महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो : बालेन्द्र साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह लेमहानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा भएको उनले बताए । उनले काठमाडौँ महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए ।
त्यसमा महानगर प्रहरीको ठुलो योगदान रहेको उनको भनाई छ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

उनले भने‘धेरै पालिकाहरू छन्, धेरै ठाउँहरू छन् । काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईंहरुको ठुलो योगदान छ । सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ ।