अनन्त महिमा

आज अनन्त चतुर्दशी हो, भाद्र शुक्ल चतुर्दशीलाई नै अनन्त चतुर्दशी भनिन्छ । जसको अन्त्य छैन उसको नाम अनन्त हो, यस अर्थमा अनन्त भन्नाले सम्पूर्ण यो संसार जसको अधिनमा छ, त्यो सर्वेश्वरको नाम भन्ने स्पष्ट हुन्छ । श्रावण शुक्लमा ऋषितर्पणी, जनै, रक्षा धागो बाँध्न नसक्नेले यसै दिन त्यो परम्परालाई धान्ने गर्छन् भने यसै दिन अनन्तको दीक्षा लिएर वेदाध्यायी हुने पनि हुने गरिन्छ । काठमाडौँ हनुमाढोकामा अनन्त श्रवण, कुमारी जात्रा, दहचोकमा इन्द्रजात्रा पर्व त छँदैछ । यस दिन १४ गाँठो सहितको अनन्तको डोरा बाँध्ने, अनन्तको व्रत गर्ने, कथा श्रवण गर्ने चलन छ । आयु, आरोग्य, ऐश्वर्य, मनमा शान्ति प्राप्तिका लागि र दुःख एवं कष्ट निवारणका लागि आजको दिनमा अनन्तको विशेष पूजा गरिन्छ । सर्व प्रथम सरस्वतीको आवाहन गरी प्रार्थना गरिन्छ । हे देवी, हे यमुने व्रत पूर्तिका लागि मेरा अगाडि आऊ भनी आवाहन गरिन्छ । शिवका पाउमा रहने, सबै लोकको हित गर्ने, पाप र कष्ट हटाउने हे देवी तिमीलाई नमस्कार भनिन्छ । आवाहन पछि अंग पूजा गरिन्छ । मूर्तिलाई प्राण प्रतिष्ठा गरी पाउमा चंचला, घुँडामा चपला, कम्मरमा बत्सला, नाभिमा हरा, गुह्यमा मन्मथवासिनी, हृदयमा भद्रा, हातमा अभहन्त्री, घाँटीमा रक्तकण्ठा, मुखमा भवहंगी, आँखामा गौरी, ललाटमा भागीरथी, शिरमा यमुना, सम्पूर्ण अंगमा सरस्वती देवीको पूजा हुन्छ ।
त्यस्तै नाम पूजामा यमुना, सीता, कमला, उत्पला, अभिष्टप्रदा, धामी, हरि वररुपिणी, गंगा, नर्मदा, गौरी, भागीरथी, तुंगा, भद्रा, कृष्णावेणी, सरस्वती, कावेरी, सिंधु, गौतमी, गोमती, गायत्री, गरुडा, गिरीजा, चन्द्रचूडा, सर्वेश्वरी, महालक्ष्मीलाई स्मरण गरिन्छ । सर्वपाप हटाइदेऊ, सबै उपद्रवहरु नास गर, हे यमुने संगति देऊ भनिन्छ । त्यसपछि भगवान् अनन्तकोटी ब्रह्माण्ड नायक, विश्वरुपको चिन्तन गरिन्छ – अनन्त भगवानको विशेष पूजा पछि अनन्त ग्रंथीको पूजा हुन्छ – ग्रंन्थीमा मोहिनी, पद्मिनी, महावला, अजा, मंगला, वरदा, शुभा, जया, विजया, जयन्ती, पाप नाशिनि, विश्वरुपा, सर्वमंगला, १४ देवीहरुको विशेष स्मरण हुन्छ । अंग पूजामा मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, राम, परशुराम, कृष्ण र सम्पूर्णमा अनन्तको पूजा हुन्छ । त्यस्तै वृद्ध, उल्का, महाउल्का, शतउल्का, सहश्रउल्का, दया, वासुदेव, संकर्षण, प्रद्युम्न, नारायण, माधव, गोविन्द, मधुसूदन, त्रिविक्रम, वामन, श्रीधर, ऋषिकेश, पद्मनाभ, दामोदर, आदि नामहरुबाट पूजा गरिन्छ । दिशा पूजा गर्ने क्रममा सबै दिशामा अनन्त भगवानका अंग अंग नामले विशेष पूजा गरिन्छ । फेरि प्रार्थना गर्दै । नमस्ते देव देवेश, नमस्ते गरुडध्वज ः । नमस्ते कमलाकान्त अनन्ताय नमो नमः ।। अनन्त संसार महा समुद्रमग्नं समभ्युदर वासुदेव । अनन्नतरुपे विनियोजयस्व