यस पटक म लेख्नु नपर्ने कुरा वाद्य भएर लेख्न कोशिस गर्दैछु। पढनु, सिक्नु मानिसको नैसर्गिक अधिकार हो र त्यसलाई आत्मसात गर्दै केही पढ्ने, सिक्नलाई श्रव्यदृष्यहरू पनि हेर्ने गर्छु। ट्रम्प राष्ट्रपति भए पछि हाल सम्म १६३ नेपालीलाई अमेरिकाबाट निष्कासन गरियो भन्ने कुरा स्वइच्छा वा रहरले हैन, तर पनि पढ्नै पर्यो। केही महिना अघि हेर्ने कथा श्रृखलामा साठीहजार, असीहजार तथा एकलाख सम्म विचौलियालाई बुझाउंदै गैरकानुनी बाटो हुंदै अमेरिका पुगेको र त्यहांबाट निष्कासित भएको व्यक्तिको मर्मान्त कथा हेरेकै सुनेकै थिएं। यी दुइ यथार्थतामा आधारित सूचनाले मेरो मनलाई हुंडलिरहेको हुंदा यसै बारेमा कलम चोब्न मलाई वाद्य गरायो। तव न यो नलेखिइनु पर्ने ठुलो व्यथा मलाई आइलाग्यो।
हुन त मानिस परापूर्व काल देखिनै बसाईं सराईं गर्दै आएको प्राणी हो भन्ने कुरामा त कसैको विमति छैन। आधुनिक मानिस होमो सापिएन्सहरू साठीहजार वर्ष अघिदेखि अफ्रिकाबाट युराशिया तिर सर्न थालेको हो, भनिंदो रहेछ। उहिलेका बाजेका पालामा हामी नेपालीहरू पनि आफ्ना सुविधा खोज्दै एक स्थानबाट अन्यत्र सर्ने गरिआएका रहेछौं।
हामी पानी पोखरेलको वंशावली २०८२ पढदा, कर्नाटक मैशूरमा वि.सं.५२०मा जन्मिएका हाम्रा आदि पूर्खा सोमनाथको वंशमा आत्रेय, भटृृ आदि लेखिंदै आएकोमा कन्नौजमा मुस्लिम आक्रमण पछि भने उपाध्या वा शर्मा लेख्न थालियो भनिएको छ। यहि वंशका काशीदास, कन्नौजबाट जुम्लाको सिन्जा राज्यको हिउंदे राजधानी दुल्लु आएका, त्यहां पोखरी खनाएका, दरवारमा राजगुरु भएका र विसौं पुस्तासम्म रहेका भनिन्छ। यिनी पछि बाइसौं पुस्ताका पण्डित हरिकृष्ण पोखरेल, जो वनारस गइ पढेर फर्केका एवं गोरखाको छोप्राकमा बसाइ भइरहेको बखत निन्द्रामा तिम्रो भविश्य कोसी क्षेत्रमा छ, त्यता जाऊ भनिएछ र वि.सं १७०२ तिर पं. पोखरेल, परिवार खोटाङ्को खार्पा पुगेको उल्लेख भएको छ। यहीं देखि खार्पाली पोखरेल भनेर हामी चिनिदै आएका रहेछौं।
मैले जान्दैमा पनि खोरिया फांडेर बसोबास गर्ने अर्थात् एक ठाउंबाट अर्को स्थानमा सर्ने चलन थियो। पहाडको एउटा सानो सीमित घेराबन्दीमा बसीरहेको परिवारमा सन्तान धेरै भए पछि, खन जोत गरेको भूभागको अनाजले सबैको पेट भर्न नसक्ने अवस्था आइपर्दा, एकहल गोरु तथा एकाध गाई भैंसी वा वाख्रापाठा लिएर खासगरी परिवारको जेठो छोरा बुहारी वरिपरिको जङ्गल, बुट्यान, भिर पाखा जता मिल्छ त्यतै फांड्दै बस्ने गर्थे। ६० वर्ष अगाडी त जग्गा नाप जांच पनि सबैतिर भैसकेको थिएन। नाप जांच आउंदा अफूले यति भूभाग भोगचलन गरिआएको भनेर कर्मचारीलाई भन्ने र तद्अनुकूल तिरो तिरेर चिर्कटो निस्सा लिने चलन थियो नै।
