महिलालाई प्रधानमन्त्री बनाएउने हो भने देशमा भ्रष्ट्रचार हुँदैन : राधा थापा, नेतृ नेपाल समाजवादी

 तपाईं निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ, एउटी महिला नेतृको हिसाबले भन्नु पर्दा नेपालमा महिलालाई राजनीतिमा सक्रिय रहन कति सहज छ ?
नेपालमा महिलालाई राजनीतिमा सक्रिय रहन सहज छैन । यसका पछाडी एउटा त नेपाली समाज पितृसतात्मक सोंच भएको समाज हो । यस्तो समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । जुन समाजमा छोरी मान्छे घर छाडेर बाहिर निस्किन संघर्ष नै गर्नु पर्दछ । छोरीलाई जन्मदै देखि विभेद गरिन्छ । एकातर्फ यस्तो पितृसतात्मक सोच अर्काेतर्फ कुनै काममा अगाडि बढ्न आर्थिक पनि चाहिन्छ, महिलाहरु जो आर्थिक रुपले आत्मनिर्भर हुनु हुन्न उहाँहरुलाई राजनीतिमा अगाडी बढ्न आर्थिक समस्या पनि हुन्छ । तेस्रो महिलाले घर परिवारको जिम्मा पनि पुरा गर्नुपर्ने हुन्छ । एउटी छोरी बिहे नहुदाँसम्म बुवा आमा हजुरबुवा, हजुरआमाको ईच्छा अनुरुप चल्ने विवाहापछि घर परिवार नानी बाबु हेर्न हुर्काउन पर्ने भएकोले सहज छैन, तर सहज नभए पनि नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको सहभागिता उल्लेखनीय छ । आन्दोलनमा सक्रिय रहन धेरै चुनौतिहरुसँग संघर्ष गर्दै अगाडी बढ्नु पर्ने हुन्छ ।

तपाई आफै राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
म विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहदै आएकी छु । मेरो मामा दशरथ के.सी पञ्चायतकाल मै नेकपा मसालबाट गाँउपञ्चायतको प्रधानपञ्च हुनुहुँन्थ्यो । त्यसैले मेरी आमामा पनि राजनीतिक चेतना भएकोले मलाई घरबाट निस्कन सहज भयो । विद्यार्थीकाल मै मामा र आमाको प्रोत्सनहन अनि ममा पनि सानै देखि सामाजिक काम गर्ने चाहना जसले गर्दा म राजनीतिमा लागे । हामीलाई विद्यार्थी कालमा विद्यालका सरहरु, दाजुहरु नवराज सुबेदी , कर्णध्वज के.सी ले प्रशिक्षण दिनुहुन्थ्यो । पञ्चातकालमा हामी बालकै भए पनि लुकेर प्रशिक्षणमा जाने गर्दथ्यौं । यसले आफ्नो राजनीतिक चेतना बढाउन सहयोग गर्याे । कलेज आए पछि पि.के कलेजमा स्ववियु सदस्यमा चुनाब समेत लडे त्यस पछि त राजनीति मै सक्रिय भए ।

भने पछि घर परिवारबाट साथ सहयोग रर्यो ?
एक दमै, विशेष गरी आमाले पढ्नु पर्दछ छोरा मान्छे जस्तै शाहसी र शिक्षित हुनुपर्दछ भन्नुहुन्थ्यो । बिवाहा पछि श्रीमानले पनि पढ्न प्रोत्साहन गर्नुभयो । सुरुमा सरकारी जागिर खानेकि भन्नु भयो मैले जागिर खान्न राजनीति गर्दछु भने पछि श्रीमानले यसमै लाग्न सहयोग गर्नुभयो अहिले म जहाँ छु त्यो श्रीमानकै योगदान हो ।

