जेनजीहरूको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज शवयात्रासहित अन्त्येष्टि गरियो

जेनजीहरूको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिएको छ । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गरेका हुन । मृतकका शवहरू अन्त्येष्टिका अघि शवयात्रा निकालिएको थियो ।

त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको थियो । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका थिए । कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका थिए ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।