दुई विशाल छिमेकी राज्य भारत र चीनको बीचमा अवस्थित नेपालले आफ्नो स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न दुवै छिमेकी राष्ट्रसँग मित्रवत् व्यवहार गर्दै आएको छ। छिमेकी मुलुकलाई गाह्रो साँघुरो परेको बेलामा सहयोग पनि गर्दै आएको छ। यी दुर्इ सबल छिमेकी राष्ट्रबीच द्वन्द्व भएको बेलामा नेपाललाई ठूलै सकस परेको थियो। तर, ती दुवै मुलुकबीच मेल हुँदाको पीडा पनि नेपालले यदाकदा भोग्नु परेकै छ। हाल कालापानी र लिपुलेकका विषयमा भारत र चीनबीच बनेको समझदारीले मानसिंह थुलुङ र उषाकिरण अधिकारीको गीत “कहिलेकाहीँ दुख्ने घाउ फेरि बल्झियो” याद दिलाएको छ। यसै प्रसङ्गमा भारत र चीनबीच सङ्घर्ष हुँदा र पुन: कार्यगत एकता हुँदा नेपाललाई परेको सकसको ऐतिहासिक पृष्ठभूमि यहाँ चर्चा गर्न खोजिएको छ।
हिन्दीमा एउटा उखान छ “तरबुजामाथि छुरी चले पनि छुरीमाथि तरबुजा परे पनि तरबुजाकै नोक्सान हुन्छ।”
पृष्ठभूमि:
नेपालको प्रामाणिक इतिहास लिच्छविकालको उत्तरार्धबाट उपलब्ध छ। लिच्छविकालदेखि नै हिन्दुस्तान र भोट९चीन० दुवै मुलुकसित आफ्नो स्वाभिमान रक्षा गर्दै आफ्नो स्वतन्त्र अस्तित्व जगेर्ना गर्न नेपालले सदैव सन्तुलित नीति नै लिएको पाइन्छ। मित्रराष्ट्रलाई संकट परेको बेलामा राष्ट्रिय हितलाई समेत पर्वाह नगरी सहयोग गरेका उदाहरणहरू पनि छन्। वास्तवमा भोटकै कारण र माध्यमबाट नेपालको चीनसँग सम्बन्ध कायम भएको थियो। भोट सदैव प्रत्यक्ष र परोक्ष रूपमा चीनकै प्रभाव क्षेत्रमा रहेको थियो। सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीको विवाह भोटका बादसाह स्रङ चङ गम्पोसँग भएको थियो। छिमेकी राज्यका शासकसँग सम्बन्ध सुधार्ने नै प्रयोजनबाट उक्त वैवाहिक सम्बन्ध कायम भएको देखिन्छ। भृकुटी अंशुवर्मा, शिवदेव वा उदयदेव कसकी छोरी थिइन् भन्ने कुरामा इतिहासकारहरूको एकमत छैन । लिच्छवि नरेश उदयदेव नेपालबाट लखेटिर्इ भोट पुगेका र भोटकै सहयोगबाट उनका छोरा नरेन्द्रदेवले राजपाठ फिर्ता लिन सकेका थिए। हर्षवर्धन पश्चात् ठालु हुन पुगेका अर्जुन स्वाले चिनियाँ दूतलाई अपमान गर्दा चीनको अनुरोधमा नेपाली फौज गर्इ अर्जुन स्वलाई पक्रिएर चीन पठाएको थियो । यी र यस्तै गतिविधिका कारण भोटमा नेपालको प्रभाव क्षेत्र थियो भन्ने वर्णन पनि गरिएको छ । नेपालले आफ्नी राजकुमारी भोटे राजालाई दिर्इ बौद्ध धर्म प्रचारप्रसारमा पनि योगदान गर्यो। तर, नेपालको यस प्रकारका सहयोगप्रति नजरअन्दाज गरी उल्टै नेपालको छवि धमिल्याउने काम पनि भयो।
नेपालका सबैजसो शासकले आफ्नो पुर्ख्यौली भारतीय राजवंशसँग जोडी आफूलाई कुलीन देखाउने गरेका छन् । यही प्रवृत्तिका कारण पनि नेपालको स्वाभिमानमा आघात नै परेको देखिन्छ। उत्तर र दक्षिणबाट आएका समुदाय र स्थानीय जनताहरूको आपसी सम्बन्ध विकसित हुँदै जाँदा उत्पन्न भएका सन्तति नै कालन्तरमा शासनसत्तामा पुगेको हुनुपर्ने सम्भावना प्रबल छ। तर, उनीहरूले आफ्नो कुलको महत्ता देखाउने महत्त्वाकाङ्क्षाले भारतीय राजवंशसँग आफूलार्इ जोडेका हुन्। खसिया मल्लको अवसानपछि देखापरेका बाइसी चौबीसी राज्यका शासकले पनि लघुताभासकै कारण भारतीय राजवंशसँग आफ्नो सम्बन्ध देखाएका हुन्। यसको प्रत्यक्ष उदाहरण राणा वंशावलीलाई लिन सकिन्छ। “यथा राजा तथा प्रजा”को अनुसरण गर्दै हाल प्रकाशनमा आएका सबै वंशावलीहरूमा आफ्नो कुल उच्च देखाउन हिन्दुस्तानबाटै आएको भनेका छन्। यस्ता विवरणबाट राष्ट्रिय स्वाभिमानमा परेको र पर्न सक्ने द्विविधाको विषयलाई मध्यनजर गरी पुनर्विचार गर्न आवश्यक छ।