महिला राजनीतिमा सक्रियताको कुरा गर्दा अहिले कुनै पनि प्रमुख दलमा महिला पार्टी अध्ययक्ष छैनन् तपाईं महिला नेतृहरु कहिले पार्टी अध्यक्ष बन्ने ?
तपार्इंले प्रश्नमा सोधे जस्तै सबै प्रमुख दलका अध्यक्ष पुरुष हुनुहुन्छ । उहाँहरुले महिला अगाडि सार्नु भएको छैन । अब महिला पार्टी अध्यक्ष हुनुपर्दछ । यसको नम्ति एउटा त समाजमा भएको पितृसतात्मक सोंच बदल्नु पर्दछ । अर्काे प्रमुख दलका नेताहरुको सोंचाई बदल्नु पर्दछ । अहिले नागरिक उन्नमूक्ति पार्टीमा रञ्जिता श्रेष्ठ, विवेकशील साझा पार्टीमा समिक्षा बास्कोटा अध्यक्ष हुनुहुन्छ । अब ठूला दलमा पनि महिलाले दावी गर्नुपर्दछ । हाम्रो त पालो आउदैछ, सिनियर महिला नेतृले अध्यक्षमा दावी गर्नुपर्दछ ।

नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश, मुख्यसचिव महिला भई सक्नुभयो अब मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री महिला कहिले हुने ?
नेपालका कुनै पनि आन्दोलन महिलाहरुको सक्रिय सहभागिता बिना सफल भएका छैनन । हरेक आन्दोलनमा महिलाहरुको सक्रिय सहभागिता छ । अहिले सम्म मुलुकको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री महिला नभएको महिलामा क्षमता नभएर होईन । नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश,मुख्यसचिव महिला भई सक्नुभयो । उहाँहरुले राम्रो काम गरेर जानुभएको छ । महिलालाई कार्यकारी पदको जिम्मा दिए सुशासन कायम भई देशमा आर्थिम संमृदी समेत हुन्छ । यसका निम्ती महिलालाई कार्यकारी पदमा पुराउनै पर्ने संवैधानिक र कानुनी व्यवस्था हुनुपर्दछ । कानुन र संविधानमा निश्चित समयमा महिला प्रधानमन्त्री बनाउनै पर्ने बाध्यकारी व्यवस्था नभए सम्म महिलाले अवसर नपाउने अवस्था रहिरहन्छ । त्यसैले अब सबै पार्टीमा भएका महिला नेता कार्यकर्ताले यो बिषय उठाउनुपर्दछ, महिला प्रधानमन्त्री र पार्टी अध्यक्ष भए अहिले जस्तो आपसी झगडा भष्टाचार पनि हुदैन ।

तपाईहरुको पार्टी नेपाल समाजवादी पार्टीको अहिले कसरी अगाडी बढ्दै छ ?
हामीले गर्ने भनेको राजनीति अली फरक छ, हामी राजनीतिलाई पेसा होइन देश हाँक्ने नीति बनाउने ठाँउको रुपमा लिन्छौ । अहिले पेसा नगर्ने राजनीति गर्ने र राजीनतिबाट कमाउने भन्ने सोचाई छ । हामी त्यसको विरोधी हांै, हामी संवृद्धी, सुशासन, सदाचार सहितको राजनीति भन्छौ । यति बेला अग्रगामी ऐजेण्डा बोक्ने नेकपा माओवादी सहितका दलहरुबिच पार्टी एकता गरेर अगाडी जाने प्रकृयामा छौ । अर्को तर्फ पार्टी अध्यक्ष महेन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठको कुसल नेतृत्वमा वडा पालिका हुदै केन्द्र सम्म संगठनात्मक गति विधि पनि व्यवस्थित रुपमा अगाडी बढी रहेका छन् ।

नेकपा माओवादी सहितका दलहरुबिच पार्टी एकतागरेर जाने प्रकृयामा छौ भन्नुभयो प्रकृया कहाँ पुग्यो ?
पार्टी एकताको निम्ति मुलत दुई वटा पक्ष हेर्ने हो एउटा वैचारिक तथा नीतिगत पाटो अर्काे संगठनात्मक पाटो । यी सबै मिलिसके पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव हुनुहुन्थ्यो । उहाँहरुबिच सहमति भई नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवको उपस्थतीमा पार्टी एकता गर्ने सहमति भैसकेको छ । केही प्राविधिक पक्षले ढिला भएको हो । खास गरी माआवादी केन्द्रले नेसपा एकिकृत समाजवादी , विप्लवले नेतृत्व गरेको नेकपा सहित समाजवादी मोर्चमा भएका पार्टीबिच एकै पटक एकता गर्ने गृहकार्य गरेकोले हाम्रो एकतामा केही ढिला भयो । अर्काे नेकपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यवस्तताले पनि केही ढिलाई भएको हो ।

