काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्व दिन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद त्यागेको घोषणा गरेका छन्।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले आफू पदबाट अलग भए पनि वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिने बताएका हुन् । उनका अनुसार राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ र नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक छ।
भट्टराईले प्रमुख तीन दलका नेताहरू—पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट ठहर गर्दै उनीहरूले मुलुक असफल बनाएको आरोप लगाए। उनले सुशासनका लागि भएको जेनजी आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्ने काम गरेको टिप्पणी गरे।
उनले सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले भ्रष्ट नेतामाथि कारबाही गर्न युवाले दबाब दिनुपर्ने उल्लेख गरे। साथै, अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने चेतावनी दिए।
उनले भने, आफू आन्दोलनबाट अलग नभएको र वैकल्पिक शक्ति निर्माणको अभियानमा निरन्तर रहने बताए। तीन दलका नेताहरूविरुद्धको जेनजी आन्दोलन जायज भए पनि त्यसलाई बदनाम गराउन खोजिएको खेद व्यक्त गरे। संविधानमार्फत शासकीय सुधार अनिवार्य भएको र प्रत्यक्ष निर्वाचन प्रणालीबिना राजनीतिक स्थिरता सम्भव नहुने उनको भनाइ थियो।
भट्टराईले आगामी २१ फागुनमा हुने निर्वाचनमा जेनजी पुस्ताले संस्थागत रूपमा देशको नेतृत्व लिनुपर्नेमा जोड दिए। बुधवार उनले नेसपा (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएका थिए।


















