इटलीको रोममा जारी खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशन अन्तर्गत “सानो टापु विकासशील मुलुकहरू, अल्पविकसित राष्ट्रहरू र भूपरिवेष्टित राष्ट्रहरूका लागि चार बेटर” विषयक उच्चस्तरीय कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको तर्फबाट सम्बोधन गरेकी छन् ।
मन्त्री आरजुले एफएओले अघि सारेको “चार बेटर” रणनीतिक अवधारणा—उत्कृष्ट उत्पादन, उत्कृष्ट पोषण, उत्कृष्ट वातावरण र उत्कृष्ट जीवन—लाई समावेशी र दिगो कृषि प्रणालीतर्फको महत्त्वपूर्ण पहलको रूपमा उल्लेख गर्दै नेपालले यसमा पूर्ण समर्थन जनाएको बताइन् । उनले भनिन्, “नेपाल जस्तो कृषि प्रधान देशका लागि चार बेटर अवधारणा अत्यन्त सान्दर्भिक र आवश्यक छ । यसले साना, अल्पविकसित र भूपरिवेष्टित देशहरूलाई दिगो कृषि विकास र खाद्य सुरक्षामा अघि बढ्न सघाउँछ ।”
उनले खाद्य तथा कृषि संगठनको दीर्घकालीन योगदानप्रति आभार प्रकट गर्दै नेपालको तर्फबाट यस रणनीतिक पहलप्रति प्रतिबद्धता पुनः व्यक्त गरिन् । जलवायु परिवर्तन, खाद्य संकट र कृषिमा प्रविधिको पहुँच जस्ता साझा चुनौतीहरूमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको र यस्ता संगठनहरूको भूमिका अझ सशक्त बनाइनु पर्नेमा उनले जोड दिइन् ।
एफएओले प्रस्तुत गरेको चार बेटर अवधारणाको उद्देश्य खाद्य प्रणालीलाई समावेशी, दिगो र सर्वसुलभ बनाउनु हो । सम्मेलनमा सहभागी विभिन्न देशहरूले यस अवधारणाको स्वागत गरेका छन् ।
नेपालको तर्फबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इटली पुगेकी मन्त्री आरजुको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय कृषि नीतिमा सक्रिय सहभागिता र प्रतिबद्धता प्रस्तुत गरेको छ ।


















