skip this वडा नं १६ बालाजु च:मती

जेन–जी आन्दोलनको छायामा बाल दिवस र बालबालिकाको अधिकार

सामाजिक सञ्जाल बन्दको विरोध र भष्टाचार अन्त्यको माग राख्दै भदौ २३ गते जेन–जी (१२ वर्षदेखि २८ वर्ष उमेर समूह)ले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शन र त्यसबाट सिर्जित परिस्थितिका कारण देश अहिले अन्योलतामा छ । यसबाट नेपाल फेरि एकपटक राजनीतिक संक्रमणको भुमरीमा परेको छ । आन्दोलन केवल अभिव्यक्ति स्वतन्त्रता खातिर मात्र नभई व्यवस्थागत असमानता, भ्रष्टाचार र दलहरूको असफलताविरुद्धको विद्रोह बन्यो ।

जेन–जी आन्दोलनले सफलता पनि पायो तर आन्दोलनले आउँदै गरेको बाल दिवसलाई भने ओझेलमा पारेको छ । यसले बालबालिकाका अधिकारमा समेत असर पारेको छ । सडकमा भएको हिंसा र प्रदर्शनले बालबालिकाको जीवन र सुरक्षा अधिकार जोखिममा पारेको छ । जेन–जी आन्दोलनले बालबालिकाको जीवन, शिक्षा, मानसिक स्वास्थ्य र सामाजिक सहभागितामा प्रत्यक्ष असर पारेको छ ।

बाल दिवसले पारंम्पारिक दिवसको रूपमा सीमितता भोग्नु परेको छ । आन्दोलनका क्रममा बालबालिकाको समेत मृत्यु भएको छ । झडपमा सहभागी नभए पनि त्यसमै परेर ज्यान गुमाए । यो दु:खद् घटनाबाट पाठ सिकेर अब आन्दोलनका क्रममा बालबालिकाको सुरक्षा र आन्दोलनको प्रभावबारे उनीहरूलाई सचेत गराउनुपर्ने देखिन्छ । आन्दोलनमा बालबालिकाले मृत्यु घटनाले बाल दिवसमा रमाइलो गर्ने वातावरण छैन ।

राजनीतिक अस्थिरताले बाल दिवसको पारम्परिक उत्सवमा बाधा पुर्‍याएको छ । तर, सही रणनीतिले यसलाई बालबालिकामा सामाजिक जागरूकता, सुरक्षा र जिम्मेवारी विकास गर्ने अवसरमा परिणत गर्न सकिन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

नेपालको संविधान २०७२ को भाग–३ को धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गिण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

नेपालमा आउँदै गरेको बाल दिवस यस वर्ष राजनीतिक आन्दोलन र विषम परिस्थितिका कारण चुनौतीपूर्ण बनेको छ । विरोध प्रदर्शनका क्रममा केही बालबालिकाको ज्यान जानुले स्थिति अझै संवेदनशील बनाएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, हिंसात्मक झडप र सुरक्षा जोखिमले बालबालिकाको कार्यक्रममा सहभागिता घटाएको छ । यद्यपि, सही दृष्टिकोण अपनाइए यस अवसरलाई शान्ति, अधिकार र सामाजिक जिम्मेवारी सिकाउने माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ ।