मधेस प्रदेशको बारा र सिराहामा भारी वर्षा

पछिल्लो २४ घण्टाको अवधिमा मधेस प्रदेशका ८ जिल्लामध्ये बारा र सिराहामा भारी वर्षा भएको छ । मधेस प्रदेशका केही जिल्लाहरूमा शुक्रवार साँझदेखि र बारा, पर्सा रौतहटमा भने शनिवार साँझदेखि वर्षा सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभाग सिमरा शाखा कार्यालयको तथ्यांकअनुसार सोमबार बिहान ८ः४५ देखि मंगलबार बिहान १० बजेसम्म सबैभन्दा धेरै वर्षा बाराको सिमरा, निजगढ र सिराहाको गोलबजारमा ७१ देखि ७७ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञानका अनुसार ५० मिलिमिटर भन्दा बढी पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ ।

साथै मधेस प्रदेशकै सप्तरीको बर्मझिया र महोत्तरीको गौशाला स्टेसनमा भने छिटफुट मात्रै वर्षा भएको सिमरा मौसम कार्यालयका सहायक मौसमविद् लक्ष्मण कँडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा रौतहटको महेशपुर स्टेसनमा ३४ मिलिमिटर, सर्लाहीको पथ्थरकोट स्टेसनमा ४०, धनुषाको तुलसी मौसम केन्द्रमा ३७ र पर्साको ठोरी स्टेशन अन्तर्गत ३५ मिलिमिटर मात्रै वर्षा भएको देखिएको छ ।

यसअघि शनिवार, आइतबारको तथ्यांक हेर्दा रौतहटमा सबैभन्दा धेरै १३३ मिलिमिटर वर्षा भएको थियो । मधेस प्रदेशका ८ जिल्लामा करिब २५ वटा जल तथा मौसम केन्द्रको स्टेसनहरू छन् ।

सामान्यतया जेठ १५ देखि असोज १५ सम्म (जुन, जुलाई, अगस्ट, सेप्टेम्बर)लाई मनसुन अवधि मानिन्छ । यस वर्ष मनसुन २ महिना ढिलागरी शनिवार देखि सुरु भएको छ । लामो सुख्खा र खडेरी पछि सुरु भएको वर्षाले तापक्रम घटेको छ भने धान किसानहरूलाई ठुलो राहत मिलेको छ ।

सहायक मौसमविद् कँडेलका अनुसार वर्षा सुरु भएपछि मधेसमा तापक्रम २६ देखि २८ डिग्रीसम्म औसत तापक्रम रहेको छ ।