हाम्रा प्रायःजसो संस्कारहरू स्वास्थ्य, मनोविज्ञान तथा सचेतनासँग प्रत्यक्ष र परोक्ष रुपमा गाँसिएका छन्। यी संस्कारबाट तत्कालीन समाजका विविध पक्षको अध्ययन अनुसन्धान गर्न प्रशस्त खुराक पाइन्छ। हाम्रा संस्कारहरूका विषयमा धार्मिक बखान गरिएका प्रशस्त सामग्रीहरु उपलब्ध छन् तर समाजशास्त्रीय ढङ्गबाट पनि यी हाम्रा संस्कार, रीतिथिति र परम्पराको विश्लेषण हुनुपर्दछ। आज हामी कतिपय संस्कारमा बिरालो बाँधेर श्राद्ध गर्ने जस्ता कर्म गर्दै छौँ। यस्ता कुराबाट हाम्रा भावी पुस्तामा हाम्रा संस्कारप्रति उत्साह कम हुँदै जान सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने बेला आएको छ। संस्कार प्रारम्भ हुँदाको सामाजिक परिवेश र वर्तमान परिवेशका बीचमा ठूलो अन्तराल आइसकेको हुँदा समयानुसार परिमार्जन गर्नुपर्ने र परिमार्जन हुँदै आएको तथ्यप्रति पनि मनन गर्नुपर्ने देखिन्छ। यसै पृष्ठभूमिमा यस आलेखमा मृत्यु संस्कारका विषयमा हिजो र आजका चलनका विषयमा केही प्रकाश पार्न खोजिएको छ।
पर्दाका जन्ती मर्दाका मलामी भन्ने भनाइले हाम्रो समाजको विशिष्ट र सुन्दर पक्षको चित्रण गर्दछ। सुख र दुःख दुवैमा सबैले साथ र सहयोग गर्ने विशुद्ध भावनाबाट प्रेरित हुँदा नै समाजमा एकता, प्रतिबद्धता, सामूहिक भावनाको विकास भएर धेरै रचनात्मक कार्यहरू हुन सकेका छन्। जन्मपछि मृत्यु शाश्वत छ भनेर बुझ्दा बुझ्दै पनि व्यक्तिको मृत्युबाट सम्बन्धित परिवारमा पर्न जाने मानसिक पीडा/सन्ताप असह्य हुन्छ। त्यस बेलामा सम्बन्धित व्यक्तिलाई आडभरोसा तथा ढाडस आवश्यक पर्दछ। यस्तो गहिरो संकटको बेला एकले अर्कोलाई मद्दत गर्नुपर्छ भन्ने सामाजिक मान्यता हिजो पनि थियो र आज पनि छँदै छ।
कसैको मृत्यु भएको खबर पाउनासाथ स्वतःस्फूर्त रूपमा मलामी जाने प्रचलन छ। हिजो सञ्चारको सुविधा नहुँदा डाँडाबाट ठूलो स्वरमा आवाज निकालेर फलानो ठाउँको फलानो व्यक्तिको निधन भयो है भन्दै खबर गरिन्थ्यो। यो खबर सुन्ने बित्तिकै जो जुन स्थितिमा छ त्यहीँबाट मृतकको घरमा पुग्ने वा घाटमा जाने मार्गमा पुगी शवयात्रामा सरिक हुने चलन थियो। खाँदै गरेको खाना छाडेर, खेतबारीमा काम गर्दै गरेको मेला छाडेर वा जोत्दै गरेको भए हलगोरु फुकाएर अर्थात् गर्दै गरेको जुनसुकै कार्य चटक्क छाडेर विपदमा साथ दिन हिँड्ने चलन थियो। घरायसी विवाद परेका, अन्य वादविवादका कारण पानी बाराबार भएका वा बोलचाल नै बन्द भएका र अड्डाअदालतमा मुद्दा परी झगडिया कहलिएकाहरू पनि विगतलाई बिर्सेर मलामीमा सामेल हुने चलन थियो। कतिपय ठाउँमा त यस्तो बेलामा विगतका तीता मीठा बिर्सेर मेलमिलाप भएको, मुद्दा फिर्ता लिएको वा आफ्नो गल्ती स्वीकार गरी क्षमायाचना गरेका उदाहरण पनि पाइन्छन्। शव