खार्पाली पोखरेलको इतिहास तथा वंशावली परिक्रमा

नेपालमा वंशावली प्रकाशन गर्ने कार्यमा उत्साहजनक प्रगति भइरहेको वर्तमान सन्दर्भमा खार्पाली पोखरेलको इतिहास तथा वंशावली २०८२ प्रकाशन भएको छ। नेपालमा वंशावली लेखन विधाको विकास र विस्तारमा यसले आफ्नो पृथक् पहिचान कायम गरेको छ। यो कृति समस्त खार्पाली पोखरेल र तिनका सम्बन्धीहरूका लागि मात्र नभएर अन्य पाठकहरुलाई पनि असल खुराक प्रदान गर्न सफल भएको छ। आफ्ना वंशज र बन्धुबान्धवहरूको सोधखोज गरी पोखरेल(पानी पोखरेल)हरूको प्रारम्भदेखि हालसम्मकै सन्ततिको फेहरिस्त तयार गरी इतिहासको विभिन्न कालखण्डमा खार्पाली पोखरेलले निर्वाह गरेका भूमिकाको चर्चा हुनु स्वागतयोग्य कार्य हो। यो महत्त्वपूर्ण कार्य सम्पादन गर्ने सीताराम पोखरेल, बाबुराम पोखरेल र बलराम पोखरेलको अथकित प्रयासको सराहना गर्दै सबैले धन्यवाद दिनैपर्ने हुन्छ, लेखक त्रयलाई हार्दिक बधाई। दाजु सीताराम पोख्रेलले पठाउनुभएको कृति पोर्टेबल डकुमेन्ट फर्म्याट पिडिएफ सरसर्ती हेर्दा मनमा लागेको कुरा लेख्दै जाँदा यो लेखले यस्तो रूप लिन गएको हो।

नेपालमा वंशावली लेख्ने/लेखाउने चलन चल्दै आएकोमा हाल सालै वंशावली प्रकाशन गर्ने कार्यमा उत्साहजनक प्रगति भएको देखिन्छ। वंशावली भन्नाले वंशको बारेमा वर्णन गरेका ग्रन्थ बुझिने भए तापनि वास्तवमा यसबाट इतिहासका कालक्रम, घटना र तत्कालीन समय बुझ्न सहयोगी हुने सर्वविदितै तथ्य हुन पुगेको छ। विभिन्न राजवंशावलीबाट राजाहरूको राज्यकाल र तत् समयमा भएका गतिविधिको जानकारी पाइन्छ। सुरुमा राजकुलहरूमा मात्र वंशावली लेखाउने चलन बाहुल्य थियो। नेपालमा प्राप्त वंशावलीहरूलाई प्राचीन र आधुनिक गरी दुई भागमा विभक्त गरिएको पाइन्छ। प्राचीन वंशावलीमा गोपालराज सर्वाधिक महत्त्वपूर्ण वंशावलीमा गणना हुन्छ। आधुनिक वंशावली धेरैपछि नेपाली भाषामा लेखिएको हुँदा भाषा वंशावली भन्ने गरियो। २००७ सालपछि विभिन्न थरसँग सम्बन्धित वंशावली प्रकाशनमा आउन थाले। हाल आएर प्रायः सबैथरी गोत्रका वंशावलीहरू सोधखोज गरी प्रकाशन हुन थालेका छन्। यस्ता वंशावलीको संख्या कति हो भन्न नसकिए तापनि १०० भन्दा बढी नै भएको अनुमान हुन्छ। यही ऐतिहासिक पृष्ठभूमिमा प्रस्तुत कृति पाठकहरु समक्ष उपस्थित भएको छ।

