आन्दोलन रोकिनेवाला छैन ,स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा मूलधारे राजनीतिको निर्णायक शक्ति नबनुन्जेल आन्दोलन नरोकिने बताएका छन्।

पार्टीको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले पार्टीले सुरू गरेको आन्दोलन र अभियान अनन्त जाने बताएका हुन्।

‘आन्दोलन रोकिनेवाला छैन। हाम्रो संघर्ष अनन्त छ। अनन्तकालीन संघर्षको शंखनाध नै हामीले गरेका हौं। यसका स्वरूपहरू फरक हुन्छन्। कहिले निलो रिबन लगाएर उभ्यौंला, कहिले पलेँटी कसेर बसौंला कहिले बहिष्कार नै गरौंला कहिले सडकमै उत्रिएर यसरी लल्कारौंला। जिल्ला जिल्ला र पालिका पालिकामा पनि हामी आउँदैछौं तर यो अभियान ०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको मूलधारे राजनीतिको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन,’ उनले भने।

उपसभापति वाग्लेले सभापति रवि लामिछाेनेले न्याय पाउनका लागि रास्वपा राजनीतिक रूपमा बलियो हुनुपर्ने बताए।

‘रवि लामिछानेले न्याय पाउनका लागि पनि रास्वपा राजनीतिक रूपले बलियो हुनुपर्ने अपरिहार्‍यता छ। कानुनी लडाइँ लड्दै गरौंला सँगसँगै राजनीतिक प्रतिशोध साँधिएको हुनाले हामी पनि राजनीतिक लडाइँ नै लड्नुपर्ने हुन्छ,’ उनले भने।

उनले संसदमा पनि रास्वपा आफ्नो अडानमा चट्टान झैं कायम रहेको बताए।  ‘हामी नयाँ छौं तर बेबकुफ छैनौं। आफ्नो अडानमा जसरी अडेका छौं। काइते समझौताहरूलाई स्वीकार गरेनौं। अडानमा चट्टानी रूपले प्रस्तुत भएका छौं,’ उनले भने। संख्याका हिसाबमा सानो भए पनि रास्वपाका सांसद नहुने हो भने संसद पंगु हुने उनको भनाइ छ।