राज्य व्यवस्था समिति सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । जस अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ । राजय व्यवस्था समितिका सचिव कान्छा दुलालका अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ ।

एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ । सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन । २७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्रनाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन् । यो ३ थपिँदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।