यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी

अमेरिकाले यमनस्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । पछिल्लो आक्रमणमा हुथीहरूले ठुलो क्षति बेहोरेको देखिएको छ । अमेरिकाले आइतबार राति यमनको राजधानी सानामा अपरेसन रफ राइडर अन्तर्गत हवाई आक्रमण गरेको थियो ।

यस आक्रमण आठ जनाको मृत्यु भएको हुथी विद्रोहीहरूले बताएका छन् । यसैबिच, अमेरिकी सेनाले विगत एक महिनामा यमनमा हुथी विद्रोहीहरूको लुक्ने ठाउँहरूमा ८०० भन्दा बढी आक्रमण गरेको बताएको छ ।

यी आक्रमणमा हुथी लडाकुको मिसाइल र ड्रोन प्रोग्रामसँग सम्बन्धित अधिकारी समेत सयौँको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भनेको छ । तर अमेरिकाले कुनै पनि अधिकारीहरूको पहिचान खुलाएको छैन । आफूले हवाई आक्रमण जारी राखिराख्ने अमेरिकाको भनाइ छ । मार्च १५ देखि अमेरिकाले आक्रमण थालेको थियो ।