आत्रेय गोत्रीय पोखरेल (पानी पोखरेल)हरूको आफ्नै पृथक् पहिचान कायम गरी नेपालकै प्रायः सबै भूभागमा बसोबास गरी आएको छ। यी पोखरेलको वंशावली लेखन कार्यमा धेरैले जाँगर चलाएका छन्। कृष्णचन्द्र पोखरेल (२०१४), रेवामणि पोख्रेल (२०५७), सीताराम पोखरेल (२०७७), बालकृष्ण पोख्रेल तथा उद्धव पोखरेल (२०७७), खडानन्द पोखरेल (२०७३), गणेशप्रसाद पोखरेल (२०७४), रत्ननिधि पोखरेल (२०५३) वंशावली लेखन कार्यमा समर्पित यी प्रतिनिधि नामहरू पनि हुन्। भोजपुर, धनकुटा, रावा कुभिन्डे, खार्पा, दोलखा आदि स्थानमा पुगेका पोखरेलहरूको वंशावली एवं उनीहरूबाट भएका कार्यहरूको विवरण पाइन्छ। यिनै पानी पोखरेलहरूको ऐतिहासिक थलो मानिएको खार्पामा पोखरेल र स्वस्थानको सेरोफेरोमा प्रस्तुत कृति खार्पाली पोखरेलको इतिहास तथा वंशावली प्रकाशमा आएको छ। खार्पाको पोखरेलहरूले वंश परिचयका साथै उनीहरूको गतिविधि समेटिएको यो ग्रन्थ तयार गर्न निकै ठूलो परिश्रम, अनुसन्धान, लगन र समय लागेको जोकोहीले पनि सहजै बुझ्न सक्दछ। खार्पाली पोखरेलसँगै तत्कालीन नेपालको विविध पक्ष पनि घुमेको छ। यसर्थ खार्पाली पोखरेलहरूका लागि यो अमूल्य सम्पत्ति नै हुनेछ भने अन्य जिज्ञासुहरूका लागि पनि असल खुराक हुने विश्वास लिन सकिन्छ।

पानी पोखरेलको नालीबेली अन्वेषण गर्ने क्रममा नेपालका अन्य जातिहरू जस्तै हिन्दुस्तानमा मुसलमानको आक्रमण र उनीहरूको हिन्दुप्रतिको कठोर नीतिकै कारण उत्तरतिर हालको नेपालको भूभागमा शरणार्थीका रुपमा प्रवेश गरेको बताइएको छ। पानी पोखरेलका आदिम पुर्खा काशीदास हिन्दुस्थानबाट कहिले, किन र कसरी नेपाल प्रवेश गरे भन्ने विषयमा आएका विभिन्न भनाइहरू उल्लेख गरिएको छ। हिन्दुस्तानको कन्नौजबाट कर्णालीको सिन्जा (दुल्लु) पुगी राजगुरु भई सोही स्थानमा जमेका काशीदासपछिका २० पुस्ता करिब ५०० वर्ष सिन्जामा रहे । काशीदास कहिले सिन्जा पुगे? कुन राजाको राजगुरु भए? जस्ता प्रश्नको उचित जवाफ पाउन सकिएको छैन। काशीदासका २० पुस्तापछिका सन्तति विष्णुदास अर्घाखाँची (खिदिने) पुगे र उनैका सन्तान पोखरा हुँदै गोरखाको छोप्राकमा बसाइँ सरे। छोप्राकबाट उनैका सन्तान हरिकृष्ण विसं १७०० ताका खार्पा पुगेको उल्लेख पाइन्छ। हरिकृष्ण नै खार्पाली पोखरेलका पूर्वज भएको निष्कर्ष निकालिएको छ। कन्नौजबाट खार्पासम्म पोखरेलका पूर्वज पुगेको विवरणमा तथ्य र मिथ्य दुवैको मिश्रण छ। कन्नौजदेखि खार्पासम्म पोखरेलको पूर्व पुगेको विषयमा लामो पृष्ठभूमि उल्लेख गरिएको छ। काशीदासदेखि हरिकृष्णसम्मको पुस्ता जोड्न धेरै सोधखोज गरिएको देखिन्छ। साथै प्राप्त सामग्रीबाट प्रवाहित सूचनाको परीक्षण र सम्परीक्षण गरी ग्रन्थलाई यथार्थपरक बनाउने प्रयास भएको छ।

