हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध

 

४ साउन, विराटनगर । हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए ।

राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।