प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले आइतबार गाजा पट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ ।
इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बीचमा कम्तीमा २० वटा निकासी आदेश जारी गरेको युएनआरडब्लुएले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । एजेन्सीका अनुसार हाल गाजामा स्थापित एक सय १५ आश्रय स्थलमा ९० हजारभन्दा बढी विस्थापित मानिस रहेका छन् ।
इजरायली गोलाबारी र सात हप्ता लामो सहायता नाकाबन्दीका कारण गाजामा पहिले नै गम्भीर मानवीय अवस्था बिग्रँदै गएको चेतावनी दिँदै मार्च१८ मा युद्धविराम भङ्ग भएपछि करिब चार लाख २० हजार मानिस पुन: विस्थापित भएको एजेन्सीले जनाएको छ ।
युएनआरडब्लुएले गाजामा चाँडै युद्धविराम, बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायता तथा व्यावसायिक आपूर्तिको निर्बाध प्रवाहको आवश्यकतामा जोड दिएको छ । इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको छ । त्यसपछि उसले हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरी गाजामा घातक हवाई र भूमि आक्रमण पुन: सुरु गरेको छ ।
युद्धविरामपछिको इजरायली आक्रमणमा एक हजार आठ सय २७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै चार हजार आठ सय २८ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।


