ह्यनन्तसुत्राय नमो नमस्ते ।। अनन्त व्रत कथा यस्तो छ । सुतजीले शौनकलाई र व्यासजीले सूतजीलाई अनि कृष्णले युधिष्ठरलाई बताउनु भएको हो । जरासन्धको अत्याचारबाट दिक्क भएका पाण्डवहरु युधिष्ठिरको नेतृत्वमा राजसूय यज्ञ गर्दै थिए । भव्य यज्ञशाला तयार थियो । धेरै राजा महाराजाहरु आउने क्रममा दूर्योधन पनि त्यहीँ आउँदा भ्रमले जलमा स्थल र स्थलमा जल देखेछ । पानी नभएका ठाउँमा कपडा सारेर हिडेको देख्दा द्रौपदीले भनिछन्– अन्धाको छोरो हो अन्धै छ । बस् क्रोधी दुर्योधनलाई यतिले काम पुगिहाल्यो । दुर्योधनको छल जुवाको प्रपन्चबाट सारा वैभव गुमाउन पुगेका पाण्डवहरु बनतिर लागेछन् । त्यसैबेला कृष्णसाथ पाएका युधिष्ठिरले सोधेछन् । हे कृष्ण दुःख पाइयो, श्रीकृष्णले भन्नु भएछ – अनन्तको व्रत गर सबै ठीक हुन्छ । स्त्री, पुरुष सबैको इच्छा पूरा गर्ने, पाप हर्ने, कल्याण गर्ने अनन्तको व्रत गर । अनन्तलाई देवताका आत्मा भनिन्छ, जसलाई समय÷काल पनि भनिन्छ । निमेष, कला, मुर्हुत्त, ३० मुर्हुत्त १ अहोरात्र, १५ दिनको पक्ष, २ पक्षको महिना, २ महिनाको ऋतु, ६ ऋतुको वर्ष, यसैलाई अनन्त भनिन्छ । त्यही अनन्त भूमारको क्रममा कृष्णावतार लिनु हुन्छ । महाकाल स्वरुप विश्वरुप जसको अर्को नाम हो ।
कथाको क्रममा पहिले मत्र्यमण्डलमा वशिष्ठ गोत्रका सुमन्तु ब्राह्मण थिए । भुगु पुत्री दीक्षासँग उनको विहे भयो, दम्पतीबाट पुत्री जन्मिइन् ‘शीला’ उनको नाम थियो । एक पटक दीक्षा विरामी परिन्, ज्वरोले सतायो र मुत्यु भयो ! अर्की पत्नी ‘कर्कशा’ सँग विहे गरे सुमन्तुले । कर्कशा नाम, काम पनि कर्कश नै थियो ! ‘शीला’ छोरी भने घरदैलो गर्दा पनि रंगिन चित्र बनाई स्वस्तिक चिह्न बनाउने त्यसैमा खेल्ने, रमाउने, खालि भित्ताहरुमा पनि शंख, चक्र, पद्यको चित्र कोर्थिन्, पूजा गर्थिन् । मंगल चिह्न सधैँ बावुका घर वरिपरि देखिन्थ्यो । शीलाको विहे भयो ‘कौडिन्य’ नामका ऋषिसँग । ज्वाइँलाई उपहार तयार गर भनी सुमन्तुले कर्कशालाई भने । कर्कशाले भए भरको सम्पत्ति आफूले लिएर ढुँगाको भारी पठाइदिइन्, बिरक्तिएर सुमन्तुले घर छोडेर बाहिर यमुना नदीका तिरमा स्त्रीहरुले पूजा गर्दै रहेको स्थानमा पुगे । छोरी शीला पनि यमुनाका तिरमा पुगेकी रहिछन्, धनी बन्ने इच्छाले त्यहाँ अनन्तको डोरो हातको दायाँ भागमा बाँधिन् । खुशी मनले पतिका घरमा बसेकी शीलाले पटक पटक भाद्रमा अनन्तको विशेष आरधाना गरिछन् । विस्तारै घरमा धन सम्पत्ति, चौपाया, अतिथि, सौभाग्य बढ्दै गएछ उनको । सावित्रीझै पतिव्रता थिइन् उनी । दुई दम्पतीको प्रेमालाप बडो राम्रो रहेछ । एक दिन पाखुरामा डोरो देखेर पतिले सोधे, यो के हो ? उनले अनन्तको डोरो हो, यसले हाम्रो स्वास्थ्यको रक्षा गर्छ, धन वृद्धि गर्छ भनिन् । पतिलाई झोक चलेछ र धागो चुँडालेर फाल्न लगाए । उनले दूधमा डोरो फालिन् । नराम्रो कर्म फलले गर्दा सम्पत्ति चोरी भएछ, वस्तुभाउ विरामी परेछन् । बन्धुबान्धवको विछोड भएछ, दरिद्रता बढेछ । दुःख निकै पाएपछि पत्नीलाई सोधेछन् कोडिन्यले अब के गर्ने ? तिमी जान्दछ्यौ कि धनी हुने उपाय ? पत्नीले भनिन् अनन्तको व्रत गर्दा राम्रो हुन्छ, पति कौडिन्य दुःखले भौतारिंदै चारै दिशा हिँड्न थाले् ।
