मुलुकको समृद्धि हुँदैन । जनताको भलाई पनि हुँदैन । मुलुकमा शान्ति, विकास, उन्नती, प्रगति केही हुँदैन ।
यहाँले संवैधानिक राजा भने पनि हिजोका दिनमा संवैधानिक राजा बन्दा आफै सत्ता हातमा लिएर शासन गर्न खोजे अब पनि त्यसतै हेला नि ?
त्यो त परिस्थिति हेर्नु पर्याे नि राजनीति दल र कर्मचारी प्रशासन भ्रष्ट्रचारमा डुब्यो, देशमा सुसाशन भएन देशमा उद्योग चलाउने उत्पादन र रोजगारी दिने काम भएन देश भ्रष्ट्रचारको अखडा मात्रै भयो दलहरू भ्रष्ट्रचारको दलदलमा भासिएर गए, काण्डै काण्डमा चुर्लुम्मै डुबे यस्तो अवस्थामा देशको अभिभावकले टुलुटुलु हेरेर बस्ने कुरा भएन त्यस्तो बेला केही समय लिएर चुनाब गराइ सहि बाटोमा हिडाए पछि पुन छाड्छु भनेको न हो । अब पनि सक्रिय बन्ने र नबन्ने भन्ने केही हद सम्म त दलका गतिविधिमा पनि भर पर्दछ ।
राजसंस्था पुर्नस्थापना भन्नुहुन्छ तर राप्रपा भित्रै आन्तरिक किचलो छ ?
पार्टीभित्र नेताहरुले आ–आफ्नो विचार भनाई राख्नु स्वभाविक हो । पार्टी भित्र यहाँले प्रश्न गर्नुभए जस्तो कुनै समस्या छैन ।
जनताको छोराछोरी सिधै राष्ट्रप्रमुख र सरकार प्रमुख हुन पाउने व्यवस्था छ अरुले गर्न नसके म आफैँले नेतृत्व गर्दछु न भनि किन राजा गुहार्ने ?
जनताको छोराछोरी राष्ट्र प्रमुख भएर के भयो र? हिजो नयाँ व्यवस्था आए पछि सम्पुर्ण समस्या हल हुन्छ भनि जनताका छोराछोरीलाई लडाए । तर व्यवस्था परिवर्तन भए पछि लडाइँमा मर्नेले के पाए यो व्यवस्थाले धनी झन धनी भए गरिब झन गरिब । देशभित्र नागरिकलाई गरि खाने रोजगारिको काहि कतै वातावरण छैन । बाँच्नका लागि बाध्यताले भएको रेखोपाखो जग्गामा जमिन बन्धक राखि ऋण धन गरी विदेशिन बाध्य छन्।
राजनीति दलहरूले पालैपालो गठबन्धन गरेर जनताले खाई नखाई ऋण धन गरेर तिरेको कर सरकारमा बसेर गिद्धले सिनो लुछे जसरी तछाडमछाड, लुछालुछ, खोसाखोस गरी कसले बढी खान सक्छन्, लुछ्न सक्छन् दुई चार पुस्तालाई पुराउने गरी खाईरहेका छन । कत्ति पनि देशको चिन्ता छैन, कति पनि जनताको चिन्ता छैन, देश जोगाउनु पर्छ र बनाउनुपर्छ भन्ने त छदैछैन । जहाँसम्म आफैँ किन नगर्नै भन्ने यहाँको प्रश्न छ । त्यो व्यवस्थमा जो गए पनि यस्तै हो । म नै भए पनि यस्तै हो । यो व्यस्थाले त लुट्न मात्र सिकाउछ । जनतनसंग जति सक्यो कर लिने जन्मदर्ता देखि मृत्युदर्तासम्म कर मात्र लिने हो । हाम्रो भनाई अवस्था बदल्न व्यवस्था बदलौ भन्ने हो ।


