भारत र चीन जस्ता विशाल मुलुकबीच अवस्थित नेपाललाई यी दुर्इ बीचको मेल वा अनमेलले पारेको प्रभावका केही ऐतिहासिक घटना यहाँ चर्चा गर्ने उद्देश्य राखिएको छन्
घटना १
१८औँ शताब्दीमा भारतीय उपमहाद्वीपको राजनीतिमा ठूलो परिवर्तन आयो। यसको मुख्य कारण युरोपीय शक्तिहरूको उपनिवेशवादी नीति नै थियो। विविध उद्देश्य प्राप्तिका लागि युरोपीय शक्तिको प्रतिस्पर्धामा अङ्ग्रेजको इस्ट इन्डिया कम्पनीको पल्ला भारी हुँदै गयो। ठीक यसैबेला गोर्खालीले पृथ्वीनारायण शाहको नेतृत्वमा विजय अभियान सञ्चालन गर्दै एक सबल संगठित राज्यको रूप लियो। अङ्ग्रेजले गोर्खालीहरूको गतिविधिबाट आफ्नो धावनमार्गमा अवरोध ठानी उपत्यकाका मल्ल राजालाई सहयोग गर्न कप्तान किनलकलाई पठायो तर गोर्खालीबाट किनलक नराम्ररी पराजित भए। यस घटनापछि अङ्ग्रेजले गोर्खालीसँग मित्रता गर्ने नीति लियो। तर, सफलता भने पाउन सकेन। गोर्खालीको विजय अभियानले अभूतपूर्व सफलता पाउँदै गरेको अवस्थामा १७८८(९१ मा भोटसँगको सम्बन्धमा खटपट हुँदा युद्ध नै हुन गयो। भोटलाई सहयोग गर्न चीन अगाडि आउँदा नेपालले बाध्यतावश अङ्ग्रेजसँग मित्रताको हात बढाउनुपर्ने अवस्था सिर्जना भयो। यसले सन् १७९२ को व्यापारिक सन्धि भयो, सैनिक र आर्थिक सहयोग पाउने आशामा। तर, अङ्ग्रेजले सबल चिनलाई रुष्ट बनाई निर्बल नेपाललाई सहयोग गर्न चाहेन । तसर्थ नेपालले चीनसँग घुँडा टेक्न बाध्य नै हुनुपर्यो। नेपालले चिनियाँ सेनापतिको माग स्वीकार गर्न बाध्य हुनुपर्यो, सन् १७९२ मा । अर्कोतिर अङ्ग्रेजले उक्त व्यापारिक सन्धिलाई नै नेपालमा घुस्ने यन्त्र बनायो।
घटना २
नेपाल र अङ्ग्रेज बीच १८१४ देखि १६ मा युद्ध भयो। यस युद्धको सुरुदेखि अन्तिम समयसम्म सन् १७९२ को सम्झौता अनुसार नेपालले चीनसँग सैनिक एवं दौलतको सहयोगको याचना गरिरह्यो। तर, चीनले सहयोग गरेन। उता अङ्ग्रेज सरकारले युद्ध हुनुको कारणमा नेपाललाई दोषी ठहराएको पत्र चीनलाई पठायो। हुन त चीन त्यसबेला आफ्नै घरेलु मामलामा अल्झिएको थियो। तर पनि अङ्ग्रेज नाखुस हुने डरले सहयोग दिन अनेकौं बहाना झिक्यो। युद्धको अन्तिमतिर नेपाली सीमामा पुगेका चिनियाँ उच्च अधिकारीले उल्टो नेपाललाई झुटो विवरण पेस गरेमा धाबा बोल्ने धम्की दिए। नेपालले अनेक अनुनय विनय गरेर चीनलाई शान्त पार्नुपर्यो।
घटना ३
सन् १८१४ देखि १६ पश्चात् अङ्ग्रेजले नेपाल चीनसँग सन्निकट नहोस् भन्ने चाहना राखेको थियो। नेपालले चीन पठाउने शिष्ट मण्डलप्रति सदैव सन्देह राख्यो। यस्ता गतिविधिबाट नेपाल र चीनको सम्बन्धमा पर्ने प्रभावप्रति सदैव अङ्ग्रेज सरकार चनाखो नै रह्यो। अर्कोतिर चीनले पनि नेपाल र अङ्ग्रेज बीच घनिष्टता चाहेको थिएन। जङ्गबहादुर र चन्द्रशमशेरले बेलायत यात्रा गर्दा पनि अनेकौं स्पष्टीकरण दिनुपरेको थियो। २०औँ शताब्दीको प्रारम्भसँगै चीन आन्तरिक रूपमा कमजोर हुँदै जाँदा र अन्य विविध कारणबाट नेपाल अङ्ग्रेजसँग नजिकिँदै गयो।
