पशु कल्याण ऐन छिटो भन्दा छिटो जारी गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सकेसम्म आफ्नै पालामा छिटो भन्दा छिटो पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एनिमल नेपालले काठमाडौमा आयोजना गरेको पशु कल्याण सम्बन्धी चुनौती र वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले आफुहरुले विगत देखि नै पशुकल्याण ऐनलाई ल्याउनु पर्ने आवाज उठाउदै आए पनि यसमा ढिलाई भएकोमा चिन्ता व्यक्त गर्नुभयो । शाहले नेपालमा पशु कल्याण ऐन आएमा यसले सम्पूर्ण पशुपन्छीमाथि हुने क्रुर र अमानवीय व्यवहार कम गर्न मद्यत पुग्ने विचार राख्नुभयो । कार्यक्रममा संसदको कृर्षी, सहकारी तथा प्राकृतिक स्रोत समितीका सभापति कुसुम देबी थापाले समितीमा पशुकल्याण ऐनको मस्यौदा आएमा सबै सरोकारवाला पक्षसंग छलफल गरेर त्यसलाई अन्तिम रुप दिने बाउनुभयो ।

कार्यक्रममा एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एकिकृत पशु सेवा ऐनको आवश्यकता र ऐनको अभावमा पशु कल्याणको क्षेत्रमा काम गर्न के कसरी समस्या परिरहेको छ भन्ने विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो । उहाँले हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । । ‘पशु कल्याणका लागि केही मापदण्ड बनेको भए पनि त्यसको कार्यन्वयन नहुँदा पशु पन्छीहरूले धेरै दु:ख कष्ट भोग्नु परेको पनि उहाँले बताउनुभयो । त्यस्तै पशु कल्याणसँग सम्बन्धित कानुनको मस्यौदामा पशुबाट मानिसमा सर्ने रोग (जुनोटिक डिजिज) लाई पनि समावेश गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा पशु शाखा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलको प्रस्तुतीकारण रहेको थियो । उहाँले मानव पशुपन्छी सम्बन्ध, पशु कल्याण र पशु अधिकारका साथै विभिन्न ऐनमा भएका व्यवस्थाबारे जानाकारी दिदै अहिले राष्ट्रिय पशु स्वास्थ्य नीति–२०७८, राष्ट्रिय पशुधन प्रजनन् नीति–२०७८, राष्ट्रिय दुग्ध विकास नीति–२०७८, कुखुरा पालन नीति–२०६८, पशु वधशाला र मासु निरीक्षण अधिनियम–१९९९ , पशु कल्याण निर्देशिका–२०७३ लगायतका नीति, नियम तथा कानुन बने पनि एकमुष्ट रुपमा पशु कल्याण ऐन नहँुदा समस्या भएको बताउनुभयो । कार्यक्रममा पशुसेवा बिभागका रामनन्द तिवारी, सांसदहरु भानुभक्त जोशी ,रञ्जिता श्रेष्ठ ,लगायतको सहभागिता थियो ।कार्यक्रमको अध्यक्षता एनिमल नेपालकी अध्यक्ष शोभा रायमाझिले गर्नु भएको थियो भने संचालन एनिमल नेपालकी फिल्ड सुपरभाईजर लक्ष्मी खत्रीले गर्नु भएको थियो ।