काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद्ले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो ।
अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समय मात्र पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् ।
खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पुरा गरेर उनी आगामी कार्तिक २६ मा अवकाशमा जान्छन् ।
नवनियुक्त आईजीपी खापुङ २०२७ मङ्सिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका थिए ।


