गोरखाको छोप्राकबाट तत्कालीन चौदण्डी राज्यअन्तर्गत पर्ने खार्पामा हरिकृष्ण पुग्नाको कारण सेन राजाबाट पाएको मानसम्मान बिर्ता विषयमा गरिएको ऐतिहासिक विवरण रोचक छ। यो विवरणबाट तत्कालीन राजनीतिक इतिहास बुझ्न सहयोग मिल्छ। सेन राजाबाट खातिरदारी गरिएका, पुजिएका, त्यत्रो वीरता, पहाडदेखि मधेससम्म पाएका बिर्तावाल खार्पाली पोखरेलले किन पृथ्वीनारायण शाहलाई सहयोग गरी माझ किराँत विजय गराए भन्ने विषयमा कृतिमा चित्त बुझ्दो जवाफ आउँदा राम्रो हुने थियो। पृथ्वीनारायण शाहको अन्तिम समय र प्रताप सिंह शाहको राज्यकालमा बोलवाला शक्तिशाली भारदार भएका स्वरूप सिंह कार्कीसँग हरिनन्दनको रसायन मिल्नुको कारण के थियो? यस विषयमा कृति मौन देखिन्छ। हरिनन्दनले त्यसबेलाको ११,०५१ रुपैयाँ पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गरेका थिए। यसबाट ब्राह्मण दान लिने मात्र होइन दान दिन पनि सक्छन् भन्ने प्रमाण देखाइएको छ। यस अर्थमा हरिनन्दनलाई शङ्खधर साख्वाकै सम्मान दिनुपर्ने हुन्छ।

खार्पाली पोखरेल काशीरामका पाँच भाइ छोरा जेठा नरोत्तम, माइला दामोदर, साइँला कृष्णप्रसाद, काइँला देवदत्त र कान्छा हरिनन्दनका सन्ततिहरूको पाँच भागमा विभक्त गरी वंशवृक्ष र गुणानुवर्णन गरिएको छ। यी पाँच पट्टिका खार्पाली पोखरेलहरूको हालसम्मकै सन्ततिको नाम, काम र योगदानको चर्चाहरू कृतिको विशिष्ट पक्ष रहेको छ।

पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीलाई सार्थक सहयोग गर्ने खार्पाली पोखरेलहरूको दरबारमा के कारणबाट हैसियत हुन सकेन? किन प्रभावशाली भारदारमा गणना भएनन्? यो सोधखोजकै विषय बन्न पुगेको छ। तत्कालीन राजनीतिको केन्द्रबिन्दुमा नपरे तापनि सेन राजाबाटै प्रशस्त मधेशमा जग्गा बिर्ता पाएका हुँदा खार्पालीहरू सम्पन्न थिए। सेन राजाबाट बिर्ता पाएका खार्पाली पोखरेल कालन्तरमा उनीहरूकै बागी भए भन्ने राणाहरूको विरोधमा खरो उत्रिए। श्री ३ वीरशमशेरको राज्यकालमा जङ्गबहादुरका छोरा रणवीर जंगलाई साथ दिएबापत खार्पाली पोखरेलको बिर्ता नै हरण भयो। पछि केहीले फिर्ता पाए केहीले पाएनन्? कोशीको धार परिवर्तन हुँदा सप्तरीमा धेरैको जग्गा बगर हुन पुग्यो। विसं २००७ सालको आन्दोलनमा यी पोखरेल बन्धु खरो रुपमा उत्रिए (तीर्थप्रसाद मिश्र, खार्पाका चेलीबेटीः माइतीका गौरव, डिसी नेपाल, २२ भाद्र २०८१)। राणाका बागी ठहरिएका कृष्णप्रसाद कोइराला (खार्पाली पोखरेलका भानिज)लाई सहयोग गरेबापत मावली भाइ लप्टन रत्नविनोदले जागिर नै गुमाउनु परेको प्रसङ्ग, २०१५ सालपछि पञ्चायत व्यवस्थाको विरोधमा लागेका खार्पाली सधैँ प्रतिपक्षको राजनीतिमा किन रमाए? यो कौतुहलपूर्ण प्रश्न छ। पञ्चायती व्यवस्थामा पनि वीरेन्द्रकेशरी जस्ता केही व्यक्तिको हैसियतै नभएको भने चाहिँ होइन। २०४६ को आन्दोलन पश्चात् यी खार्पाली पोखरेलहरूको नेपालको राजनीति लगायतका विविध क्षेत्रमा बलियो उपस्थिति देखिन थालेको पाइन्छ।

