सिता देवी पोखरामा जन्मी हुर्की अध्ययन पछि एउटा अंतराष्ट्रिय संस्था मा जागिर खाने सफल गुरुङ्ग केटि। एउटा सोझो स्कुले मास्टर संग बिहे गरेकी। घरमा सासु ससुरा संग बस्ता बिहानै उठेर चिया खाजा ख्वाउनु पर्ने। लोग्ने सबै काम गरिदिन तयार तर लोग्नेले केहि गर्यो कि सासुले कि जोइटिंगरे वा केहि न केहि छुद्र भनि हाल्ने। सीताले लोग्नेलाई विदेश जाने प्रक्रिया सुरु गर्न घच घच्याउन थालिन। लोग्नेले न सुनेपछि आफै क्यानाडाको पीआर को लागि दरखास्त हालेर क्यानडामा पीआर पाएर टोरोन्टो आएकी सपरिवार। “यो देश कस्तो चुपचाप छ होकी …”टोरोन्टोको हिउँले ढाकेको सडकमा बिस्तारै हिँड्दै गर्दा सीता देवीले मनमनै भनिन्। नेपाल छाडेर आएको आज ३६ वर्ष भइसकेको छ। पोखराका गल्ली, महेन्द्र पुल, चिप्ले ढुंगाकोको भीड, रुपा ताल , ड़याभीस् फल , फेवा ताल , सरांग डाडा —सबै याद भइहाल्थे। तर यतिखेर उनले देखेको दृश्य फरक थियो; सेतो हिउँ, मन्द चलेको मुटु छेड्ने सिरेटो , अनि बायाँ–दायाँ हतारिँदै हिँड्ने अनजान मान्छेहरू।
नेपालमै उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी थिइन्। त्यसबेला उनलाई लाग्थ्यो, “विदेश गएर केहि पढे भने म कुनै ठूलो पदमा पुग्छु अनि जीबन सुनौलो र सुखमय हुनेछ ।” तर क्यानडामा पाइला टेक्नेबित्तिकै उनले बुझिन्—त्यो सपना पुरागर्न त्यति सजिलो होइन रहेछ।
रोजगारीको संघर्ष
“तपाईँसंग अनुभव छ क्यानडामा काम गरेको ?”
अन्तर्वार्तामा प्रायः यही प्रश्न सोधिन्थ्यो। उनले आफ्ना प्रमाणपत्र देखाउँथिन्, तर कसैले विश्वास गर्दैनथे । अन्ततः उनले विभिन्न सानो–ठूलो काम गर्न थालिन्—कसैको अफिसमा क्लर्क, कतै सुपरमार्केटमा कामदार, कहिले रेस्टुरेन्टमा सहायक त कहिले होटेलमा हाउस किपर। तर घर फर्किंदा सधैं ऐनामा हेरेर भन्थिन्, “म ऐले पनि प्रोफेसनल नै हुँ।मलाई मेरो कामले होइन, मेरो पढाइले परिभाषित गर्छ।”
पाककला र प्रतिष्ठा
उनको ठूलो गर्व भनेको खाना बनाउने कला थियो। आफ्नो भान्साघरमा उनले हजारौँ परिकार बनाइन । नेपाली परिकारदेखि भारतीय करी, इटालियन पास्ता, क्यानडाली केक—उनका हातबाट बनेका सबै व्यञ्जन स्वादिलो हुन्थे।मोमो र छोयला उनको सिग्नेचर फुड नै थिए।
उनको घरमा बेलाबेलामा मानिसहरूको भीड लाग्थ्यो। जसलाई उनी मन पराउँथिन्, उसलाई मनपर्ने खानाले सत्कार गर्थिन्। तर उनी स्पष्ट गर्थिन्—“जसले मलाई आदर गर्दैन, उसलाई मेरो घरमा आउने अधिकार छैन।”उनका छोरा–छोरीले बारम्बार भन्ने गर्थे ,“आमाले यो रेसिपी हामीलाई सिकाउनुन ।”तर उनले मुस्कुराउँदै भनिदिन्थिन्, “रेसिपी मेरो आत्मा हो। आत्मा कसैलाई दिँई दैन।”
पढाइ र आत्मसम्मान
काम नपाए पछि सुरुमा उनले क्यानडामै विश्वविद्यालयमा भर्ना भइन्। सुरुमा उत्साह थियो, तर जब पहिलो परीक्षा आयो, उनको नतिजा A नभएर B आयो। त्यसपछि उनले पढाइ छाडिदिइन्।उनले छोरीलाई र लोग्ने लाई भन्थिन ,“म जीबन्भर A नै ल्याउने मान्छे हो।अब B ल्याएर म किन आफ्नै इज्जत गुमाउँ?”
