सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारविरूद्ध जेनजीको प्रदर्शन

जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएर जेनजीहरूले प्रदर्शन सुरू गरेका हुन्।
प्रदर्शनमा कलेजकै पोशाक र परिचय पत्रसहित विद्यार्थीहरू पनि उपस्थित छन्।  भ्रष्टाचारविरूद्ध र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा उनीहरू सडक प्रदर्शनमा आएका हुन्।
प्रदर्शनमा सहभागीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार बढेकोले आफू प्रदर्शनमा आएको बताए।

जेनजीहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन्। राजनीतिक दलका नेताहरूलाई प्रदर्शनमा नआउन भनेका छन्।
देशमा रोजगारीको वातावरण सिर्जना हुनुपर्ने, सुशासन हुनुपर्नेलगायत माग उनीहरूको छ।
उनीहरूले प्रदर्शनमा ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायत गीतसमेत गाएका छन्। प्रदर्शनपछि कोणसभा र भाषणको कार्यक्रम नरहेको उनीहरूको भनाइ छ।
साथै उनीहरूले ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘हामीलाई बोल्न दे सरकार’ जस्ता विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका छन्।