काठमाडौंमा वायु प्रदूषण उच्च

पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ ।

काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि आज काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयागे गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।