राख्न खट बनाउनका लागि आवश्यक पर्ने हरियो बाँस निःशुल्क रुपमा पाइन्थ्यो। यस्तो बेलामा बाँसको पैसा लिनु हुँदैन भन्ने सामाजिक मान्यता थियो। बाँसको खट बनाई शव राखेर चारजनाले दुईतिरबाट बोकेर लगिन्थ्यो। अगाडि अगाडि एकोहोरो शङ्ख फुक्ने, लावा र पैसा (टिला) फ्याक्दै हिँड्ने गरिन्थ्यो। एकोहोरो शङ्ख फुक्नुका अनेकौँ कारण होलान् तर शव आउँदैछ भन्ने र मलामीहरू कहाँ पुगे भन्ने सूचना दिने उपयुक्त प्रविधि यही थियो । आजभोलि यो चलन पनि बिस्तारै हराउँदै गएको छ।
यसरी शव लिएर जाँदा घाटको दुरी हेरी एक अथवा दुई ठाउँमा त्यो पनि निर्धारित ठाउँमा मात्र बिसाउने चलन थियो। सुरुमा मलामी जाँदा जुत्ता चप्पल नलगाई खाली खुट्टा हिँड्ने गरिन्थ्यो भने बिस्तारै यो चलन परिवर्तन हुँदै आयो। पहिले पहिले जुत्ताको सिर्जना नै भएको थिएन । पछि पछि त जुत्ता सुरक्षा होइन शाैखको वस्तु ठानियो। त्यसैले हिजो जे चलन चल्यो त्यही अनुसरण हुँदै गयो। तर, पछि गाउँठाउँमा अप्ठ्यारो ढुङ्ग्यान बाटोमा हिँड्न असुविधा हुँदा कपडाको जुत्ता लगाउने चलन सुरु भयो। तर पनि शव बोक्नेहरूले हालसम्म पनि जुत्ता चप्पल नलगाउने गरेको नै देखिन्छ। हिजो जुत्ता शौखिन वस्तु ठानिन्थ्यो। सर्वसाधारणका लागि सुलभ पनि थिएन। हाटबजार, पाठशाला जाँदा जुत्ता लगाउनेभन्दा नलगाउने नै धेरै हुन्थे । यस्तो अवस्था त म आफैले देखे भोगेको छु। विशेष पर्व, उत्सव तथा बिहेबारीमा जुत्ता लगाउने चलन थियो गाउँघरमा काँचो छालाबाट बनेका काने जुत्ता लगाउनेहरू विगतमा धेरै थिए।
शव घाटमा पुर्याई जङ्गलबाट दाउरा खोजी चिता तयार गरी शवलाई राखी धार्मिक क्रिया गरी दागबत्ती दिने गरिन्थ्यो। यसरी दागबत्ती दिँदा छोराहरू, छोरा नभए नजिकका १३ दिने दाजुभाइहरु, सो पनि नभए ज्वाइँ चेलाले दागबत्ती दिने गरिन्थ्यो। विगतमा छोरा नहुँदा दागबत्ती दिने पनि भएनन् भन्ने चलन थियो। बाबुले छोरालाई गाली गर्दा मेरो दागबत्ती तैँले नदिनू भन्ने कोप वाक्य बोलेको पनि सुनिएकै हो। दागबत्ती दिनु छोराको एक पुण्यकर्म मानिन्थ्यो। आजकाल सन्तान धेरै विदेशतिर हुने हुँदा मातापितालाई दागबत्ती अरुले नै दिँदा के गर्नु सन्तान भएर दागबत्ती दिने बेला भएनन् भन्नेसम्मको टिप्पणी गरेको सुनिन्छ। दागबत्ती सामाजिक आस्था र विश्वाससँग जोडिएको कार्य हो भन्न सकिन्छ। अब बिस्तारै दाउराको चिता बनाई शवदाह गर्ने कार्य पनि हराउँदै जाने अवस्था छ। नेपाल र हिन्दुस्तानका केही स्थानबाहेक अन्यत्र विद्युतीय माध्यमबाट शवदाह गर्ने गरिन्छ। आज पनि हाम्रो समाजमा हिजोदेखि चलेको चलन भनी विद्युतीय शवदाह मेसिनबाट शव दाह गर्न गर्न संकोच मान्नेहरू पनि छँदै छन्। यसबाट परम्परादेखि चल्दै आएको रीतिले समाजमा पारेको गहिरो