दुइसय वर्ष भन्दा बढीसमय देखि बेलायत र भारतीय सेनामा नेपालीलाई छानेर लग्ने काम सरकारी स्वीकृतिमै हुन थाल्यो। अर्थात् सेनामा काम गर्न विदेश जाने क्रम अंग्रेज–नेपाल लडांईको सुरु सन् १८४० देखि भने बढोत्तरी भएको ठानिन्छ। नेपालीहरू बेलायती वा भारतीय सेनामा छानिन लाहोर जान्थे, सेनामा भर्ति हुन्थे र पछि विदामा अथवा सेवानिबृत्त भइ आउंदा तिनलाई लाहुरे भन्न थालियो। तब भारतीय लाहुरे, मलयान लाहुरे वा बेलायती लाहुरे कहलिन थाले। बेलायत वा भारतमा नेपालीहरूको गोर्खा राइफल वा गोर्खा बटालियनको रुपमा छुटृै इकाईहरू हुने गरेकाछन्। बेलायतमा भर्ना हुंदै सिंगापुर, ब्रुनाईमा सेनामा काम गर्न नेपालीलाई तोकिने पनि हुन थाल्यो। बेलायती सेनामा रहंदा वर्मा, अफगानिस्तान, मलया, तिब्बत आदिमा लडन जानेमा नेपाली अर्थात् गोर्खा फौजनै अग्रणी हुने गर्दथे। नेपाली यति निडर कि गोर्खाली सेना भनेपछि अन्य सेना स्वत: डराउने अवस्था हुन्छ र त अहिले पनि रसियाले नेपाली बोलाउंदै सेनाभा भर्ति गरेको रहेछ। यसरी सेनामा काम गर्दा गर्दै, केही लडांइ पछि त्यतै बस्ने, परिवार बोलाउने र खेतीपाती एवं पशुपालन आदि काम समेत् गर्न थालेपछि नेपालीको विदेश पलायन बढ्न थालेको पाइन्छ। यस अघि बृहत्तर नेपाल हुंदानै पनि नेपाली भाषीहरू पूर्व यशियाका कतिपय देशसम्म पुगेर बसोबास गरेका थिए होलान्। नेपाली बसोबास गरेका देशहरू भुटान एवं वर्मा (हालको म्यानमार) केही उदाहरण हुनसक्छन्।
आजको आधुनिक युगमा समुद्री एवं हवाई यातायातको सुविधाले सरसामान वा मानिस पृथ्वीको एक कुनाबाट विपरित अर्को कुनामा पुर्याइनु वा पुग्नु भन्ने कुरा यति सजिलो भएको छ, तव न यो विश्वलाईनै एक गाऊं भन्न थालियो। आज प्रवेश अनुमति पाउने जुनसुकै देशमा कुनै पनि देशबाट माानिस जान सक्छन्। त्यहां काम धन्दा, पढाई वा व्यवसाय गर्न सक्छन् र तोकिएको अवधि वा प्रकृया अवलम्बन पुरा गरेमा सोही देशको नागरिक सम्म हुन सक्ने वातावरण पनि छ। तर पनि देशबिचमा सिमा रेखा छन्, एक देशबाट अर्कोमा पस्न राहदानी चाहिन्छ। यति सम्म त ठिकै थियो, तब किन नलेखिइनु पर्ने व्यथा भनियो? कारण छ: यहि समयमा आएर मानिसमा मानवता रहेन, एकअर्कामा आपत विपद् पर्दा तत्काल सहयोग गर्ने पद्धति हट्यो र कठिनाइलाईनै भजाएर लुट्ने व्यवस्था आयो। अझ अप्ठ्यारो परिस्थितिको सिर्जना गराएर सोबाट पार लगाइदिन्छु भन्दै झन झन कठिनाई थप्दै पीडितबाट चुस्ने काम हुनथाल्यो। माथीसम्मको मिलिभगतमा अध्यागमनबाट ठुल ठुला रकम असुलेर भिजिट भिषामा नेपालीलाई विदेश पठाउने भनिएको हालैको प्रकरणै यसको साक्षी हो।