यस वंशावलीको अध्ययन गर्दा खार्पाली पोखरेल विभिन्न विधामा महत्त्वपूर्ण योगदान गर्ने सक्षम पात्रका रुपमा देखा परेका छन्। २००७ सालभन्दा अगाडि राजनीतिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने अवसर नपाएता पनि प्रजातन्त्र आएपछि राजनीतिमा अग्रसर भएको देखिन्छ। २००७ सालपछि कोइराला बन्धुहरूको सम्बन्धित भएका कारण पोखरेलहरू राजनैतिक रङ्गमञ्चमा देखा पर्न थाले। २०१५ सालको निर्वाचनमा खार्पाका मणिराम पोखरेल सांसद हुन पुगे। पञ्चायती राजनीतिमा वीरेन्द्रकेशरी पोखरेल तथा केन्द्रीय तहमा र स्थानीय तहमा अन्य केही पोखरेल राजनीतिमा देखा परेका थिए। त्यसको विवरणसमेत यस पुस्तकमा पाइन्छ। खार्पाबाट अन्यत्र बसाइँ सरेका पोखरेलहरू जहाँजहाँ पुगे तत् तत् स्थानमा आफ्नो उपस्थिति देखाएका छन्। खार्पा नै नदेख्ने पनि खार्पाली पोखरेलका सन्तति हौँ, हामी खारपाली हौँ भन्ने गौरव गर्ने गरेको देखिन्छ।

२०४६ सालको परिवर्तन पश्चात् खार्पाली पोखरेलहरू झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहालगायत विभिन्न जिल्लामा विभिन्न पार्टीमा संलग्न भई राजनीतिमा सक्रियतापूर्वक देखापरेका छन्। खार्पा क्षेत्र रहेको खोटाङ जिल्लामा पनि प्रायःजसो सबै पार्टीमा खार्पाली पोखरेलकै बोलवाला रहेको छ। स्थानीय सरकारमा धेरै पोखरेल विजयी भए तापनि उपल्लो तहमा रही गिरिराजमणि पोखरेलबाहेक अरु मन्त्री हुन सकेका छैनन्। राजनीतिक क्षेत्रमा अपेक्षाकृत रूपमा सफलता पाउन नसकेता पनि अन्य क्षेत्रमा यी खार्पालीहरूले आफ्नो सशक्त पहिचान बनाएका थिए भन्ने कुरा वंशावलीमा चित्रण गरिएको छ।

नेपालको प्रशासनिक सेवामा नेपाल सरकारको मुख्य सचिव संसद् सचिवालयको महासचिव हुने पहिलो खार्पाली ईश्वरप्रसाद उपाध्याय भए भने सम्भवतः पहिलो पिएचडी गर्ने पनि उनी नै होलान्। प्रमुख निर्वाचन आयुक्त भई संवैधानिक पदको उपल्लो पदमा पुग्ने भोजराज पहिलो खार्पाली पोखरेल भए। यसैगरी कमै उमेरमा नेपाल सरकारको सचिव हुने कीर्तिमान पद्मप्रसाद पोखरेलले राखे। यसैगरी तेजप्रसाद पोखरेल सचिव भए भने सीताराम, भानुभक्त जस्ता खार्पाली पोखरेलले प्रमुख जिल्ला अधिकारी भई आफ्नो पृथक् पहिचान बनाएका थिए। यस्तै धेरैले उच्च ओहोदा तथा मानसम्मान पाएका छन् त्यसको विवरण दिँदा लेख निकै लामो हुने सम्झेर सूत्रात्मक रुपमा मात्रै केहीको नाम लिइएको हो।

खार्पाली पोखरेल सूर्यविनोद, रत्नविनोद, रेवतीरमण, रत्नप्रसाद, कृष्णलालहरू राणाकालमा नै लप्टन भए। त्यसबेला निजामती र फौजी सेवा पृथक् पृथक् थिएन। नेपाल प्रहरीतर्फ पोषराज र यज्ञविनोद डिआइजी भए भने सेनामा कर्नेल पदसम्म पुग्ने पनि धेरै नै भए।

