बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेता बानियाँको दाबी पेस

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका इन्द्रबहादुर बानियाँले नयाँ मुख्यमन्त्रीका लागि आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा कांग्रेस दलका नेता बानियाँले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेएको हो ।

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा प्रदेश प्रमुख देवकोटालाई बुझाइएको पत्रमा बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको दाबी गरिएको छ ।

यही साउन १४ कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ आज प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको थियो ।

मुख्यमन्त्री लामा राजीनामा बुझाएसँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि आजै प्रदेश प्रमुख देवकोटाले भोलि साउन २० गते दिउँसो २:०० बजेसम्मको समय सीमा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।