लगानी र विकासका लागि कानुन सुधारमा सरकारको जोड

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास निर्माण र लगानीलाई गति दिन विद्यमान कानुनमा आवश्यक सुधार गर्ने सरकारको नीति रहेको बताएका छन् ।

शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ सम्बन्धी कार्यशालामा उनले कानुनले नै राज्यको प्रणाली र त्यसबाट आउने परिणाम निर्धारण गर्ने भएकाले नागरिककेन्द्रित कानुन निर्माणमा सरकार केन्द्रित रहेको बताए । मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवालाबाट आएका सुझाव अध्ययन गरिएको तर नीतिगत आवश्यकता पूरा नगर्ने सुझाव समेट्न नसकिएको स्पष्ट पारे ।

पूर्वाधार निर्माणलाई थप प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले विचौलियालाई फाइदा पुग्नेभन्दा सार्वजनिक हितमा केन्द्रित नीति बनाउने बताए ।