नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताउनु भयो ।
रौतहट स्थित पार्टी कार्यालयमा बिहीबार प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुन सक्ने बताउनु भएको हो ।
‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उहाँले भन्नुभयो, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला । मेरो संलग्नता छैन ।’
नेपाली जनता स्वस्थ रहुन् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उहाँको भनाइ छ ।
‘कसैले कसरी के–के लुपहोल्सहरू राख्यो, त्यो लुपहोल्समा ध्यान पुग्यो पुगेन, यावत कुराहरूको बारेमा राम्ररी नबुझी म केही भन्न सक्दिनँ,’ उहाँले थप्नु भयो, ‘मैले त आफ्नो तर्फबाट कुनै बेठिक काम गरेको पनि छैन । मेरो त दिमागमा पनि रहेको पनि होइन ।’
उहाँले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताउनु भयो । ‘मैले बदमासी गरेको हुनुपर्यो नि डराउनलाई । मैले कुनै अनुचित काम गरेको छैन । र, मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उहाँले अगाडि भन्नु भयो ।
पूर्वप्रधानमन्त्री नेपालले काठमाडौं गएपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर थप धारणा सार्वजनिक गर्ने बताउनु भयो ।


















