खाद्य स्वच्छता र गुणस्तरबारे समाचार लेख्दा ख्याल गर्नुपर्ने विषय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आमसञ्चारकर्मीहरुका लागि ‘खाद्य स्वच्छता तथा गुणस्तर शिक्षा सम्बन्धी सचेतना कार्यक्रममा’ आयोजना गरेको छ । ।

कार्यक्रममा विज्ञहरुले खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन आमसञ्चारकर्मीहरुसँग आग्रह गर्नुभएको छ । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले समाचार लेख्दा तथ्य र विज्ञानमा ख्याल गरिएन भने जुन खाद्य वस्तुको समाचार लेखिन्छ त्यो खाद्य वस्तुमाथि नै नकारात्मक दृष्टिकोण पैदा हुने भएकोले यस्तो बेला तथ्य र विज्ञानमा टेकेर तोकेर नै गल्ती उजागर गर्नुपर्छ । यसले गर्दा समस्या देखिएको वस्तुप्रति उपभोक्ता सचेत रहन्छन् ।

त्यो जातका अरु उत्पादन प्रयोग गर्न हिच्किचाउँदैनन् । कुनै एउटा लटको कुनै सामानमा खराब देखिनु त्यो जातको सबै उत्पादन खराब हुनुहोइन ।’ यसलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।कार्यक्रमका कामपाका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले समाचार प्रकाशन वा प्रसारण गर्नु अघि तथ्य पुष्टि गर्न, प्रदुषक, रोगजन्य विषयको विज्ञान बुझ्न, जोखिम र हानीका विषयमा स्पष्ट हुन सुझाव दिँदै महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर, विज्ञहरुसँग परामर्श गरेर, तटस्थ भाषाको प्रयोग गरेर, निवारणका उपाय प्रदान गरेर, प्रचलित विधि र व्यवस्था जानकारी दिएर समाचार लेख्न सुझाव दिनुभयो । सञ्चारमाध्यमको त्यस अवसरमा खाद्य स्वच्छता कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले, खाद्य स्वच्छताका लागि अझै पनि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै महानगरपालिकाले सचेतनात्मक, प्रवर्धनात्मक र क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

काठमाडौ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो, पेशा व्यवसाय जसको जे भए पनि सबैको अभिलाषा स्वच्छ खाद्य वस्तु प्राप्त गर्नु भएको बताउँदै यसमा साझेदार र आमसञ्चारकर्मीहरुको वुझाइमा समानता ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

उहाँले ‘अस्वस्थ्यकर खाद्य पदार्थका कारण २ सयभन्दा धेरै रोग लाग्छन् । हरेक वर्ष ६० करोडभन्दा धेरै मानिसमा खाद्यजनित रोग लाग्ने गरेको छ । हरेक वर्ष ४ लाख २० हजार मानिस खाद्यजनित रोगका कारण मृत्युवरण गर्छन् ।’ ‘भौतिक, रसायनिक र जैविक गरी ३ कारणले खाद्य वस्तु अस्वस्थ्यकर हुन्छ । ढुङ्गा, माटो, काठ, फलाम, कपाल, प्वाँख जस्ता भौतिक वस्तु खाद्यवस्तुमा मिसिएर खाना अस्वस्थ्यकर हुन सक्छ । जीवनाशक विषादीको अवशेष, एन्टिवायोटिकको अवशेष, तोकिएभन्दा धेरै खाद्य योगशीलको प्रयोगजस्ता रसायनिक समस्या आँखाले देख्न सकिँदैन । यसकारण प्रयोग गरिन्छ । सबैभन्दा बढी असर यसैबाट हुन्छ । जैविक जोखिम भनेको हानीकारक जीवाणु कीरा, ढुसी, पारासाइट, विषाणुको असर हो ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका अध्यक्ष होमनाथ न्यौपानेले खाद्य स्वच्छताका विषयमा कुरा गर्दै भन्नुभयो, खानेकुरा स्वच्छ छ कि छैन भनेर बोल्ने व्यक्ति मेडिकल डाक्टर हो कि खाद्य प्राविधिक हो भनि प्रश्न गर्नु भयो । खाना कस्तो हो भनेर जसले पनि बोल्ने भएपछि कतिपय खाद्य परिकार त्यसको शिकार भएको उहाँको भनाइ छ ।

महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि चरणगत काम गरिहेको छ । यस वर्ष खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम प्रदान गरेको छ । यसमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारी, मासुजन्य खाद्य वस्तुको उत्पादक, मिठाइका उत्पादक तथा विक्री वितरक, परम्परागत खाद्य सेवा प्रदायक लगायत वर्गलाई स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको हो ।