प्राज्ञिक क्षेत्रमा खार्पाली पोखरेलहरू सशक्त रूपमा देखा परेका छन्। डा जीवराज इन्जिनियरिङ अध्ययन संस्थानको डीन हुँदै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपकुलपति भए भने डा बिहारीविनोद, मुरारीविनोद, डा नारायण पोखरेल, नीलमणि पोखरेलहरू विश्वविद्यालयकै उच्च प्राज्ञिक पद सम्हाल्न सक्षम भए। चिकित्सा क्षेत्रमा डा सुबोध, डा दिनेश, डा रमेश, डा शशांक लगायत धेरैले नाम कमाएका छन्। खार्पाली पोखरेल रामकृष्ण नागरिक लगानी कोषका प्रमुख भएका थिए। नेपालमा मात्र होइन अस्ट्रेलिया र अमेरिकामा समेत यी खार्पाली पोखरेलका सन्तानहरू अब्बल चिकित्सकका रुपमा स्थापित भएका छन्। राममणि र कालीप्रसाद नेपालको राजदूत भई बेल्जियम र अमेरिका पुगेको चर्चा पनि यस पुस्तकमा समेटिएको छ। वंशावली हेर्दा प्राध्यापक, चिकित्सक, वकिल, पत्रकार, अध्यात्मिक चिन्तक, राजनीतिज्ञ र राजनीतिक विश्लेषक, प्रशासक भएर हैसियत पुष्टि गर्ने खार्पालीहरू पनि मनग्य छन्। नेपालका प्रायः सबै प्रमुख राजनीतिक दलमा खार्पाली पोखरेल बन्धुहरूले स्थान बनाएका छन्।

२००७ सालभन्दा अगाडि खार्पाली पोखरेललाई काठमाडौँ भने आकर्षणको स्थल थिएन। धेरैले यहाँ स्थायी बसोबास गर्न रुचाएनन्। अड्डा अदालत र यस्तै अन्य प्रयोजनका लागि आउने र जाने गर्दथे। काठमाडौँमा घरबार गरी बस्ने पहिलो व्यक्ति लप्टन सूर्यविनोदका कान्छा छोरा श्रीविनोद भएको जानकारी पनि लेखकले दिएका छन्। २००७ सालपछि त व्यापक परिवर्तन भयो। हाल काठमाडौँमा खार्पाका पाँचै पट्टिका बसोबास गर्नेहरूको सङ्ख्या उल्लेख्य हुन पुगेको छ।

यस वंशावलीमा खार्पाली पोखरेलका छोरीहरूको पनि गुणानुवर्णन गरिएको पाइन्छ। यी पोखरेल पुत्रीहरुले विवाह गरी पुगेको स्थानमा आफ्नो माइतीको इज्जत बढाएका थिए। कृष्णप्रसाद कोइरालाकी आमा खार्पाली पोखरेलकी छोरी थिइन्। उनको प्रशंसा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद कोइरालाहरूले गरेका छन्। हालसालै प्रकाशित सुजाता कोइरालाको म र सानु बुवा नामक पुस्तकमा यसको चर्चा भएको पाइन्छ। खार्पाली पोखरेलहरूका भान्जाभान्जीको समेत चर्चा हुनु कृतिकै एक विशेषताको रुपमा लिन सकिन्छ। वंशावलीमा छोराहरूको साथै छोरीहरूको उल्लेख धेरै यस्ता वंशावलीहरूमा गरिएको पाइँदैन। छोरीपट्टिका सन्तानले समेत मावली कुलको बखान गर्ने गरेका छन्।

चौदण्डीका सेन राजाहरू पृथ्वीनारायण उनका सन्तति, भीमसेन थापा, नेपाल-अङ्ग्रेज युद्ध, जङ्गबहादुर र राणाकालीन समयको विविध पक्षको ऐतिहासिक घटनाहरूले कृतिमा स्थान पाएको छ। २००७ सालपछिको राजनीति बुझ्न यो पुस्तक निकै उपयोगी हुने अपेक्षा गर्न सकिन्छ।

खार्पाको इतिहास बुझ्न र अनुसन्धान गर्न यो ग्रन्थ सहयोगीसिद्ध हुने विश्वास गर्न सकिन्छ। खार्पाको नामकरणदेखि उक्त स्थानमा भएको शैक्षिक जागरण र शैक्षिक संस्थाहरूको विकासक्रमको वस्तुनिष्ठ चर्चा पुस्तकमा भएको छ। भाषा पाठशाला, हाइस्कुल हुँदै हाल उच्च शिक्षाको पनि पठनपाठन भएको छ। खार्पा इतिहासको कालखण्डमा शिक्षित व्यक्तिहरूको थलो थियो भन्ने पहिचान बनाएको चर्चा आजका पुस्ताका लागि रोचक भएको छ। खार्पामा भएका चौताराहरू, कुवा, धाराहरूको विवरण संकलन गरी अभिलेख राख्ने कार्यको सरहना गर्नैपर्ने हुन्छ।

