प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने

 

प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने भएका छन्। अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए।

आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका हुन्।

‘कांग्रेसले विश्व पौडेलको नाम दिएको छ, कांग्रेसले दिएकै नाममा सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत आजै सिफारिस समितिबाट नाम सिफारिस भएर मन्त्रिपरिषदबाट नियुक्ति होला।’

मंगलबार प्रधानमन्त्री ओली, सभापति देउवा, गभर्नर सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा गभर्नर नियुक्तिलगायत विषयमा कुराकानी भएको थियो।

यसपछि संयोजक पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् भने आजै साँझ मन्त्रिपरिषद बैठक पनि बस्दैछ।

अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका विश्व पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको ’स्कुल अफ म्यानेजमेन्ट’का प्रोफेसर थिए।

केयुको प्राध्यापक हुने बेलादेखि नै उनी कांग्रेसको क्रियाशील राजनीतिबाट अलग भएका थिए।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन्।