उनका लागि प्रतिष्ठा परिवारभन्दा पनि माथि थियो। परिवारले कहिलेकाहीँ गुनासो गर्थ्यो—
“आमा, तपाईं हामीलाई भन्दा आफ्नो नाम ठूलो बनाउन बढी ध्यान दिनुहुन्छ।”तर उनी चुप लाग्थिन्। उनको मौनता नै उत्तर थियो।
प्रेम र प्रमाण
३५ वर्षअघि उनले प्रेम विवाह गरेकी थिइन्। त्यो बेला उनको परिवार र समाजले त्यसलाई स्वीकार गरेका थिएनन्।
“तिमीले ठूलो गल्ती गर्यौ,” उनका बाबाले भनेका थिए।तर उनले हिम्मतका साथ उत्तर दिएकी थिइन्—“जीवन मेरो हो, निर्णय मेरो।”आज उनी भन्छिन्,“म अहिले जे गर्छु, त्यो प्रमाण हो—मेरो निर्णय गलत थिएन।”उनले जीवनलाई आफ्नो विवाह सही थियो भन्ने देखाउनैमा समर्पित गरेकी थिइन्।
समुदाय र विरोधाभास
उनले आफूलाई ‘समुदाय नेतृ’ ठान्छिन्। कसैलाई सहयोग चाहियो भने उनले ढोका खोलेर स्वागत गर्छिन्। तर समुदायका कतिपय मान्छेहरू भन्छन्—“उनी नेता होइनन्, उनी केवल खानाले मानिस तान्छिन्।”यद्यपि, उनले त्यसलाई बेवास्ता गर्छिन्।“मानिस त खानाबाट तानिन्छन् भने पनि, त्यो पनि नेतृत्व नै हो,” उनले गर्वसाथ भन्छिन्।
समानता र दृष्टिकोण
उनले धेरैपटक महिला अधिकारको मञ्चमा भाषण दिएकी छिन्।“हामी महिलाहरू पुरुष बराबर हौं,” उनी भन्थिन्।
तर जब तलब असमानताको विषय उठ्छ, उनी असहमत हुन्थिन्।“तलबमा फरक छैन, प्रयासमा फरक छ। जसले मेहनत गर्छ, उसले पाउँछ,” उनको भनाइ हुन्छ।यो सुनेर कतिपय महिला कार्यकर्ताले आलोचना गर्थे। तर उनी अडिग रहन्थिन्।
आज उनी आफ्नो घरको भान्सामा खाना पकाउँदै छिन्। पसिनाले भिजेको निधारमा उनले टाउकोमा लगाएको हेअर ब्याण्ड टल्किरहेको छ। घरमा चार जना पाहुना आएका छन्, जो उनको खाना खान र प्रशंसक् हुन् र नेपाली खान खान खान भन्दा पनि गलगित्त घिच्न आएका भन्छन उनीहरु आफै।
उनले भातको भाडो काउन्टर टपमा राख्दै भनिन्, “म यो जीवन आफु खुसिहुनलाइ जिउँछु—मलाई कसैले गलत भन्ने अधिकार छैन।”बाहिर हिउँ पग्लँदै थियो। तर उनको आँखाभित्र अझै आगो बलिरहेको थियो—गर्व, जिद्दी र आत्मसम्मानको आगो। त्यहि आगोले सीता देबिलाई अपराजिता बनाई राखेको छ।