बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।
जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौँ महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
यसैगरी, ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-५ घर भएका ४१ वर्षीय दिनेश गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।


















