गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् ।
यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो ।
यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबाट चलेको गालीबाट कसैलाई चोटपटक पनि नलागेको जिकिर गरेको छ । तर अर्का इजरायली सैनिक अधिकारीले भने, ‘हामीले मानिसहरूलाई हटाउन चेतावनी स्वरूप गोली चलाएका हौं। सेनालाई खतरा महसुस भएपछि गोली चलाउनु परेको थियो।’
इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजाभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिएको छैन।





