देश छाडेर विदेशमा बसाईं सर्ने भन्ने कुरा पहिले भएको भएपनि वा अव हुने पनि राम्रो हैन रहेछ। मैले सम्झेको कुरा २०२९ साल देखिको हो। श्री ठाकुरराम कलेज वीरगञ्जमा राष्ट्रिय सेवा दलका प्रमुख, महा सेनानी श्रीप्रसाद बुढाथोकी र केही व्यक्ति कलेजमा आइपुगे। राष्ट्रिय सेवा दलको पूर्व तालिमेको हैसियतले आफू समेत्ले स्वागत गर्न पाइयो। कुराको अन्तमा, उहांहरू चितवन जाने र त्यहां बर्मेली टोलमा भेटघाट पनि रहेको भन्ने सुन्दा, नेपालमा बर्मेली टोल? सुन्नासाथ संगै जान मन लाग्यो र जाने स्थिति पनि बन्यो। चितवनको रत्ननगर गइयो, हेरियो र थाहा भयो उनींहरू नेपाली मूलका रहेछन्, बर्मामा बसोबास रहेछ। नेपाल फर्कनु पर्ने स्थिति भएछ र उनीहरूलाई त्यहां व्यवस्थित बसोबास गराईएको रहेछ। पछि त्यस्तै बर्मेली टोल भैरहवामा पनि रहेको पाइयो। अर्थात् नेपाली–बर्मेलीलाई नेपालले सस्वागत विभिन्न स्थानमा बसोबास गराएको रहेछ। नेपाली उखान– ‘बर्मा गए कर्म संगै, नेपाल आए कपाल संगै’को सार्थकता?
सन् १९९१ को उत्तरार्ध देखि १९९२ भित्रमा भुटानबाट अध्यागमन कानूको हवाला दिंदै लखेटिएका नेपाली मूलका भुटानी परिवारहरू भारत हुंदै नेपाल छिर्छन्। झापाको विभिन्न शरणार्थी शिविरमा उनीहरूलाई राखिन्छ। नयां जन्मेका समेत् गरी व्यवस्थापन गर्नु पर्ने शरणार्थी संख्या १,१२,८०० पुगेको हुन्छ। संयुक्त राष्ट्र सङ्घको पहलमा तिनलाई बिभिन्न देशमा बसोबास गराउने तय हुन्छ। अमेरिकाले मात्रै सन् २०१७को फेब्ररी सम्ममा ९२,३२३ जनालाई बसोबास गराउंछ। अस्ट्रेलिया लगायत अन्य केही देशले पनि धेर थोर भुटानी शरणर्थीलाई बसोबास गराएका हुन्। भनिएको छ, अझै ६,००० भन्दा बढी भुटानी शरणर्थीहरू झापामै दिन काटिरहेका छन्।
अमेरिका लगिएका भुटानी शरणर्थी मध्ये गैर गतिविधि गरेको नाममा १५ जुलाई २०२५ सम्ममा २४ जनालाई अमेरिकाले फर्काएको (च्याट वीपीजी) र भुटान पुगेपछि उनीहरूलाई भुटानको सिमा कटाई दिंदा पुन: भारत हुंदै नेपाल भित्रिए भनिएको छ। ती भुटानी नागरिकनै थिए, तर नेपाली मूलका। आफ्नै नागरिकलाई त अर्को मूलको भनेर भुटानले सिमा कटाइ दियो भने, नेपाली अमेरिकन बनेका वा नेपाली बेलायती बनेका जो कोहीलाई पनि भोलिका दिनमा त्यसैगरी आफ्नै मूलमा फर्क भनिन्न भनेर विश्वस्त हुने समय आज छैन, मानवता हराएको आजको विश्वमा। कुनै न कुनै रुपमा यो क्रमको सुरुआत भएको पनि छ।
त्यस्तै रोहिंगा शरणार्थीहरू एकलाख भन्दा वढी ठुलो संख्यामा बंगलादेशमा अनि भारतमा र थाइल्याण्डमा केही रहेकाछन् भनिन्छ। इरान, टर्की, कोलम्बिया, जर्मनी एवं युगण्डाले संसारका एक तिहाई शरणार्थी वा अन्तराष्ट्रि तहमा सुरक्षा माग गर्ने मानिसलाई शरण दिइरहेका रहेछन्। मलाई लाग्छ, यी सब, म जन्मेको मेरो मातृभूमि प्राण भन्दा प्यारो छ भन्ने आत्मिय भावना, शिक्षाले आफ्ना नागरिकलाई सिकाउन नसकेको परिणाम हुन्।
