७ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुखले पहिरो
ठुलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।
चितवन र धादिङको सिमाना नजिक बाँदरेमोड भन्ने स्थानमा सुरुमा राति साढे १० बजेतिर पहिरो खसेको थियो । राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएको थियो । तर साढे ११ बजेतिर पुन: पहिरो खसेर बाटो बन्द भयो । आज बिहान साढे २ बजेदेखि पुन: पहिरो पन्छाइरहेका बेला आज बिहान ५ बजे झन् ठूलो पहिरो खसेर बाटो ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुन: धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् ।
दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।


