खार्पाली पोखरेलहरूको पहिचान गराउने तौरतरिका पनि रमाइलो छ। छिँडीकोठे, ठूलाघरे, डाँडाघरे, हुलाकीघरे, भकारीघरे, काफ्लेली, देउरालीघरे, माझघरे, तीनतले जस्ता नामबाट चिनिने खार्पाली पोखरेलले हालसम्म आफ्नो पहिचान जोगाएका छन्। स्थानीय किराँतीहरूसँग सुमधुर सम्बन्ध कायम भएको चर्चा रत्न राई (पृष्ठ १६)मा गरेका छन्। यो उल्लेख भएबाट खार्पाली पोखरेलहरूले अन्य समुदायप्रति लिएको दृष्टिकोण स्पष्ट हुन्छ। कृतिको अनुसूचीमा उल्लेख भएका सामग्रीहरूबाट थप अध्ययन अनुसन्धान गर्ने जिज्ञासुलाई महत्त्वपूर्ण सूचना प्राप्त हुनेछ।

लेखक त्रयले लामो समय परिश्रम तथा स्रोत खर्च गरेर यो ग्रन्थ तयार भएको हो। यसमा कुनै सन्देह नै छैन। सबै खारपालीहरूको सन्तानको वंशवृक्ष र उनीहरूको संक्षिप्त परिचय गरी पुस्तक तयार पार्नु चानचुने कुरा हुँदै होइन। सुधार र परिमार्जनको गुन्जाइस सदैव हुने स्थापित मान्यता छ यसै कारण यस कृति पढ्दा भविष्यमा ध्यान दिनुपर्ने केही बुँदामा ध्यानाकर्षण गराउने धृष्टता गरेको छु। वंशावली एकपटक प्रकाशित भएपछि प्राप्त भएका सुझाव र कमीकमजोरी परिमार्जन हुँदै जानुपर्छ, गराइएको पनि छ। कृतिको भूमिकाका रुपमा भोजराज पोखरेलको निम्नलिखित वाक्यमाथि लेखकको ध्यानाकर्षण हुने अपेक्षा गरिन्छः
“हाम्रो खार्पा गाउँ साविकको माझ किरातमा पर्दछ।…वास्तवमा पोखरेल वंश घुमन्ते वंश हो जो इतिहासको अनेकौं यायाबरी मोड पार गर्दै खार्पाको बासिन्दा हुन पुगेको हो- किरात राजाकै छत्रछायामा हुर्केको हो।…दुर्भाग्यको कुरा के हो भने…किराँत समाजभित्रबाटै कताकता सामन्ती र शोषकको मन्द आरोप खेप्नु परेको छ।…यस कुराको समीक्षात्मक विश्लेषण यस कृतिमा भइदिए पोखरेलको इमान्दारिता कायम रहने थियो…”(पृ. ११)।
यसको तात्पर्य पाठकले बुझ्न सकेनन्। एक त हरिकृष्ण पोखरेल खार्पा पुग्दा किराँत राजा थिएनन्। लिच्छवीपूर्व किराँत वंशको शासन नेपालमा कायम थियो। केन्द्रमा राजपाठ गुमेपछि किराँतहरू पूर्वतर्फ लाग्दै माझकिरात र पल्लोकिराँत पुगेका थिए। आज हिजोका एक दुई घटनालाई लिएर आफ्नो राजनैतिक स्वार्थका लागि यस्ता भ्रामक प्रचारप्रसार गर्ने परिपाटीले प्रभाव पारेको छ। यथार्थमा यस्तो आरोप लाग्नु स्थानीय विकासमा पोखरेलले गरेको योगदान बिर्सनु हो। यस्ता विचारले समाजमा प्रश्रय पाउनु हुँदैन। स्थानीय रत्न राईले भूमिकामा गरेको उद्गार (पृ. १३-१६)ले स्थानीय किराँतीहरूको खार्पालीप्रतिको सम्मान बुझ्न सहज हुन्छ। भोजराजको सम्मतिप्रति सहमति जनाउँदै लेखकको ध्यानाकर्षण हुने विश्वास लिएको छु।

