निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ

राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको हो । राप्रपाले स्थानीय प्रशासनसँग अनुमति मागेको जानकारी प्रहरीकहाँ आएको छैन ।

‘कर्डन एण्ड सर्च’ ड्युटीअन्तर्गत सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवासलगायतका संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

बबरमहलदेखि तीनकुनेसम्म प्रहरी तैनाथ छ । भद्रकाली र माइतीघरमा सुरक्षा कडा पारिएको छ । भद्रकाली-सिंहदरबार सडकमा प्रहरी तैनाथ छन्। नक्साल, भाटभटेनी मन्दिरस्थित ढुङ्गेधारा र गैरीधाराबाट खोर्सानीटारतिर प्रहरी खटिएएको छ ।

महाराजगञ्ज र नारायणगोपाल चोकमा प्रहरी तैनाथ छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीमा पनि प्रहरी छ । बालाजुतिरका सवारी साधन अस्कल क्याम्पसमा रोकेर ठमेलतिर डाइभर्ट गरिएको छ । प्रहरीले निषेधित क्षेत्रतिर कोही आए नियन्त्रणमा लिने लिने तयारी छ ।