प्रभावलाई बुझ्न सकिन्छ। मलामीले सागरमा लुगासहितै स्नान गर्थे । लगाएका सबै वस्त्रहरू राम्ररी धोइपखाली अरु लुगा लगाउने चलन थियो। यसको अर्थ दिवंगत व्यक्तिमा कुनै सरुवा रोगको सङ्क्रमण रहेछ भने सोको असर नपरोस् भन्ने हुन सक्छ। मलामीहरू सबैले निमको पात चबाउने गर्दथे, यो पनि स्वास्थ्यकै कारण गरिएको थियो। मलामीहरूले घर पुगेपछि पुनः स्नान गरी गहुँत खाई शुद्ध हुने चलन पनि स्वास्थ्यकै कारण बनेको थियो।
शवलाई पूर्णरूपमा अग्निले भष्म गरेपछि शवको सानो हिस्सा अस्तु निकाली कुनै ठूलो तीर्थस्थलमा लगेर बगाउने चलन विगतमा थियो। हिजोआज त अस्तु सेलाउने विधि पनि समाप्त भइसकेको प्रतीत हुन्छ। गएका मलामीहरूले चितामा मट्टीदान (माटो वा बालुवा अर्पण गर्ने), स्नान गर्ने गर्दथे। मृतकका छोराहरू अर्थात् जसले किरिया बस्ने हो उनीहरूको कपालदारी मुन्डन गरी दाहसंस्कार सकिएपछि सेतो कोरा कपडाबाट नसिइकन तयार गरेको लगौटी धोती ओड्ने आदि लगाउँथे। किरिया बस्नेले सेतै र नसिइकन तयार पारिएका कपडा लगाउने परम्परा छ। यसमा धार्मिक विधि विधान पनि पृथक् होला तर तत्कालीन सामाजिक परिस्थितिले गर्दा पनि हो। पहिले पहिले कपडा सिलाउनका लागि कालीगढहरु सुलभ थिएनन्। भन्नेबित्तिकै तयार हुन पनि गाह्रो थियो त्यसैकारण नसिइकन कपडा प्रयोग गर्नै पर्ने बाध्यता थियो। यसैगरी सुरु हुँदै जाँदा परम्परा नै बन्न गयो। हुन त आजकल तयारी पोसाक यत्रतत्र सर्वत्र उपलब्ध हुन थालेपछि भित्री वस्त्र भने सिलाइएको लगाउने गरेको पनि पाइन्छ। किरियापुत्रीलाई कसैले छुन नहुने र किरियापुत्रीले प्रयोग गरेका सामान अरुले छुन नहुने पृथक् ठाउँमा अलग्गै बस्नुपर्ने, स्वयं पकाई खानुपर्ने, एक छाक मात्र भोजन लिनुपर्ने, नुनलगायत धेरै चिज खान नहुने जस्ता अनेकौं रीत चलेको पाइन्छ। यसरी किरिया बस्दा खानेकुरामा कुनै स्थापित विधि विधान नभए तापनि स्थान र समुदाय विशेषमा विविधता पाइन्छ। नेपालमा पनि ठकुरी र कुमाइ ब्राह्मणहरूमा नुन बार्ने नगरेको पनि देखिन्छ। किरिया बस्दा के खाने के नखाने? कसरी खाने? कसरी अन्य व्यवहार गर्ने ? जस्ता विषयमा खासै धार्मिक विधान छैन। यसमा बुज्रुक पण्डितहरूकै हैकम चल्ने गरेको देखिन्छ। मलामी गएकालाई कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले शुद्धशान्तिका दिन खुवाउनै पर्ने चलन विगतमा थियो। उक्त दिन कोही व्यक्ति आउन असमर्थ भएमा मासिक जलदानको बेला आमन्त्रण गरी खुवाउने गरिन्थ्यो।
