नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैङ्कको १८ औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका भट्टले गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक सङ्केत पाएपछि शुक्रवार कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन् ।
डा.भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए । उनले गभर्नर नियुक्तिमा राजीनामा दिनु पर्ने भएकाले राजीनामा दिएको पनि बताए । डा. भट्टले भने,‘ गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिए । अन्य अब प्रक्रिया हेर्नुपर्छ ।’
राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्ने विषयमा कानुनी अन्यौलता देखिएको छ । कानुनी अन्यौलतासँगै भट्टले उच्च राजनीतिक नेतृत्वबाट गभर्नर बनाउने पक्का भएसँगै राजीनामा दिएका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले डा.भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चित जस्तै भएको छ ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गभर्नरको भागवण्डा टुङ्गिएको छ । गभर्नर काँग्रेसको भागमा पर्ने गरी भागबन्डा टुङ्गिएपछि भट्टले राजीनामा दिएका छन् ।
राजीनामा स्वीकृत हुन भने बाँकी छ ।


















