स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानबिनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखेका हुन् । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी हुन भनी गएका मान्छेहरू नफर्किएको पुष्टि भइसकेको छ । यसको छानबिन गरौँ । संसदीय छानबिन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानबिन समितिको माग गर्दछौँ ।’

उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने समेत बताए ।