किरियापुत्रीले दैनिक कार्य खोलानाला, कुवा र इनार भएको ठाउँमा गई बिहानको खानपिन र अन्य कर्म गर्दथे। पहिले घर घरमा पानीको आपूर्ति हुने व्यवस्था नहुँदा पानीको स्रोतमा जाने गरिएको होला तर यो यथार्थता बुझ्दा बुझ्दै पनि हाल पनि नदी किनारमा नै यस्ता कर्म गर्ने गरिएको पाइन्छ। संस्कारलाई समय सापेक्ष बनाउँदै लैजानुपर्ने दायित्व आजका धार्मिक गुरु, आध्यात्मिक विद्वान् जस्ता व्यक्तिले निर्वाह गर्न अग्रसर भएमा हाम्रा संस्कारप्रति भविष्यका पिँढीले निरन्तरता दिन सम्भव होला।
हाम्रा पूर्वजहरूले बासस्थानका लागि ठाउँ खोज्दा वनजङ्गल तथा जलाशय भएको खुल्ला ठाउँ हेर्थे । शौचालय व्यवस्था थिएन । मानिसहरू खोल्साखोल्सी, बाँसको झाँङ, रुखको छेउ जस्ता स्थानमा शौच गर्दथे। स्वास्थ्य तथा पानीको उपलब्धता नहुने हुँदा घरमा शौचालय बनाउने चलन नै थिएन। सहरीकरण हुँदै जाँदा घरघरमा पानीको आपूर्तिको व्यवस्था हुँदा र सुरक्षाका कारण घरभित्रै शौचालय निर्माण हुन थालेको हो। पञ्चगव्य बनाएर खाने प्रचलन पनि स्वास्थ्यसँगै सम्बन्धित छ। यसबाट शरीरमा भएका किटाणुहरु नष्ट हुने विश्वास गरिन्थ्यो र यो अहिले विज्ञानले प्रमाणित गरिसकेको पनि छ। आजकल गौमुत्र सिसीमा राखी वितरण हुन थालेको छ। यसबाट पनि हाम्रा पुर्खाको ज्ञान, सोच र सचेतनाको मूल्याङ्कन गर्न सकिन्छ।
मरिमराउ भएको घरमा समवेदना दिन जाँदा विचार लिएर जाने गरिन्छ। किरियापुत्रीको भोजनको प्रयोजनका निमित्त चल्ने र आवश्यक हुने खाद्य सामग्री विचारभित्र पर्दछन्। यो विचार पुर्याउने विधिमा धार्मिक कारण त के होला र? तर यो प्रथा सुरु हुनुमा सामाजिक कारण चाहिँ पक्कै छन्। पहिले खाद्य सामग्री तयारीको अवस्थामा धेरै सञ्चय गरिँदैनथ्यो। आवश्यक परेको बेलामा ढिकी, घट्ट र जातोबाट चामल, मकै र गहुँ जस्ता खाद्य पदार्थ तयार गरिन्थ्यो। यसो हुँदा मरिमराउ परेको घरमा खाद्यान्नको अभाव पनि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यो प्रथा सुरु भएको अनुमान गर्न सकिन्छ। विचारमा लिएर जाने सामग्रीमा स्थान र जातअनुसार फरक फरक हुन सक्छ तर सामान्यतया चामल, घिउ, मिश्री, मरिच, अदुवा, सुख्खा फलफूल, ताजा फलफूल तर यी दुवै किसिमका फलफूलमा सबै जातका चाहिँ विचारभित्र पर्दैनथे। यस्ता आवश्यकीय चिजबीजहरू विचारभित्र समावेश गरिन्थ्यो। विचारमा चलनचल्तीमा नभएका खाद्यवस्तु समावेश गरिएको पाइँदैन। पालुङ्गोको साग, फलफूलमा ड्रागन फ्रुट्स, प्रशोधित खाद्य सामग्री आदि किरियापुत्रीलाई लैजाने विचारमा समावेश गरिएको पाइँदैन। क्रियापुत्रीलाई कुनै रोगले नभेटोस्, पथ्य भोजन मात्र सेवन गर्नुपर्दछ, तामसी भोजन गर्नु हुँदैन भन्ने विश्वासका आधारमा आहार विहारको विधि निर्धारण गरिएको अनुमान गर्न सकिन्छ।
