समाजशास्त्री डा.मिना पौडेलले ल्याइन् साहस

मानव बेचबिखनबाट फर्किएका महिलाको विषयमा अनुसन्धान गरेर समाजशास्त्री डा.मीना पौडेलले पाठकमाझ साहस नामक पुस्तक ल्याउनु भएको छ। बेचबिखनबाट फर्किएका विभिन्न १८ जिल्लाका २८ महिलाको जीवन भोगाइको अनुसन्धानबाट तयार पारिएको उक्त पुस्तक किताब पब्लिसरले बजारमा ल्याएको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.पौडेलले साहस एक पुस्तक मात्र नभई मावन बेचबिखनविरुद्धको आक्रोश र विद्रोह रहेको बताउनु भयो । पुस्तक तयार पार्ने क्रममा सम्पादक पारसप्रकाश नेपालले आफूलाई धेरै घचघचाउनुका साथै सहयोग गरेको उहाँले जिकिर गर्नु भयो ।

कार्यक्रममा डा.पौडेलको पुस्तकमाथि टिप्पढी गर्दै लैंगिक बिश्लेषक डा.बिन्दु पोखरेलले नेपालको महिला आन्दोलन अझै रणनैतिक रुपमा चल्न नसकेको र यसले गर्दा नेपाली समाजमा रहेको संरचनागत विभेद हटाउन नसकिएको विचार राख्नु भयो । बेचबिखनबाट फर्केका महिलालाई सामाजिक अन्तरघुलनमा पर्ने समस्याका विषयमा पनि पुस्तकमा उजागर गरिएको उहाँले बताउनु भयो ।

मानवशास्त्री डा. सुरेश ढकालले पुस्तकमा बेचबिखनबाट फर्केर आएका महिलाले समाजमा आएर विभिन्न तहमा भोग्नुपरेको बन्चितिकरण र अपहेलनालाई पुस्तकमा प्रष्ट्याइएको बताउदै पुनः यस पुस्तकको अर्को भाग पनि निकाल्न आग्रह गर्नु भयो । त्यसैगरी लेखक जेबी विश्वकर्माले नेपाली समाजमा शक्तिशालीले कमजोर वर्गमाथि गर्ने अन्याय र अत्याचारलाई साहसमा प्रतिबिम्बित गरिएको प्रतिक्रिया दिनु भयो । उनले पुस्तकमा समाजवादी महिलावादलाई पनि उजागर गरिदिएको भए अझै उत्तम हुने सुझाव दिनु भयो ।

नेपाली भाषामा प्रकाशन हुनु अगाडि पुस्तक अंग्रेजी, स्पेनी, जर्मनलगायतका ६ भाषामा प्रकाशित भइसकेका छन् । पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाईको खाँचो औंल्याएको छ । पुस्तकले बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक-कानुनी रुपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढंगले विश्लेषणसमेत गरिएको छ ।

डा.पौडेलले त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र संयुक्त अधिकाराज्यबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गर्नु भएको छ । आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरेको अनुभव उहाँसँग छ । सामाजिक सांस्कृतिक अर्घेल्याई, लैंगिक हिंसा, आर्थिक विभेद र राजनीतिक रुपले सीमान्तकृत पारिएका समुदायका पक्षमा साढे तीन दशकदेखि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान र नीतिगत पैरवी गर्दै आउनु भएको छ । उक्त कार्यक्रममा महिला अधिकारकर्मी दुर्गा घिमिरे र भगवती नेपाललाई सम्मान पनि गरिएको थियो । साथै कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।