तपाईंहरुको पार्टी नेपाल समाजवादी पार्टी सहितको चार दलिय मोर्चाले यही चैत्र १५ गते विरोधका सभाको आयोजना गर्दै छ त्यसको तयारी कस्तो छ ?
हाम्रो पार्टी नेपाल समाजवादी पार्टी सहितको चार दलिय मोर्चाले यही चैत्र १५ गते विरोधका सभाको आयोजना गर्दैछ । विरोध सभाको तयारी भव्य रुपले भईरहेको छ । त्यसैले विरोधसभा अत्यन्त शानदार र भव्य रुपमा सम्पन्न हुन्छ । राजतन्त्र, स्थापना र संघीयताको खारेजी प्रतिगामी कुरा हुन । जसरी मरी सकेको चिज पुन व्युझदैन त्यसै गरी मरी सकेको राजतन्त्र व्युझने कुनै सम्भावना छैन। यो कुरा राजावादीले पनि बुझ्नु पर्दछ । प्रतिगमनको वकालत गर्नेको विरोधमा जनताको पनि उल्लेख्य साथ र सहयोग पाउनेमा हामी विस्वस्त छौ ।

के राजसंस्था पुन आउला त ?
मैले भने नि जसरी मरी सकेको चिज पुन व्युतदैन त्यसै गरी मरी सकेको राजतन्त्र व्युतने कुनै सम्भावना छैन ।केही हजार मान्छे सडकमा उत्रदैमा राजसंस्था पुर्नस्थापना हुदैन । पुर्वराजालाई राजनीति गर्न मन लागे हामीले जस्तै पार्टी खोलेर चुनाब जितेर आउन बाटो खुला छ । लोकतन्त्र मात्र त्यस्तो व्यवस्था हो जहाँ राज संस्था चाहिन्छ भन्नेले पनि यहि ऐजेण्डा बोकेर राजनीति गर्न पाउँछन । राजतन्त्रमा गणतन्त्र माग्ने छुट हुदैन तर गणतन्त्रमा राजतन्त्र चाहियो भनेर भन्न छुट हुन्छ । बोल्न मात्र पाईन्छ यसो नगरी अरु चलखेल गरे जनताले लखेट्ने दिन आँउन सक्छ ।
जनता पनि त सन्तुष्ट देखि दैनन नि ?
जनताको चाहना मुलुकमा शान्ति, विकास, उन्नती, प्रगति होस भन्ने हो । अहिलेका सरकार चलाउने दल र दलका नेताहरू भ्रष्ट्राचारको दलदलमा भासिए, सुशासन दिन सकेनन भन्ने जनताको असन्तुष्टि हो । संघिय गणतन्त्रात्मक व्यवस्था प्रति होईन । शासन चलाउनेमा देशको चिन्ता भएन, जनताको चिन्ता भएन भन्ने हो, देश जोगाउनु पर्छ र बनाउनुपर्छ भन्ने हो न कि अहिलेको व्यवस्था ठिक भएन भन्ने । जनताले भनाई अवस्था बदल्न पर्छ भन्ने हो व्यवस्था बदल्न पर्छ भन्ने होईन ।

अन्त्यमा ..?
अन्त्यमा म के भन्न चाहन्छु महिलालाई राजनीतिमा अगाडि बढाउन एउटा त समाजमा भएको पितृसतात्मक सोंच बदल्नुपर्दछ । अर्काे महिलालाई कार्यकारी पदमा पुराउनै पर्ने बाध्यात्मक संवैधानिक र कानुनी व्यवस्था हुनुपर्दछ । जसरी मरी सकेको चिज पुन: व्युझदैन त्यसै गरी मरी सकेको राजतन्त्र व्युझने कुनै सम्भावना छैन। यो कुरा राजावादी पनि बुझ्नु पर्दछ । पुर्वराजालाई राजनीति गर्न मन लागे हामीले जस्तै पार्टी खोलेर चुनाब जितेर आउन बाटो खुल्ला छ ।