आफन्तको मृत्यु हुँदा कसले कति दिने शोक वा जुठो पार्ने भन्ने विषयमा पनि विविधता पाइन्छ। नजिक १३ दिने दाजुभाइले १० दिनसम्म जुठो पार्ने गर्दछन् भने अन्य आफन्तहरूले सम्बन्ध हेरीकन ३ देखि ५ दिनसम्म जुठो बार्ने चलन छ। यसमा पनि सामाजिक परिवेशको ठूलो भूमिका रहेको छ। दुःखमा हामी पनि साथसाथै छौँ भन्ने ऐक्यभाव जनाउन यो प्रथा सुरु भएको हुनुपर्छ। १० दिनमा आफन्तहरूले कपाल काटी आशौच समाप्त गर्दछन्। कपाल किन काट्ने? यसको पनि सामाजिक कारण छ। परापूर्व कालमा मानिसहरू दाह्री कपाल नियमित रूपमा काट्ने वा खौरने गर्दैनथे। यी दुवै कार्य सफा र राम्रो देखिनका लागि तथा शुद्ध हुनका लागि गरिन्थ्यो। विगतमा बेहुलाले पनि कपाल काट्ने गर्दथे। यसकारण कपाल काट्ने कुरा सफा, शुद्ध र राम्रो देखिनका लागि हो। तर, आजका व्यक्ति नियमित रूपमा कपालदारी बनाउने गर्ने हुँदा सधैँ सफा नै हुन्छन् त्यसैले कपाल काट्ने संस्कारगत अनिवार्यता हुनु नहुने ठान्ने पनि छन्।
किरियापुत्रीलाई एक्लै छाड्नु हुन्न, एक्लै छाड्दा के के हुन्छ, के के आउँछ वा लाग्छ भन्ने भनाइ छ। यसको सही अर्थ हो मातापिता गुमाएका र किरिया बसेकालाई एक्लै बस्दा सोच्ने, गम्ने र सन्ताप बढ्ने हुँदा अन्य व्यक्ति भएमा अलमलिने हुन्छ भन्नका खातिर ती विभिन्न भनाइहरु आएका हुन सक्छन्। अर्को कुरा रातविरात किरियापुत्रीले शौचालय जानु परेको खण्डमा साथीको आवश्यकता पर्दथ्यो। पहिले शौचालय घरबाट टाढा हुने त्यसमा पनि किरियापुत्रीहरुलाई शाैच विसर्जन गर्न निर्धारित ठाउँमा जानुपर्ने हुँदा साथीको आवश्यकता पर्दथ्यो। यसैकारण के के लाग्छ, एक्लै छाड्न हुँदैन भन्ने भनाइ चल्दै आएको हो।
आशाैच बारेको घरमा कसैले पनि मनोरञ्जनका कार्यक्रम गर्ने चलन थिएन। त्यसैले धेरै पछिसम्म पनि रेडियो नबजाउने चलन थियो। त्यतिबेला रेडियो मनोरञ्जनको साधन थियो। सर्वत्र रेडियो उपलब्ध हुँदैनथ्यो। हाम्रो गाउँघरमा पनि कसै कसैको घरमा मात्र रेडियो हुने हुन्थ्यो। त्यसैले होला सानासाना रेडियो आउन थालेपछि मानिस आफ्नै साथ लिएर हिँड्दथे। रेडियो देखाएर फोटो खिच्दथे। भर्खर भर्खर फ्रिज यन्त्र आउँदा हुनेखानेले पनि यसलाई बैठक कोठामै राखेको देखिएकै हो। यी कार्यबाट तत्कालीन सामाजिक परिवेश बुझ्न सजिलो हुन्छ। आज मोबाइल त मनोरञ्जन होइन आवश्यकताकै वस्तु बनिसकेको छ। यसैकारण हिजो यस्ता यन्त्र सिर्जना नै नभएको बेलाको सामाजिक परिवेशकै आधारमा अहिले पनि हिँड्नुपर्छ भन्ने मान्यता लिन मनासिप हुँदैन।
किरियापुत्रीहरूलाई गरुण पुराण वाचन गरेर अर्थसहित व्याख्या गरी सुनाउने गरिन्छ। किरिया बस्दा सम्बन्धित व्यक्तिको मनमा अशान्ति, चिन्ता र असह्य वेदनालाई सहन गर्न सहज होस् भन्ने हेतुले मन बहलाउन तथा मनको बह कम गर्न यस्ता पुराण सुनाउने चलन चलेको हो। यो मनोविज्ञान हो। तर, गरुड पुराणमा उल्लेख भएका कुरा आजका पुस्तालाई कत्तिको सान्दर्भिक हुन्छ यसतर्फ ध्यान दिनै पर्दछ। अहिलेका पुस्ता जिज्ञासु र तार्किक छन्। त्यसैले यस्तो समयमा मनोबल उच्च बनाउने जीवन र जगत् बुझाउने खालका आध्यात्मिक प्रवचन सुनाउँदा बढी उपयोगी हुने थियो।
