काठमाडौं महानगरको बजेट आइतबार आउने,बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण

काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका हुन् ।

यसको लागि महानगरको कार्यपालिका बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ । बजेटको मिति घोषणा अघि काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

बैठकमा बालेनले नै जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।