माधव नेपालको सांसद पद निलम्बन, अख्तियारले माग्यो १८ करोड ५८ लाख रुपैयाँको बिगो माग दाबी

भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । नेपालसहित तत्कालीन मुख्यसचिव माधव घिमिरे, सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।