दानदक्षिणा पण्डितका लागि दिने प्रचलन पनि हिजो किन सुरु भयो? आज पनि त्यस्तै तरिकाबाट सबै कार्य अनुसरण गर्दै जाने विषयमा पनि समसामयिक परिवर्तन हुनु आवश्यक छ। हिजोको सामाजिक परिवेश अनुसार आज दान दिने वस्तु प्राप्त गर्न मुस्किल पनि छ। भने कतिपय वस्तु त असान्दर्भिक पनि हुन सक्छ, बाहुनलाई हात्ती दान जस्तो। एउटी गाई एकै दिनमा कयौंपटक पशुपतिमा दान दिएका घटना पनि छन्। यस्ता दान ग्रहण गर्नेले जिन्सीभन्दा नगद रुचाउने भइसकेको अवस्था छ। गाउँघरमा भन्दा सहर बजारतिर यस्तो प्रचलन तीव्रतर बढ्दै गएको छ। यसकारण यस विषयमा पनि परिमार्जन गर्दै जानु आवश्यक छ।
आमाको मृत्यु भएपछि छोराले एक वर्षसम्म दूध नखाने, पिता भए दही नखाने गरिएको पाइन्छ। यसमा पनि कुनै निश्चित विधि भने छैन। वर्षदिनसम्म यो बार्ने, ऊ बार्ने भन्ने विषयमा पनि सबैको आफ्नो विश्वास र परम्परा रहेको छ। हिजो बाबुआमाको किरिया गर्दा साहुबाट लिएको ऋण तिर्न मुग्लान जानु परेको, घरखेत बेच्नु परेको अवस्था छ। साहुकै घरमा नोकरी गर्नुपरेका अनेकौं घटना छन्। उचित दानदक्षिणा नदिँदा पितृमुक्त हुँदैनन् भन्ने मानसिकताबाट उन्मुक्ति दिलाउने कार्य गर्न आवश्यक छ। संस्कारहरूलाई निरन्तरता दिन नसक्दा कतिपय बसाइँ सरेका पनि छन्। हिजो आज नै दशैंजस्तो पर्व ज्यादै खर्चिलो हुँदै जाँदा याे समय बाहिर घुम्न जानेकाे सङ्ख्या पनि बढ्दो छ।
मृत्यु संस्कारलाई समय सापेक्ष बनाउँदै लैजाने र भावी पुस्तालार्इ पनि मृत्यु संस्कार एक पवित्र संस्कार हो भन्ने विश्वास दिलाउन यसको मर्म मान्यतालाई अक्षुण राख्दै परिमार्जन परिस्कार हुन पनि आवश्यक छ। यस विषयमा बृहत छलफल गरी निष्कर्ष आएमा यस्ता संस्कारले निरन्तरता पाउँदै जालान् नत्र कता के हुने हो कसले के गर्ने हो अत्तोपत्तो नहुने पक्का छ।
संस्कार हाम्रो संस्कृति र सभ्यताका परिचायक हुन्। यी सांस्कृतिक धरोहरलाई बुझेर परिमार्जन गर्दै निरन्तरता दिनुपर्दछ। संस्कारहरू कहिले कसले किन र कसरी चलाए भन्ने विषयमा अध्ययन अनुसन्धान हुन अपेक्षित छ। यसो भएमा ज्ञानको क्षितिज मात्र फराकिलो हुने नभई भविष्यका पुस्ताका लागि हाम्रा यी संस्कार अमूल्य सम्पदा बन्न पुग्छन्। हाम्रा प्रत्येक संस्कारभित्र प्रायःजसो स्वास्थ्य सचेतना, मनोविज्ञानका कुराहरु लुकेका छन् तर यी कुराहरु प्रकाश नहुँदा आजको पुस्ता हिजोका हाम्रा कतिपय संस्कारप्रति अनुदार देखिन्छन्। यसैले संस्कारभित्रको विज्ञानको वस्तुनिष्ठ रुपमा उजागर गराउने दायित्व हामी सबैले निर्वाह गर्नुपर्ने हुन्छ।


