नेपालीहरू भारत लगायत विश्वका विभिन्न महादेशका अनगिनत देशमा विविध प्रकृयामा बसोबास गरिआएका छन्। च्याटजीपीटी (९, श्राबण ०८२)अनुसार १५ देखि १७ लाख मानिस औपचारिक वा अनौपचारिकरुपमा भारतमा काममा छन्। ४५ लाख भारत बाहेक अन्यत्र मुलुकमा काममा छन्। पढ्नको लागि १ लाख १९ हजारले सन् २०२४मा मात्रै नेपाल छाडे र सन् २४ मै झण्डै ६७ हजारले नेपाल छाडी स्थाई बसोबासको लागि बसाइनै सरेका छन्, अमेरिकी राष्ट्रपति ट्रम्पले आधिकारिक कागजात बिना लुकिछिपी गैरकानूनी ढंगमा अमेरिका पसेका नेपालीहरूलाई खोज्दै पक्रदैं फिर्तागर्ने क्रममा तिब्रता ल्याएका छन् र जनवरी देखि मध्य जुन २०२५ सम्ममा १६३ जनालाई काठमाडौं फर्काएको हो भनिन्छ। च्याटले पनि यसो खोजखाज गरेर न भन्ने हो, खोज्दा नभेटिएका कति होलान्? सुन्दा नपत्याइने खालको तर नमिठो बाक्यमा भन्ने हो भने ती सबै नेपाली कुनै न कुनै हैसियतमा शरणार्थीका रुपमै छन्।
यस्ता संख्या अत्यन्त धेरै हुन सक्ने लख नेपालीहरूले काटन थालेका छन्। रुस–युक्रिनको लडांईमा नेपाली सेना मरिरहेकाछन्। इजरायल–गाजा–इरान लडन थालेका छन्। ती देशमा रहेका नेपाली चाहेर पनि नेपाल फर्कन पाउने अवस्थामा छैनन्, किनकि हवाइ सेवानै बन्द भएको छ।
विश्वमै शान्ति स्थापनार्थ गठन भएको संयुक्त राष्ट्रसङ्घ विश्वमा घटिरहेका तर नहुनु पर्ने क्रियाकलापहरू नदेखेझैं गरेर टुदुटुलु हेरेर बसेको अवस्था छ। किन भने विश्वका ठुला देश: चीन, फा्रन्स, रुस, संयुक्त अधिराज्य तथा अमेरिकाले कुनै पनि निर्णय रोक्न सक्ने एकाधिकार आफैंमा सुरक्षित राखेका छन्। साधारणतया दुई देश बीचको मुद्दामामिलालाई तेश्रोले हस्तक्षप गर्न मिल्दैन भनिन्छ, यस स्थितिमा पनि ठुलोसंग सानो सधैं डराएर बाच्नु पर्ने अवस्था हुन्छ। यी घटनाक्रमको सेरो फेरोमा मानवता कता हराएको छ, एशियाको ज्योती भनिने वुद्धको शान्तिको आह्वान कता विलाएको छ, संसार कता जांदैछ, अकल्पनीय छ।
भारत भन्छ: ‘मेक इन इन्डिया’, अमेरिका भन्छ: ‘मेक अमेरिका ग्रेट अगेन’। यस्ता नारा विभिन्न देशका आ–आफ्नै होलान्। यस्ता नाराले के दिशा निर्देश गरेका हुन्छन्, त्यो महत्वपूर्ण कुरा हो। के अलिकति पनि अप्ठ्यो स्थिति आइपरेमा सर्वप्रथम आफ्नो देशको बंशजका आधारमा जन्मेकालाई प्राथमिकता नदिइ अन्य नागरिकलाई सरसुविधा आदि दिइन्छ भनेर पत्याउन सकिन्छ? सकिंदैन। त्यसो हो भने अमेरिकन–नेपाली, अस्ट्रेलियन–नेपाली वा बेलायती–नेपाली सबैको गति एउटै हो। उखुको लांक्रो जस्तो: रस हुञ्जेल चुस्ने, खोक्रो बोक्रा थुक्ने। आफूमा भएको सीप, जांगर, जोश, जवानी न्यौछावर गर!; सेनामा छौ, लडन सकुञ्जेल लड, मर बस! त्यत्ति हो। यहां नबस भन्नासाथ कुम्लो बोक फर्क आफ्ना मूलथला!
