गोकर्णेश्वर नगरपालिका वार्ड नं ६ को आयोजनामा यसपालि नव वर्ष वैशाख २० गते हाम्रो यात्रा नुवाकोटको दुप्चेश्वर तय भएको थियो । यात्राका क्रममा भएका अध्ययनका विषयवस्तुहरु आम पाठकवृन्दमा पस्कने यो आलेखको अभिप्राय रहेको छ ।
जोरपाटीबाट वार्ड अध्यक्ष नवराज लामा, सदस्य वच्चुराम कुइँकेल तथा अन्य पालिका परिबार, मेडिकल टिम लगायत ज्येष्ठ नागरिक, एकल महिला करिव १३० जना बूढाबूढीहरु यात्रामा सम्मिलित भएका थिए भने ३ ठूला बसहरु तयार थिए । केही डिलोगरी यात्रा आरम्भ भई हामी टोखा, शिवपुरी हुँदै गुर्जेभन्ज्याँगबाट ओराली लाग्दै तादी नदी पार गरी हामी नुवाकोटको लिखु गाउँपालिका स्थित दुप्चेश्वरका लागि हान्निइरह्यौँ । उकाली, ओराली, भीर, पहिरो हुँदै नुवाकोटको विदुरबाट करिव ३० कि मि दूर भएको दुप्चेश्वर शिव सामु पुग्नु अघि हाम्रा सवारी साधनहरु लिखु नदी किनार वारि नै रोकिएका थिए ।
सुन्दर हरियाली र बहुमूल्य जडिबुटी एवं वनस्पति, बन, पर्यटकीय आकर्षणस्थल दाहिने ककारोमा रहेका शिवको दर्शनका लागि लालयित हामी नदी पार गर्दै दायाँ उक्लियौँ र शुरुमै भव्य भजनकीर्तन, संगितका स्वरहरुले हामीलाई आकर्षित गराइ हाल्यो ।
नजिकै रहेका धाराबाट जलार्चन गर्दै हामी उकालीमा रहेका स्वयंम्भु शिबको स्वरुपको दर्शनाभिलाषी भई लाइनबद्ध भयौँ, हाम्रै पनि ठूलो भीड रहेको र शनिबार परेकोले अन्य तीर्थालुहरुको बाक्लो भीड रहेछ । रस्साकस्सी गदैै अगाडि बढ्दा पनि माथि जान सकिएन र आप्mनो स्वास्थ्य कमजोर रहेकाले अन्य यात्रुबाटै दर्शनको फलाशी भई आधा उचाइबाट तल झरेँ म, माथि जाने साहस भएन । तल आएर समितिका स्टाफहरुलाई सम्पर्क गर्दा अशक्तहरुका लागि छुट्टै लाइन छ भनेपछि अर्को बाटो प्रयोग गर्दै माथि पुगेर दर्शन भयो ।
केही अध्ययन:
उत्तरतिर लाम्टाँग राष्टिृय निकुन्ज, दक्षिणतिर शिवपुरी गाउँ, पूर्वतिर सिँधुपाल्चोकको हेलम्बु, पश्चिम तादी, पन्चकन्या आदि क्षेत्रहरु पर्छन् । शिव उदयको सन्दर्भ हेर्दा करिव ४ सय वर्ष अघि स्थानीय एक तामाँगको दुहुनो गाई हराएछ । गाई खोज्ने क्रममा एक सन्यासीले गाई बारे जानकारी गराउँदा ठाडो उकालो, भीरमा ढुंगाको ककारोमा चढेर हेर्न भनेछन् र त्यहाँ हराइएकी गाईले दूध दिँदै शिवार्पण गर्दै गरेकी रहिछन् । चारै थुनबाट दूधको धारा खसिरहेको देखेर अलौकिक शक्ति शिवको दृश्य देखेर नाम पनि दुधेश्वर भनि राखिएछ र पछि दुप्चेश्वर हुन पुगेछ । अरु किम्बदन्तीहरु पनि भेटिए कि समुद्रमथनबाट हलाहल विष उत्पन्न भई श्रीशिवले पान गरी छट्पटिएर उत्तर गोसाइँकुण्ड जाँदा त्यही बाटो भई गएको भनाइ पनि रहेको पाइन्छ । दुप्चेश्वर पालिका वार्ड नं ३ मा पर्ने सो क्षेत्र ढुँगाको ककारो, भीरमा छ, सिँढी बनाइएर भक्तहरुलाई सहज त छ तर एकैपल्ट धेरै जना जान सकिने बस्था छैन ।
