जुन १३ देखि इरान र इजरायलले एक माथि भिषण आक्रमण गरीरहेका छन् । आक्रमणमा दुवै देशले मिसाइल र हवाई हमला समेत गरेका छन् । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म आक्रमणमा कम्तीमा पनि दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ७७ जना घाइते भएका छन् । मृतकमा इरानी सेनाका चिफ अफ स्टाफ मोहम्मद होस्सैन बाघेरी, रिभोलुसनरी गार्ड कोप्र्सका कमान्डर होस्सैन सलामी आईआरजीसी खुफिया प्रमुख मोहम्मद काजेमी र उपकमाण्डर घोलमाली रशिदका साथै परमाणु वैज्ञानिकहरू फेरेदुन अब्बासी र मोहम्मद तेह्रान्चीलगायत रहेका छन् ।
उता इजरायली अधिकारीहरूका अनुसार इरानको जवाफी कारबाहीमा मंगलबार सम्म १४ जनाको मृत्यु भएको छ भने तीन सय ९० जना घाइते भएका छन् । आक्रमण जारी रहेका कारण दूबै तर्पm मृतक र घाइतेको संख्या बढ्ने निशिचत छ । अवस्था हेर्दा युद्ध झनै चर्किने सम्भावना देखिन्छ । भन्न त एकथरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानमा जस्तै इरान–इजरायलबीच पनि छिट्टै युद्धविराम गराउन सफल हुन सक्छन भनिरहेका छन तर यो सोचे जस्तो सहज छैन ।
किनकि पहिलो त यो आक्रमणको देखाउने पक्ष र भित्रि पक्ष अलग छ । बाहिर भन्न ईजरायलले युद्ध रोक्न इरानले आणविक हतियार कार्यक्रम स्थगन गर्नुपर्ने भनेको छ । जवकि इरानले अन्तर्राष्ट्रिय दबाबको कारण आणविक हतियार कार्यक्रम चलाएको छु भन्दैन तर अस्वीकार पनि गर्दैन । इरानी भनाइमा उसको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीकै निगरानीमा छ ।
समस्याको भित्रि कारण ।
यसरी हेर्दा ईजरायलले भनेको कुरा देखाउने कुरा मात्र हो । अन्तराष्ट्रिय समुदायलाई ईजरायले बाहिर इरानी आणविक हतियार कार्यक्रमलाई युद्धको मुख्य कारण सिद्ध गर्न खोज्दै छ , तर भित्रिकारण इस्लामिक’ र ‘जियोनिष्ट’ बीच अस्तित्वको संघर्ष हो । ख्याल गर्नु पर्ने के छ भने इस्लामिक अरब जगतले इजरायलको अस्तित्वलाई स्वीकार गरेको छैन । दोस्रो विश्वयुद्धपछि पूर्वअटोमान साम्राज्यको भूभागबाट निश्चित हिस्सा लिई यहुदी राज्य इजरायल स्थापना गर्ने संयुक्त राष्ट्र संघको निर्णयलाई इस्लामिक अरब जगतले पश्चिमाहरूले आफ्नो क्षेत्रमा जबरजस्त थोपरेको एक समस्याका रूपमा बताउदै आएका छन । उनीहरु ईजरायलको अस्तीत्व मेट्न चाहन्छन संसारको एक मात्र यहुदी राज्य जुन सानो क्षेत्रफलमा थोरै जनसंख्यामा छ तर, विज्ञान, प्रविधि, आर्थिक , सैन्य क्षेत्रमा अब्बल छ त्यसैले इजरायलको अस्तित्व मेट्न सक्ने अवस्था पनि छैन । सारमा भन्दा बाहिरबाट आणविक कार्यक्रमका कारण युद्धजस्तो देखिए पनि खासमा ‘इस्लामिक’ र ‘जियोनिष्ट’ विचारबीचको अस्तित्वको दीर्घकालीन संघर्ष शृंखलाको पछिल्लो कडी हो ।यो युद्धको अन्त्य त्यतिखेर मात्र सम्भव हुन्छ जब दुवैले एकअर्काको अस्तित्वलाई स्वीकार गर्नेछन् ।
असर विश्वव्यापी हुन सक्छ ।
इरानमाथि इजरायलले आक्रमण गरेपछि यसको असर विश्वव्यापी पर्न सक्छ । उस्तै विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुन सक्छ , किनकि ईरानको होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्तवपूर्ण छ । यो इरान र ओमानको सिमानामा पर्दछ । यही बाटो हुँदै मध्यपूर्वका तेल भण्डार भएका देशहरूबाट एशिया, युरोप र उत्तर अमेरिका लगायत विश्वका अन्य भागसम्म तेल र ग्यास आपूर्ति हुन्छ । इजरायल र इरानबीच युद्धका कारण तेल आपूर्ति प्रभावित हुने पूर्वानुमानले शुक्रबार आक्रमण भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उछाल आएको थियो । एशियाली बजारमा सोमबारको कारोबार सुरुवातसँगै ब्रेन्ट क्रुड तेल (कच्चा तेल)को मूल्य २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रतिव्यारेल पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै दुई डलर बढेर ७५.०१ डलर प्रति व्यारेलमा पुगेको छ । यो उछाल शुक्रबार आएको ७ प्रतिशतको तीव्र वृद्धिपछि देखिएको हो ।यदि युद्ध बढ्दै गए तेलको मुल्य बढ्ने मात्र हाईन समर्थन र विरोधमा अन्य देश जोडी खास गरि अमेरिका ईजरायलको पक्षमा अमेरिका विरोधी ईराकको पक्षमा भए समस्या इरान र इजरायलमा सिमित नभई विश्वव्यापी हुन सक्छ ।
इजरायलसँगको तनावबीच इरानले होर्मुज स्ट्रेट बन्द गर्यो भने विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा प्रभावित हुने अनुमान गरिन्छ । जुन महिनामा विश्वकै वित्तीय संस्था जेपी मोर्गनले यदि यस्तो स्थिति आएमा कच्चा तेलको मूल्य १२० देखि १३० डलर प्रति व्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएको थियो ।


