अब आफ्नै देश नेपालको भौगर्भिक धरातललाई हेरौं। प्राकृतिक, मौसम तथा पर्यावरणीय हिसाबले यति सानो देश नेपालमा यत्रोविधिको विविधता हुनु सौभाग्य मात्र हैन, यसलाई भूस्वर्ग भन्नै पर्छ, मान्नै पर्छ, हो नै। प्रकृतिले दिएकै हो: संसारमा रहेका आठहजार मिटर भन्दा अग्ला विश्वको सब्र्बोच्च शिखर १४ मध्ये, सगरमाथा लगायत कञ्चनजंगा, लोत्से, मकालु, चो यु, धवलागिरी, मनासलु तथा अन्नपूर्ण गरी ८ वटा हिमालहरू; ६ हजार भन्दा बढी नदीनाला; हिंउले भरिएका लगायत ५,३५० भन्दा वढी तालतलैया; १२ वटा विशाल राष्ट्रिय निकुञ्जहरू; उत्तरबाट दक्षिण घामिलो भिरालो परेको भूमि, जसमा हिमाल, पहाड, उपत्यका तथा मधेशको फांटिलो समथर उर्वर जमिन; यशियामा शान्तिको ज्योती बाड्ने गौतम बुद्धको जन्मथलो; मौसमको विविधता जस्तै: तातो वातावरणमा बिराटनगरमा रहेको मानिस त्यहांबाट मोटरमा गुडेर १०७ किलोमिटरको यात्रा करिब ३ घण्टा भित्र तय गरी धनकुटाको हिलेमा कुहिरो लागेको अवस्थामा र गरममा त अत्यन्त आनन्द लाग्ने स्थानमा रम्न पुग्छ। यस्तो स्थिति नेपालको पूर्व–दक्षिण देखि पश्चिम–दक्षिणसम्मबाट उत्तर लाग्दा सबै ठाउंको उस्तै उस्तै हो, केवल यात्राको समय अलिक धेर थोर हुनसक्छ। सानो देश तर व्यापक विविधता भएको कारणलेनै गर्दा महाकवी देवकोटाले ‘के नेपाल सानो छ?’, यदि विश्वलाई एउटा घर मान्ने हो भने नेपाल त्यसको आंखो हुनसक्छ आदि भने होलान्।
हाम्रो भूभाग, जनसंख्या तथा प्राकृतिक श्रोतलाई राम्ररी मनन गर्ने हो भने, आगामी कैयौं शताव्दीसम्म नेपालीहरू भुकमरीबाट मर्नु पर्दैन। यसो भनिरहंदा खाद्यान्न आकासबाट बर्सिन्छ पनि भन्न खोजिएको हैन। हाम्रा चीन छुने उत्तरका १४वटा जिल्ला सदरमुकामबाट चीनको तिव्वती भूभाग जोडने ट्रक दोहोरो सररर कुदने सडकको निर्माण, ती जिल्लाहरूमा च्याङ्ग्रा– भेडा खसी– बाख्रा, फलफुल, चिया, अदुवा, लसुन प्याज लगायत हरिया तरकारी मौसम अनुसार फलाउने, चिस्यान केन्द्रहरूमा सुरक्षित राख्ने र खटाई खटाई तिव्वत पठाउने गर्न सकेमा उव्जा कम हुने तिव्वती पठारमा ती निर्वाध विक्रि हुन सक्छन्। त्यसै गरी मधेशको फांटमा सिंचाइको राम्रो प्रवन्ध गरी विकासे