सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहण दलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लागेकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एन्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।