बाटामा उनले फलफूलको लटरम्म रुख देखेछन् तर पन्क्षी भने शून्य । केही पर ठूलो आँपको रुख देखेछन्, अनि अलि पर बाच्छो सहितको गाई देखेछन् । अलि पर पुग्दा ठूलो साँढे, अनि २ पोखरी पनि देखेछन्, अलि पर गए पछि एक गधा र हात्तीलाई देखेछन् । ती देखे जति सबलाई उनले सोधेछन् । भगवान् अनन्तलाई तिमीहरुले देखेका छौं ? तर सबैले भनेछन् अहँ देखेनौं । यसरी तड्पिएपछि, भगवान् अनन्तले दर्शन दिनुभएछ । ऐश्वर्यका मदले बुद्धि ढालिएका कौडिन्यले अनन्त भगवानको दर्शन पाएर खुसी भए, घर फर्क भन्नु भयो भगवानले, १४ वर्षसम्म अनन्तको पूजा गर भन्नुुभयो । कौडिन्यले त्यसै गरे । जीवनमा सारा पापहरु डढेर धनी भए उनी । अनन्त व्रत कथा सुनेपछ्,ि श्रेष्ठ पुरुष भए् ती । अघि बाटामा भट्किदा देखिएका वस्तुहरुको अर्थ बताइदिनुस् भनी सोधे भगवानसंग आँपको रुख भनेको के हो, गाई को हुन्, साँढे के हो ? मनै हर्ने जंगलमा २ पोखरी के होलान्, गधा के होला, हात्ती के होला ? वृद्ध ब्राह्मण को होलान् ? अनन्त भगवानसँग कौडिन्यले यसरी प्रश्न गर्दा भगवानले एक एक तिनका प्रत्यक्ष रुप बताइदिनु भयो । तिमीले आँपको रुख देख्यौ, उहीले तिनी वेद विद्या जान्ने दक्ष र निपुण ब्राह्मण थिए, तर तिनले वेद विद्या अरुलाई दिएनन्, पछि ती रुख भएर जन्मिए, तिनै हुन् आँपको रुख । अनि तिमीले बाच्छो सहित जुन गाई देख्यौ ती पृथ्वी हुन् । साँढे तिमीले देख्यौ, त्यो धर्म हो । २ पोखरी भनेको धर्म र अधर्मको २ रुप हो, पहिले ती दुई दिदी वहिनी ब्राह्मणी थिए । धर्मभन्दा अधर्मको ठूलो वहस गर्थे, भिक्षा पनि नदिने, कुकर्मी, पाप कर्मले गर्दा तरंग र छाल भई तिनीहरु अहिले पोखरीमा बसेका छन्, बाटामा देखेको गधा भनेको क्रोधको रुप हो । क्रोधपछि आवेग र तनावले मानिसलाई सताइरहन्छ, भगवत प्रेम नभएसम्म यस्तै हुन्छ । हात्ती चाहिँ घमण्ड हो, मद हो । बाटामा जुन ब्राह्मण देखियो त्यो मै हुँ, जसलाई अनन्त भनिन्छ । बाटोमा देखिएको गुफा चाहिँ संसार हो, यो ओढार जस्तै छ । यसरी परोक्ष र प्रत्यक्ष अर्थ लगाइदिनुभएछ कौडिन्यलाई भगवान अनन्तले । कौडिन्य घर आई १४ बर्ष सम्म अनन्त व्रत आराधना गरेछन् र धन धान्य, ऐश्वर्यले पूर्ण भए । अन्तमा मुक्ति पनि मिलेछ । युधिष्ठिरलाई भगवान श्रीकृष्ण भन्नुहुन्छ अनन्त चतुर्दशीका दिन तपाइँ पनि व्रत गर्नुस् । १४ वर्षको अनुष्ठानको फल तपाइँले एकै वर्षमा पाउनुहुन्छ । त्रिभुवनपति अनन्तको महिमा सर्वव्यापक छ ।