हिन्दु बैद्ध समिश्रण धर्मानुरागीको क्षेत्र त्यहाँ प्राकृतिक मनोरम छटाहरु सजिलै देख्न सकिन्छ । तामाग, शेर्पा बाहुल्य त्यो क्षेत्रबाट सूर्योदय आकर्षण छ भने पर्यइटकहरुका लागि गोसाइँकुण्ड यात्रा पनि यसले आकर्षण गराउँछ । गोल्फुटार भन्ज्याँग, मुर्थाला भन्ज्याँग, सागरकुण्ड, सूर्य कुण्ड, नाटाँगडाँडा, पेटारे ढुँगा, टासी, सामाजिक गुम्बा, भान्चे डाँडा, घाँसे मैदान, झाँक्रीनाच, तामाँगशेलो, शेर्पानाच यहाँका हेर्न लायक स्थान र विषयहरु हुन् । सत्ताइस प्रतिशत भूभाग वनक्षेत्र र १८ प्रतिशत घाँसे मैदान देखिने यो क्षेत्र वनस्पतिको उर्बर क्षेत्र हो । लोठसल्ला, गुराँस, रुदिलो, कुरिलो, हर्रो, बर्रो, अमला, बनलसुन, ऐँसेलु, काफल यहाँको अमूल्य निधि नै हो । पन्ध्र बढी प्रजातिका बहुमूल्य जडिबुटी र वीस बढी प्रजातिका वन्यजन्तु रहेको यहाँ स्याल, हाब्रे, घोरल, चितुवा, सेतो बाँदर, मुनाल डाँफे, काग, उल्लु ध्वाँसे चितुवा, बँदेल, दुम्सीहरु पाइन्छन् भन्ने जानकारी पाइयो । त्यस्तै २१ बढी प्रजातिका चराहरु, परेवा गौँथली, चिबे, कालिज, तित्रा, भँगेरा, गौथली, कोइली गिद्ध आदिको पनि बासस्थान रहेको बुझियो । परम्परागत कृषि प्रणाली रहेको यो क्षेत्रमा धार्मिक र पर्यटनका लागि आकर्षकस्थल हुन सक्ने र यसबाट रोजगारी सिर्जना, आय आर्जन प्रसस्तै हुने सम्भावना देखियो । प्रकृतिले भरिपूर्ण छ यो क्षेत्र । वन बुटेनबाट सफा पानी झरेको देख्न सकिन्छ ।
धान्यपूर्णिमा, शिवरात्री, सोमबार, शनिबार विशेष चाड पर्वहरुमा निकै भीड भक्तहरुको उपस्थिति देखिने सो स्थल नदीको तीरैमाथि रहेकाले पनि गर्मी समयमा त्यहाँ जाने भक्तको बढी भीड देखियो । हामी गएका दिनमा धेरै नै भीड रहेको थियो । दान, चन्दा भन्दै धेरै रकम उठेको पनि मायकबाट घन्किरहेको सुनिन्थ्यो । विगत केही वर्ष यतादेखि यो क्षेत्रले आम सन्चारमा व्यापकता पाएको छ र पंक्तिकारले पनि धार्मिक मठ मन्दिरको उजागर गर्ने क्रममा यहाँ पनि पुगेको हो र खासगरी जे वरदान माग्यो त्यो पूरा हुने, नयाँ जोडीको खोजी सहज हुने, पारिवारिक मित्रता बलियो हुने, सन्तान, धनको वर्षा हुने र स्वास्थ्य निरोगी रहने यहाँको दर्शनको विशेषता रहेको पाइयो । ग्रहगतिका प्रभाव तिनका खरावी दुष्परिणामबाट बच्न पनि भक्तहरु त्यहाँ जाने गरेको पाइयो ।
छोेटो अध्ययन पश्चात् पंक्तिकार भने अलिक तल पाल हाली समूहले खाना बनाइरहेको स्थानमा आएर भोक मेटाएको र समूह आबद्ध खाना निकै मिठो रहेको थियो । समूहमा फोटो सेसन पूरा गरी हाम्रो समूह पहिले गएको बाटोबाट फिर्ता हुँदै काठमाढौँ फर्केका थियौँ । सबैप्रति आभार, आयोजक परिबारलाई विशेष धन्यवाद र शुभाशिष अनि शुभकामना पनि ।

