वंशावलीमा खार्पाली पोखरेलका सन्ततिहरूको विवरणमा गुणानुवर्णन र योगदानलाई महत्त्व दिइएको छ, दिनु पनि पर्छ। तर, कसैको सारसङ्क्षेपमा सूत्रात्मक रुपमा छ भने कसैको विस्तृत विवरण छ। एकरुपता चाहिँ छैन। यसैगरी कसैको कृतिको सबै सूची दिइएको छ भने कसैकोमा संख्या मात्र छ। यसमा एकरूपता हुनु मनासिब देखिन्छ। छोरीहरूको उल्लेख गर्दा पनि सोही प्रकृतिको कमजोरी देखिएको छ। कुनै छोरीको नाम मात्र छ भने कसैको सविस्तार वर्णन गरिएको छ। हुन त यसमा प्राप्त सूचना र तथ्यअनुसार उल्लेख भएको हुनसक्छ तर यसमा एकरुपता ल्याउने विधि अवलम्बन गर्नु उपयुक्त हुन्छ। खार्पा चेलीबेटी स्मारिका २०८१ ले खार्पाली पोखरेलकी चेलीले माइती गाउँप्रति गरेको आदर, सत्कार, त्याग र योगदानको बृहत् चर्चा छ।

वंशावलीमा तत्कालीन नेपालको ऐतिहासिक प्रसङ्गको चर्चा भएको छ। तर त्यसको स्रोत भने उल्लेख भएको देखिँदैन। मूल पाठमा डाक्टर राजाराम सुवेदी डाक्टर राजकुमार पोखरेलको भनाइ दिएको छ। तर सन्दर्भ सूचीमा उक्त विवरण उल्लेख छैन। यसैगरी धेरै नाम पनि सच्याउनुपर्ने हुनसक्छ। उदाहरणका लागि पृष्ठ ९९ मा मुरारीप्रसादको छोरीको नाम स्मारिका हुनुपर्नेमा सरिता भएको छ। यस्तै अन्यत्र पनि हुनसक्छ यस कृतिलाई परिमार्जन गर्ने दायित्व लेखकको मात्र होइन वंशावलीमा भएका कमीकमजोरी, देखिएका त्रुटि सुधार्न परामर्श दिने कार्य खार्पाली पोखरेल र तिनका सम्बन्धितको पनि हो भन्ने हेक्का चाहिँ सबैले राख्नै पर्दछ।

खार्पाली पोखरेलका सन्तति जुनजुन ठाउँमा पुगे त्यस त्यस ठाउँमा धेरै सामाजिक कार्य गरी समाजलाई गुन लगाएका छन्। यस विषयमा पनि ध्यान दिएमा कृतिको महत्त्व अरु बढ्ने थियो। कसको सन्तान को हो? सोको महत्व आफ्नै ठाउँमा होला तर समाजमा कसले के उल्लेख्य कार्य गरे भन्ने समीक्षा भएमा अरुका लागि पनि अनुकरणीय हुन सक्छ। लेखकहरुले उठान गरेका कार्यलाई अगाडि बढाउने दिशातर्फ उन्मुख हुने अवसर र चुनौती दुवैलाई खार्पाली पोखरेल बन्धुहरुले स्वीकार गर्नैपर्छ। यसो हुन सकेमा “वादे वादे जायते तत्त्व बोध” हुनेछ । जन्मथलो खार्पालाई कसरी नेपालकै आकर्षक गन्तव्य स्थल बनाउने भन्ने विषयमा देश र विदेशमा भएका खार्पालीले जाँगर चलाएमा यही नै पुर्खाप्रति सच्चा श्रद्धाञ्जली समेत हुनेछ।

यो कृति इतिहास होइन तर इतिहासको महत्त्वपूर्ण स्रोत भएको छ, जुन भविष्यका अनुसन्धानकर्ताहरूका लागि असल खुराक बन्नेछ। यस्तो महत्त्वपूर्ण ग्रन्थ तयार भएकोमा लेखक त्रयलाई हार्दिक बधाई दिँदै यस कृतिले उहाँहरुलाई सदैव स्मरण गराइरहनेछ भन्ने तथ्यमा विश्वस्त छु। यस्तो गौरवपूर्ण अतीत भएको खार्पाली पोखरेल को सम्बन्धित हुन पाएकामा मलाई पनि गर्वको अनुभूति भएको छ। अस्तु!

बालकोट भक्तपुर
हाल
क्रेस्टी भ्याली, क्यालिफोर्निया
संयुक्त राज्य अमेरिका
जुलाई २०२५ /आषाढ २०८२