घटना ४
नेपालले चीन र भारत दुवैलाई परेको बेलामा सहयोग गर्दै “इगच ँचष्भलम ष्क ल्भभम ब ँचष्भलम क्ष्लमभभम” लाई चरितार्थ बनाउँदै आयो। चीनलाई ताइपिङ विद्रोह जस्ता संकटको बेला नेपालले सेना सहयोग गर्ने आश्वासन दिएको थियो तर उसले स्वीकार गरेन। नेपालले पहिलो र दोस्रो विश्वयुद्धमा तनमनधनले सहयोग गर्यो। सन् १९०३(०४ को भोट विरोधी अङ्ग्रेजको अभियानलाई सार्थक सहयोग गर्यो। नेपालको सहयोग र मध्यस्थताकै कारण १९०४ को ल्हासा सम्झौता सम्भव भयो। यो सम्झौताले अङ्ग्रेजको भोटमा प्रभाव विस्तार गर्ने बाटो खोलिदियो। भोट पुगेका अङ्ग्रेज अधिकारीले उल्टो नेपालको विरोधमा भोटलाई उक्साए। जसको कारणबाट नेपाल(भोट सङ्गीन विवाद सिर्जना भयो। हिजोसम्म नेपाललाई इस्ट ठान्ने भोट अब खुलमखुल्ला विरोधमा उत्रियो।
घटना ५
सन् १९०८-१२ मा चीन-भोट गृहयुद्धको दौरानमा नेपालले अङ्ग्रेजकै चाहना अनुरूप मध्यस्थता गर्यो। चीनले समेत यो सङ्कटमा नेपालको सदासयताको अपेक्षा गरेको थियो, भोटको त कुरै भएन। यो गृहयुद्ध चलेकै बेला सन् १९११ को क्रान्तिले मञ्जुवंशको शासन समाप्त गरी चीनमा गणतन्त्र स्थापना भयो। यस संवेदनशील स्थितिमा नेपालकै मध्यस्थताको कारण विवाद अन्त्य भई धेरै चिनियाँहरू बाँच्न सके। भोट(चीनको विवाद अन्त्य गर्न अङ्ग्रेजको मध्यस्ततामा सन् १९१४ मा सिमलामा एक उच्चस्तरीय त्रिपक्षीय भेला गरियो तर उक्त भेलामा नेपाललाई सहभागी गराइएन। उक्त भेलाले नेपालीको परम्परागत भोटमा रहेको स्वार्थलाई आघात पार्ने निर्णय गर्न चाहिँ पछि परेन।
घटना ६
नेपाललाई हेर्ने दृष्टिकोणमा भारतस्थित अङ्ग्रेज शासक हुन् वा गणतन्त्र भारतका शासक हुन् सबैको समान नीति रहेको देखिन्छ। कतिपय प्रसङ्गमा गणतन्त्र भारतका शासकहरूले झन् नेपालप्रति अनुदार नीति लिएका धेरै दृष्टान्त छन्। गणतन्त्र भारतले कहिल्यै पनि नेपाल चीनसँग नजिक भएको हेर्न चाहेन। कुनैबेला “चिनी(हिन्दी भाइभाइ” भन्ने नारा घन्किँदा पनि नेपाललाई सकस नै भयो भने सन् १९६२ को चीन(भारतको युद्धको समय नेपाललाई आफ्नो स्वार्थ रक्षा गर्न आच्छु आच्छु नै परेको थियो। हालसम्म पनि नेपाललाई यी दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राख्न धौ धौ परिरहेको छ।
पुछ्रे भनाइ:
यी त केही उदाहरणहरू हुन्। भारत र चीन मिल्दा पनि नेपाललाई सकस नै भएको छ र नमिल्दा पनि नेपाललाई पीडा नै भएको देखिन्छ। यही ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिँदै लिपुलेख र कालापानी क्षेत्र बारेमा नेपालसँग कुनै सरोकार नराखी चीन र भारतबीच सम्झौता भयो। यस्तो विषम परिस्थितिमा नेपालले राष्ट्रिय स्वार्थ अनुरूप छिमेकी मुलुकसँग सम्बन्ध राख्ने रणनीति अख्तियार गर्नुपर्ने हुन्छ। नेपालले सशक्त नीति अवलम्बन नगरी दण्डवते नीतिको परिणामबाट यस्ता घटना घटेको हुनसक्ने शंकाको निवारण हुन आवश्यक छ। भारत र चीन मिल्दा र नमिल्दा पनि नेपाललाई परेको प्रभावको ऐतिहासिक घटनाको आधारमा मुलुकले भविष्यको मार्ग तय गर्नुपर्ने हुन्छ।


