खाद्यान्न उत्पादन गरेमा आफैं खाद्यसामाग्रीमा आत्म निर्भर हुन सकिन्छ। ठुलठुला प्रविधिजन्य उद्योग धन्दामा हामी दुइ छिमेकीको प्रतिस्प्रधा गर्न सक्दैनौ। तर, आफूलाई चाहिने खानपिनको सामाग्री आयात रोक्ने र नेपालकै उपयोग गर्नुपर्ने नीतिमात्र लिन सक्यौं भने नेपालीहरू अरब लगायत देशमा पाखुरा सुर्किन जानुपर्ने हुंदैन।
नेपाल माताले नेपालीलाई पाल्न सक्ने गरी साधन श्रोत दिएकी छन्। नेपालमा मात्र विकासीने अनगिनत पानीजन्य, हिउजन्य खेलकूद तथा साहसी अभियानहरू चाल्यो भने ती फस्टाउन सक्छन्। जे सुकै उत्पादन गर्न सकिने हावा, पानी र वीरमा कहलिएका युवा जनशक्तिका पाखुरा सल्वलाउन सक्छ। शान्तिको प्रतिक लुम्विनी /आस्थाका प्रतिक पशुपतिनाथ एवं मुक्तिनाथ जस्ता धरोहरले व्यापकरुपमा पर्यटक तान्नसक्छ। पर्यावरण प्रेमीलाई यहांको सुन्दरताले खिच्न सक्छ। भरपर्दो सुविधायुक्त तथा सस्तो स्वास्थ्य सेवा दिने आधुनिक अस्पतालहरूको व्यवस्थापन गरेर स्वास्थ्य पर्यटक बढाउन सकिन्छ। गरे सकिन्छ, विधा वा उपायहरू धेरै छन्। धेरै विदेशीले भन्ने गरेकाछन्: नेपालमा पैसै पैसा छ, टिप्नमात्र जान्नु पर्छ।
नेपाल सरकारले अत: आजै देखि नेपाल हितको सोच भने बनाउनु पर्यो: कथंकदाचित विभिन्न देशबाट नेपालीलाई फर्काउन सक्छन्, तिनलाई हामीले ससम्मान व्यवस्थापन गर्नुपर्छ। ती सबै हाम्रा थिए, छन् र हुन भन्ने सोच राखेर भविश्यको नेपालको चीत्र कोर्नु पर्यो। विविध आवश्यक र उपयोगी भौतीक संरचनाहरूको निर्माणमा ध्यान दिनु पर्यो। यत्तिकै देश चल्छ भन्ने सडेगलेको सोचलाई फालेर, उपयोगी योजनाहरूको छनौट गरी ५० वर्षे, अझ सकिन्छ भने देश सञ्चालनको सयवर्षे गुरु योजना बनाएर अघि बढनै पर्छ। देश विकासका लागि अत्यावश्यक भएका गुरु योजना अनुरुपका क्षेत्रहरू तोकेर विदेशमा भएका सबल नेपालीहरू फर्केर आऊ, सबै जुटौं र नेपाल देशलाई सिंगारौं भनेर आह्वान गर्नु पर्छ। ता कि जहां रहेका नेपाली पनि आफ्नै देशमा आ–आफ्ना ज्ञान, सीप, क्षमता, अनुभव एवं श्रोत लिएर सहर्ष नेपाल फर्कन सकुन्। त्यसो भएमा आगामी दिनमा यो हरफकार जस्ताले नलेखिइने व्यथा लेख्नु पर्ने हुंदैन!






















